खोटाङमा निर्वाचन सामाग्री वितरण

0
Shares

खोटाङ । आगामी मंसिर च४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामाग्री वितरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मंगलबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण गरिएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री बुझाई सकिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जनाउनु भयो ।

निर्वाचन सामग्रीमा मतपेटिका, छेकाबार, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, मार्कर पेन, स्केल मेटल, कैची, ग्लुस्टिक, पंचिङ मेसिन लगायत ६२ प्रकारका निर्वाचन सामग्री प्रदान गरिएको निर्वाचन अधिकारी गौतमले बताउनु भयो ।

भोलि (बुधबार)सम्म सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण गरिसक्ने जनाइएको छ । मंसिर १ गतेभित्र निर्वाचन सामाग्रीसहित र सम्बन्धित कर्मचारीलाई मतदान केन्द्रमा पुगिसक्नु पर्ने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको छ ।

जिल्लामा पुरुष मतदाता ७४ हजार ९ सय २७ र महिला मतदाता ६७ हजार ८ सय ३५ गरी कुल १ लाख ४२ हजार ७ सय ९२ मतदाता रहेका छन् । १ सय ३६ मतदान स्थल र दुई अस्थायी सहित १ सय ९६ मतदान केन्द्र रहेको छ ।

प्रतिनिधिसभातर्फ गठबन्धन नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई ‘पासाङ’, नेकपा (एमाले)बाट विशाल भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट डाक्टर कृष्णकुमार राई ‘केके’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेतको उम्मेवारी छ ।

यस्तै, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट दीपक मगर, आमुल परिवर्तन मसिहा पार्टीबाट चन्द्रमणि राई र स्वतन्त्र जयन्द्रकुमार राई चुनावी मैदानमा छन् । प्रदेशसभा (क)मा आठ र प्रदेश (ख)मा ६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।