रिसा श्रेष्ठको उम्मेदवारीले महिला मतदाता उत्साहित

0
Shares

ललितपुर । राजनीति तथा सामाजिक क्षेत्रमा क्रियाशील ४० वर्षीया रिसा श्रेष्ठको उम्मेदवारीले महिला मतदाताहरु उत्साहित भएका छन् । लगभग ६० जिल्लामा महिला उम्मेदवार नभएको स्थितिमा श्रेष्ठले ललितपुर क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो ।

संयुक्त वाम– लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार श्रेष्ठले युवावर्ग र महिलाको प्रतिनिधित्व गदै चुनावी मैदानमा उत्रिएको बताउनुभयो । २०५६ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएका श्रेष्ठ २०६० सालमा पद्मकन्या क्याम्पसमा स्ववियु सदस्य हुँदै नेपाली काँग्रेसको १२ महाधिवेशनमा जिल्ला सदस्य हुनुभएको थियो ।

महिला संघको केन्द्रीय प्रतिनिधि, आदिवासी जनजाति विभागको केन्द्रीय सदस्य रहेका श्रेष्ठ सामाजिक र महिलाको आर्थिक विकासमा उतिकै क्रियाशील हुँदै आउनुभएको छ । महालक्ष्मी प्याब्सन र ललितपुर ओमन च्याम्बरको कोषाध्यक्ष, वल्र्ड नेवाः अर्गनाइजेशनको पूर्व केन्द्रीय सदस्य र नेवाः देय् दबू अन्तर्गत नेवाः विद्यार्थी दबूको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

सामाजिक र राजनीति क्षेत्रमा महिलालाई नेतृत्वदायी तहमा ल्याउनुपर्ने विचारलाई जोड दिँदै आएका उम्मेदवार श्रेष्ठले महिला र युवावर्गको विकासमा ठोस एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको बताउनुभयो । संयुक्त वाम गठबन्धनको तर्फबाट अघि सारेका प्रतिबद्धतासंगै सम्पति महिलाको पहुँच, उद्यमशीलताको मार्फत युवा र महिलालाई रोजगारी सुनिश्चित गर्न विशेष पहलकदमी रहने बताउनुभयो। विभिन्न मेला, महोत्सवमा महिला उद्यमीलाई प्रवद्र्धन गर्न र महिलाद्वारा उत्पादित सामग्रीलाई प्रवद्र्धन गर्न महिलाहरुको स्टल राख्ने कार्यमा पनि श्रेष्ठ सक्रिय रहँदै आउनुभएको छ ।

आफूले जीवनमा अहिलेसम्म भोगको अनुभवबाट सिक्दै राजनीतिमा अघि बढीरहेको बताउँदै श्रेष्ठले भन्नुभयो ‘ महिला राजनीतिक रुपमा अघि बढ्न निकै चुनौती रहेको छ । यही चुनौतीको बाबजु्ढ अहिले उम्मेदवारी दिएको छु । महिलाको सम्पतिमाथि पहुँच नहुने, आर्थिक गतिविधिको महिलाको कमी र निर्वाचन महंगो हुँदै गएका कारण महिलाहरु चुनावी मैदानमा उत्रिन निकै चुनौती पैदा भएको पनि उम्मेदवार श्रेष्ठको भनाई रहेको छ । चुनौती छ भनेर भाग्नु कदापि मिल्दैन । चुनौतीलाई डटेर सामना गर्नुपर्दछ ।’ उम्मेदवार श्रेष्ठले भन्नुभयो ।

ललितपुर क्षेत्र नं २ ९२० मा ललितपुर महानगरपालिकाको १७ वडा र महालक्ष्मी नगरपालिकामा गाभिएका साविकका इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार गाविस पर्दछ । यहाँको जनताको पीर, चाहना, विकासको अवस्थालाई ध्यानमा राखेर नै एजेण्डा अघि सारेको पनि उम्मेदवार श्रेष्ठले बताउनुभयो । यस क्षेत्रका संस्कृति, सम्पदाका संरक्षण, महिला उद्यमशीलताको विकास, सकूल बुन्ने परम्परागत पेशाको प्रवद्र्धन, खानेपानी समस्या समाधान, सडकको स्तरोन्नति आफ्नो मुख्य एजेण्डा रहेको उम्मेदवार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका प्रतिस्पर्धी महालक्ष्मी नगरपालिकका निवर्तमान मयेर रामेश्वर श्रेष्ठ रहनुभएको छ । महिला, युवा जसले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दै आएको छु, यही कामहरु नै मेरो चुनाव जित्ने मुख्य आधार रहेको उम्मेदवार श्रेष्ठको बुझाई रहेको छ ।