चुनावी गठबन्धन गरेका एमाले-जसपाबीच नै अधिकांश ठाउँमा असमझदारी

ठाउँठाउँमा आपसी धोका

0
Shares

काठमाडौं । आगामी मंसिर ४ मा देशैभर एकै चरणमा हुने निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धाका लागि अर्को गठबन्धन गरेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नपालबीच अधिकांश क्षेत्रमा असमझदारी देखिएको छ । केन्द्रको सम्झौताअनुसार भागबण्डा गरेर सिट बाँडफाँट गरेका एमाले–जसपाका कार्यकर्ताबीच कुरा नमिल्दा गठबन्धका नेताबीच नै प्रतिस्पर्धा भइरहेको हो ।

जसपाको प्रभाव भएको क्षेत्रमा एमालेका स्थानीय नेताहरूले वागी उठ्ने र उठाउने गरेपछि आफूहरुले जसपाले पनि आफ्ना उम्मेदवार खडा गरेको जसपाका केन्द्रीय नेताले बताए । तराई मधेश जसपाको पकड भएको ठाउँ हो । तर मधेशका कतिपय सिटमा जसपा–एमालेबीच सोझो प्रतिस्पर्धा भइरहेको छ । एमाले र जसपाले चुनावी तालमेल गरेको सिटमासमेत एमालेले स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले कार्यकर्ताहरू खुला रूपमा स्वतन्त्र उम्मेदवारको लागि भोट मागिरहेका छन् ।

केही सिटमा सहमति विपरीत एमालेले आधिकारिक उम्मेदवार नै उठाएको पाइएको छ । यसले उनीहरूबीच दरार उत्पन्न भएको छ । देशभरका केही सिटमा चुनावी तालमेल गरेपनि नमिलेका क्षेत्रहरूमा मित्रवत् प्रतिस्पर्धा भइरहेको जसपाका महासचिव गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले मिल्ने क्षेत्रहरुमा तालमेल गरेका छौं, तर कुरा नमिलेका क्षेत्रहरू र चुनावी तालमेल नगरिएको क्षेत्रहरुमा हाम्रा पार्टीकै उम्मेदवारहरू हुनुहुन्छ, त्यहाँ स्वच्छ प्रतिष्पर्धा हुन्छ ।’ चुनावी तालमेल गरेका बाँके, बारा, धनुषा, मोरङलगायतका क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनका नेताबीच नै प्रतिस्पर्धा भइरहेको स्थानीय नेताहरूले बताएका छन् ।

ठाउँठाउँमा आपसी धोका

बाँके-२ मा एमाले–जसपाबीच सोझो टक्कर हुँदैछ । त्यस क्षेत्रमा जसपाबाट उम्मेदवारी दिएका इस्तियाक राईलाई हराउन एमालेका कार्यकर्ताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धवल शमशेर राणालाई सक्रिय सहयोग गरिरहेका छन् । हामी जित्ने लाइनमा छाँै’, जसपाका बाँकेका एक नेताले भने, ‘तर, एमालेका साथीहरूले राप्रपालाई सहयोग गरेर हामीलाई पूर्ण असहयोग गर्नुभयो भने यो क्षेत्रमा राईलाई पनि समस्या नै हुनसक्छ ।’

बाँके-२ मा सत्ता गठबन्नधका तर्फबाट नेपाली कांग्रेसका नेता सुदीपनरसिंह राणाले उम्मेदवारी दिनुभएको छ । प्रतिपक्षी गठबन्धनका दलबीचको झगडाले गर्दा राणालाई फाइदा पुग्नसक्ने बताइएको छ । त्यहाँँ एमालेले जसपालाई धोका दिएको जसपाका नेताहरूको भनाइ छ । बारा-३ मा एमालेको नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

त्यस क्षेत्रमा जसपाले रामबाबु यादवलाई उम्मेदवार बनाएको छ । रामबाबु अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । एमालेकै कारण त्यस क्षेत्रमा रामबाबुले हार्ने अवस्था बारा-३ मा कांग्रेसबाट फरमुल्र्लाह मन्सुरको उम्मेदवारी छ । एमाले–जसपा विवादले मन्सुरका पक्षमा पासा पल्टने सम्भावना बढेको कांग्रेसका स्थानीय बताउँछन् ।

उता धनुषा-२ मा पनि एमालेले उमाशंकर अरगरैयालाई उम्मेदवार बनाएको छ । अन्तिम समयमा अरगरैयाले जसपा अध्यक्ष उपेन्द्र यादवसँग रिसाएर एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँलाई एमालेले टिकट दिएपछि एमालेकै पुराना नेताहरूसमेत असन्तुष्ट छन् । २०७४ को निर्वाचनमा अरगरैयाले यादवकै पार्टीबाट चुनाव जित्नुभएको थियो । उहाँ एमालेमा गएपछि जसपाले धनुषा-२ मा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकृष्ण यादव प्रतिष्पर्धामा हुनुहुन्छ । उता मोरङमा पनि जसपा र एमालेबीच टक्कर देखिएको छ ।

एमाले र जसपाबीच छलफल हुँदा मोरङ-५ मा एमालेले जसपालाई छाड्ने सहमति भएको थियो । तर, यस क्षेत्रमा जसपाले उम्मेदवार बनाएका राजकुमार यादवविरुद्ध एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

मोरङ एमालेका नेताहरू अहिले मण्डलको पक्षमा खुलेर प्रचारप्रसार सुरु गरेका छन् । एमालेको नेतृत्वले यो विषयमा गम्भीर नभएको जसपाका नेताहरूले आरोप लाउन थालेका छन् । उता मोरङ-६ (२) मा एमालेका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएपछि त्यस क्षेत्रमा जसपाले उम्मेदवारी नदिने सहमति भएपनि जसपाले उम्मेदवारी खडा गरेर पर्शुरामलाई असहयोग गरेको आरोप जसपामाथि छ ।

पार्टीको दोश्रो परियताका नेता अशोक राइलाई पनि एमालेबाटै धोका भएको जसपाका नेताहरूको बुझाइ छ । राईले सुनसरी-१ मा उम्मेदवारी दिएपछि त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । धरानका पूर्व मेयरसमेत रहेका नेता म्याङन्मोको प्रभाव राम्रो प्रभाव छ ।

एमालेका स्थानीय नेताहरू म्याङन्मोको पक्षमा खुलेर प्रचार गरेका छन् । एमालेको यो रणनीतिले राइको जित्ने सम्भावना घटाएको भन्दै आन्तरिक छलफल नै चलेको जसपा निकट श्रोतको दाबी छ । सुनसरी-१ मा कांग्रेसबाट सिताराम मेहेताले उम्मेदवारी दिनुभएको छ । पछिल्लो माहोल हेर्दा मेहेता र स्वतन्त्र उम्मेदवार म्याङन्मोबीच प्रतिस्पर्धा हुने र राई तेस्रो स्थानमा झर्न सक्ने स्थानीय रोहित मेहेताले बताउनुभयो ।

चुनावी तालमेल गरेकै सिटमा एमाले र जसपाले मित्रवत् प्रतिष्पर्धा भन्दै उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ धनुषा-२ (क), धनुषा-४ (ख), बारा-३ (क), बारा-३ (ख), एमाले र जसपा दुवैै पार्टीले उम्मेदवारी दिएका पाइएको छ । ती क्षेत्रमा जसपाबाट क्रमशः ज्ञानेन्द्र यादव, चन्द्रश्वर महतो, भरत खड्का, र पारश प्रसाद साहले उम्मेदवारी दिएका छन् । यी क्षेत्रमा एमाले र जसपाका कार्यकर्तावीचको सम्बन्ध बिग्रदै गएपछि एकले अर्कोलाई हराउन सक्रिय देखिएको मेहेताको भनाइ छ ।