निर्वाचन भयरहित र सुरक्षित बनाउन ४ वटै सुरक्षा निकाय सतर्क

0
Shares

काठमाडौं । 

आगामी आइतबार हुने संघ र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन बहिष्कार गर्ने समूहसमेत सक्रिय रहेको अहिलेको अवस्थामा निर्वाचन भयरहित र सुरक्षित ढंगले सम्पन्न गराउन ४ वटै सुरक्षा निकायले आफ्नो फौजलाई देशभर परिचालन गरेको छ ।

यसपटकको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीको ७१ हजार ६ सय ९३ जनशक्ति देशभरका मतदान केन्द्रमा परिचालित भएको छ भने नेपाल प्रहरीसँगै १ लाख १५ हजार म्यादी प्रहरी परिचालन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँले कुनै ठाउँमा कुनै अवान्छित घटना भयो भने तत्काल पुग्नका लागि ७ वटै प्रदेशको मुख्य मुकाममा हेलिकोप्टर तैनाथ गरिएको जानकारी पनि दिनुभयो ।

नेपाल प्रहरी र म्यादी प्रहरीले मतदान स्थलको भित्री सुरक्षा प्रदान गर्ने छ भने नेपाली सेनाले मतदान स्थल वरपरको सुरक्षा प्रदान गर्ने भएको छ । यसपटकको निर्वाचनमा नेपाली सेनाले ७४ हजार ८ सय ४९ जनशक्ति परिचालन गरेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । निर्वाचन बिथोल्ने काममा सक्रिय रहेका ८ वटा समूहलाई नजिकबाट नियालिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘उनीहरूले कंही कतै कुनै गतिविधि गर्न खोजे भने त्यसलाई तत्कालै परास्त पार्ने योजना बनाएका छाैं ।’

निर्वाचनको सुरक्षाका लागि सेनाले ५ सय ९९ स्थानमा पीओपी र १ सय ८० स्थानमा सीओपी स्थापना गरी फौज परिचालन गरेको सैनिक प्रवक्ता सिलवालले जानकारी दिनुभयो । उहाँले सेनाले केन्द्र, प्रदेश र जिल्लामा एकिकृत निर्वाचन सुरक्षा कक्षको स्थापना गरी सुनसरीको इटहरीमा हेलिकोप्टर तैनाथी हालतमा राखेको र त्यसै गरी सुर्खेत, पोखरा र महोत्तरीको बर्दिवासमा समेत हवाई गस्तीका लागि हेलिकोप्टर तैनाथी अवस्थामा रहेको बताउनुभयो ।

निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेनाले हालसम्म ८ ठाउँमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय गरिसकेको छ भने हालसम्म ८ सय ६२ बम डिस्पोजल टोली परिचालन गरिसकेको छ । प्रवक्ता सिलवालका अनुसार सेनाले १ सय ४३ वटा बम डिस्पोजल टोलीलाई तैनाथी अवस्थामा राखेको छ ।

सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका मुलुकका १ सय ११ महत्वपूर्ण संरचना र देशभरका कारागार तथा विमानस्थलमध्ये १ सय ६ स्थानको सुरक्षाको जिम्मा लिई ती ठाउँमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनमा परिचालित हुन सहयोग समेत गरेको छ ।नेपाल प्रहरीले पनि निर्वाचन सुरक्षाका लागि प्रत्येक जिल्लामा ५० जनाका दरले र केन्द्रमा १ सय २५ जनाको दरले रिजर्भ फोर्स तैनाथी अवस्थामा राखेको नेपाल प्रहरीका प्रवक्ता राईले जानकारी दिनुभयो । उहाँले सातवटै प्रदेशमा निर्वाचन आयोगको समन्वयमा हेलिकोप्टर तैनाथी गरिएको, काठमाडांै उपत्यकामा एसपीको कमान्डमा, तराईको जिल्लामा डीएसपी र पहाडी जिल्लामा प्रहरी निरीक्षकको कमान्डमा मोबाइल गस्ती परिचालन गरेको जानकारी पनि दिनुभयो ।

प्रहरी प्रवक्ता राईका अनुसार प्रहरीले मतदान केन्द्रमा कुनै अवान्छित गतिविधि भए काठमाडौं उपत्यकामा केही मिनेटमा र तराईका जिल्लामा ५ देखि १० मिनेटमा थप मद्दत पुग्ने गरी व्यवस्था मिलाएको छ भने पहाडी जिल्लामा बढीमा आधा घन्टामा पुग्ने गरी व्यवस्था मिलाएको छ । मुलुकभरका मतदान केन्द्रमध्ये ३ हजार ६५ अति संवेदनशील र ४ हजार ४ सय ७८ मतदान केन्द्रलाई संवेदनशील मानेर सुरक्षा निकाय परिचालित भएको पनि प्रवक्ता राईले जानकारी दिनुभयो ।

उहाँको अनुसार निर्वाचन बिथोल्ने कार्यमा संलग्न रहेको आशंकामा बिहीबारसम्म १ सय ७२ जनालाई नियन्त्रणमा लिएकोमा १ सय ५५ जनालाई तारेखमा छाडिएको र १७ जनालाई मुद्दा दर्ता गराएर कारबाही अगाडि बढाएको बताउनुभयो ।सामान्य मतदान केन्द्रमा ९ जना सुरक्षाकर्मीलाई यसपटक परिचालन गरिएको छ भने अति संवेदनशील र संवेदनशील क्षेत्रमा सोही अनुपातको सुरक्षाकर्मी परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।विगतको चुनावको अनुभव संगाल्दै यसपटक ४ वटै सुरक्षा निकायले मतदाता असुरक्षित रहेका क्षेत्रका मतदाताको सुरक्षाका लागि कसिलो सुरक्षा योजना बनाएकाले कुनै पनि मतदान केन्द्रमा बुथ लुट्ने वा एकलौटी कब्जा गर्ने सम्भावना यसपटक नभएको पनि प्रवक्ता राईको भनाइ थियो ।

कुनै व्यक्ति वा समूहबाट निर्वाचन विरोधी गतिविधि भएमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको दाबी गर्दै राईले भन्नुभयो– ‘अवैध गतिविधिमा संलग्न रहनेलाई चिलले चल्ला छोपे झैं छोपिन्छ ।’निर्वाचनलाई भयरहित बनाउन सूचकहरू समेत यथेष्ट मात्रामा परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रवक्ता राईले भन्नुभयो– ‘कुनै पनि ठाउँमा त्यस्ता निर्वाचन विरोधी गतिविधि भए नजिकको प्रहरी वा १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि अग्रह गर्दछौं ।’ यसपटकको निर्वाचनमा सशस्त्र प्रहरीका ३० हजार जनशक्ति परिचालित छन् ।