लुलालाई रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौं ब्राजिलियन सडकमा

0
Shares

एजेन्सी ।

राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भालाई सत्तामा आउन रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौं ब्राजिलियनहरू रियो दि जेनेरियो, ब्रासिलिया र अन्य शहरहरूमा सेनाको ब्यारेक बाहिर भेला भएका छन् ।

“हामी राम्रो ब्राजिल चाहन्छौं। हामी जनवरी १ मा लुलाले पदभार सम्हाल्न चाहँदैनौं, हामी कम्युनिष्ट देश चाहँदैनौं,“ बैंकका कर्मचारी ३० वर्षीय लाइस नुनेसले रियोमा भने। प्रदर्शनकारीहरूले ब्राजिलको झण्डा फहराएर बैंक बिदाको दिन राष्ट्रिय गान गाए । “चुनावमा धाँधली भएको विभिन्न जानकारीहरू छन् ।।। हामी यसलाई स्वीकार गर्न सक्दैनौं,“ ३८ वर्षीय प्रहरी अधिकारी लेआन्ड्रो डे ओलिभेराले भने । राष्ट्रिय निर्वाचन न्यायाधिकरणले धाँधली गरेको उनले आरोप लगाए ।

निवर्तमान दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले सन् १९९६ देखि प्रयोग हुँदै आएको इलेक्ट्रोनिक मतदान प्रणालीमा ठगी भएको आरोप लगाएका छन् । बोल्सोनारो आफैंले पनि निर्वाचनमा धाँधली भएको बताएका छन् । तथापि, ब्राजिलको रक्षा मन्त्रालयले इलेक्ट्रोनिक नतिजामा कथित विसंगतिलाई खारेज गर्दै एउटा प्रतिवेदन तयार गरेको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि चुनावी नतिजालाई मान्यता दिएका छन् ।