किरिया गरेको १९ वर्षपछि जीत घर फर्के

0
Shares

दयाराम पण्डित बाजुरा । किरिया गरेको १९ वर्षपछि जीत बहादुर रावत घर फर्किएका छन् । जिल्लाको खप्तडछेडदह गाउँपालिका–७ लमगाउँका ४६ वर्षीय जीत बेपत्ता भएको १९ वर्षपछि घर पर्किएका हुन् ।

आजभन्दा करिब १९ वर्ष पहिले घरबाट निस्किएका रावत लामो समयदेखि घर नफर्केपछि उनको परिवार लगायत प्रहरीले पनि खोजीकार्य गरेको थियो । परिवार र प्रहरीले उनलाई नेपालका विभिन्न स्थान लगायत भारतमा पनि खोजीकार्य गरेको थियो । तथापि उनलाई भेट्न नसकेपछि मृत्यु भइसकेको आशंकामा घरपरिवारले अन्तिम संस्कार अर्थात् किरियाकाज गरेका थिए ।

जीतलाई पाउने आसमा लामो समय खोज खबर गर्यो । तथापि उनीसँग कतै सम्पर्क हुन नसकेपछि हिन्दु परम्परा अनुसार किरियाकाज गरेको छिमेकी लालबहादुर रावतले बताए ।

मरणोरान्त गरिने काजक्रिया गरेपछि उनकी श्रीमती सुर्जा रावत सरकारबाट सामाजिक सुरक्षा भत्ता तथा एकल भत्ता बुझ्ने गरेकी थिइन् । उनले भनिन्, श्रीमानको धेरै खोज खबर गर्यो, कतै नभेटिएपछि किरियाकाज गरेर मृत्युदर्ता गरेका थियौँ ।

मृत्यु दर्तापछि एकल भत्ता खाँदै आएको उनले बताइन् । १९ वर्षपछि श्रीमान् घरमा आउँदा निकै खुसी भएका छौँ । हामीले फेला पर्ने आस नै मारिसकेका थियौँ । एकाएक घर पुग्दा सपना जस्तो लागेको सुर्जाले बताइन् ।

जीतका गोबिन्द रावत र कमला रावत गरी दुई छोरा, छोरी छन् । उनीहरु दुवैको विवाह समेत भइसकेको छ । धेरै समयसम्म बेपत्ता भएका जीत गाउँमा आउँदा गाउँमा खुशीयाली छाएको छ ।

जीतले भने, आफू नेपालबाट भारतको हिमाञ्चल प्रदेशमा श्रम गरेर बसेको थिएँ । घर फिर्ता नहुने गरि गएपनि तर घरपरिवार र समाजको याद आएपछि १९ वर्षपछि गाउँ फर्के ।

मृत्यु भएको भन्दै उनको परिवारले किरियाकाज गरिसकेले हिन्दु परम्परा अनुसार पुनः व्रतबन्ध, पूजापाठ, विवाह गर्ने प्रचलन छ । सोही अनुसार उनको घरमा भित्र्याइने बताइएको छ ।