राप्रपाका मैनालीलाई गाँजा वैधानिक अभियानको साथ

0
Shares

हेटौंडा । हाल अवैध लागूऔषध गाँजालाई वैध बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिनुभएका मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार राजन मैनालीलाई गाँजा वैधानिक अभियानले समर्थन गरेको छ ।

उहाँको निर्वाचन क्षेत्र मकवानपुरमा गाँजाखेतीको राजधानीका रुपमा परिचित छ । मैनाली गाँजाखेतीलाई वैधानिकता दिने एजेण्डा बोकेर चुनावी मैदानमा हुनुहुन्छ । देशभर करिब ८ लाखको संख्यामा सदस्य रहेको गाँजा वैध अभियानले उम्मेदवार मैनालीको अभियानलाई पूर्ण बनाउन सक्छन् भन्ने विश्वाससाथ समर्थन गरेको अभियान सदस्य राजु खनालले बताउनुभएको छ । अभियानको टोली मैनालीसँगै गाउँ पसेको छ ।

मकवानपुरको उक्त क्षेत्रमा गाँजाखेती गरेर जीविकोपार्जन गर्ने धेरै छन् । उक्त क्षेत्रमा गाँजा वैध भयो भने मकवानपुरको मात्र नभएर देशकै आर्थिक अवस्थामा सुधार आउने खनालले दाबी गर्नुभयो । मैनालीलाई विजयी गराउँदामात्र आफ्ना माग पूरा हुने देखिएकाले आफूहरु सक्रियरुपमा लागेको उहाँले बताउनुभयो ।

मैनाली निर्वाचित भएको १ वर्षभित्र गाँजालाई वैध नबनाए आत्मदाह गर्ने घोषणासमेत गरेर चुनावी मैदानमा हुनुहुन्छ । सन् १९७० को दशकमा गाँजालाई लागुऔषधमा समावेश गर्न नेतृत्व गरेका अमेरिका, क्यानडा, जर्मनीसमेत विश्वका पाँचै महादेशका ६५ भन्दाबढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी गाँजाखेतीलाई खुला गरिसकेका छन् । उत्पादित गाँजा ३ सय भन्दा बढी प्राकृतिक औषधी उत्पादन, प्राकृतिक उपचार विधि र आआफ्नो देशको स्थितिअनुसार नागरिकलाई क्षति नहुने गरी प्रयोगमा ल्याइरहेका छन् ।

प्रतिनिधिसभा उम्मेदवार मैनालीले नेपालको भूभाग प्राकृतिकरुपले गाँजाखेतीका लागि अब्बल भएको हुँदा विश्वका अन्य देशले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्राआर्जन समेतका लागि हालको कानुन परिमार्जन गरी सरकारी निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा गाँजाखेतीलाई वैधानिकता दिन ढिलो भएको बताउनुभयो । आफू बोलीको पक्का मान्छे भन्दै मैनालीले आफूले जिते गाँजा वैधानिक हुने विश्वास दिलाउनुभएको छ । उहाँको निर्वाचन क्षेत्र जिल्लाकै सबभन्दा बढी पिछडिएको क्षेत्र हो । उक्त क्षेत्र अवैध गाँजा र चरेशको उर्वर भूमि पनि हो ।

गाँजा वैध अभियानका सदस्यहरुले मकवानपुरमा रहेका आफ्ना सदस्य र मकवानपुरको विकास चाहने आमजनतालाई हलोमा मतदान गरेर मैनालीलाई जिताउन आग्रह गरेका छन् ।

देश श्रीलंकाको जस्तो जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अभिव्यक्ति दिँदै राप्रपाबाट मकवानपुरको २ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका हेटौंडा वडा नम्बर ४, हुप्रचौरका स्थायीबासी करिब ५८ वर्षीय मैनाली केही सहयोगी कार्यकर्ताको मात्र सहयोगमा गाउँ प्रवेश गर्नुभएको छ ।