बारा प्रदेश-१ (क) मा पाँच पक्षीय प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

0
Shares

बारा । आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा १ (क)मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका शिवनारायण थारु र एकबहादुर क्षेष्ठबीच पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका त्रिलोकीले जितेका थिए । गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसले साथ दिएको छ भने एमालेलाई जसपाको साथ छ ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको मतका आधार हेर्दा माओवादी केन्द्रसँगै नरहँदा समेत यस प्रदेशसभामा एमाले बलियो देखिएको छ । ँसाथमा जसपा पनि हुँदा एमालेको पल्ला भारी भएको हो ।

स्थानीय निर्वाचनमा एमालेले पाएको मत हेर्ने हो भने एमाले सत्ता गठबन्धनभन्दा करिब एक हजार मतले अगाडि छ । स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा बाराको प्रदेशसभा १ (क)मा सत्ता गठबन्धनलाई जितको लागी निकै चुनौती छ ।

एमालेका मधेश प्रदेश सदस्य समेत रहेका एकबहादुर क्षेष्ठले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवर बनेका छन् ।

एमालेका शिवनारायण थारुले पनि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवर बनेका छन् । उनले आफू यस क्षेत्रको विकासको निम्ति रणनीतिक र योजनाबद्ध रुपमा आएको बताएका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश दंगाल पनि आफूले जित्ने पक्का रहेको बताइरहेका छन् । लामो समय काठमाडौंमा बसेर व्यापार गर्दै आएका दंगालले कांग्रेसभित्रैका शम्भुबहादुर बुढाथोकी र सुरेशकुमार खनालको दाबी गरिरहेको बारा १ (क)को प्रदेश सभाको प्रत्यक्षतर्फको टिकट उम्काएका थिए ।

यहाँका मतदातासँग उनको खासै चिनजान समेत नरहेको आरोप छ । दंगाल कांग्रेससँगै रहेका सत्तारुढ गठबन्धनका माओवादी, केन्द्र, एकीकृत समाजवादी र लोसपाका नेता–कार्यकर्ताको भरमा चुनावी मैदानमा छन् ।

उनले आफुसँग विकासको माष्टर प्लान रहेको बताएका छन् । तर, माष्टर प्लानमा के के छन्, त्यो भने उनले खुलाएका छैनन् । भुगोलबारे प्रष्ट जानकार नहुँदा उनी यस क्षेत्रका समस्याका बारेमा समेत जानकार छैनन् । केही समय अगाडि दंगाल अखाद्य तेल बिक्री वितरण गरेको भन्दै जिल्ला अदालत बाराको आदेशमा एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।

दंगालको सञ्चालक रहेको ईशा सप्लायर्सको गोदामबाट भारतीय कम्पनी ‘सदाबहार’ ब्रान्डको म्याद नाघेको रिफाइन सोयबिन तेल बरामद गरेपछि सञ्चालक दंगाललाई नियन्त्रणमा लिएर गोदाम घरमा पनि सिलबन्दी गरेको थियो । खाद्य प्रयोगशालाको रिपोर्टको आधारमा अखाद्य प्रमाणितपछि तेल नष्ट गरिएको थियो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार अर्का बलिया प्रतिस्पर्धी रुपमा देखा परेका छन् । उनले उर्जाशिल समय बाराको विकास गर्न साथ दिन मतदातालाई आग्रह गरेको र मतदाताले समेत उनलाई साथ दिएमा धोका नदिने बताए ।

यस्तै, एमालेका त्रिलोकीप्रसाद चौधरी अर्का बलिया प्रतिस्पर्धी हुन । यसअघि समेत यस बारा १ (क) मा विजयी भएका चौधरी पुनः जित हात पार्नेमा ढुक्क रहेको बताउँछन् । उनले शिक्षाका समस्याहरूलाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू इमान्दर युवा सिपयुक्त र स्वास्थ्य सेवामा प्रतिबद्ध रहने बताए ।

बाराको प्रदेशसभा १ (क) मा मुख्य प्रतिस्पर्धी दलको रुपमा एमाले र सत्ता गठबन्धन दल रहेका छन् । तर, अन्य दल र स्वतन्त्र उम्मेदवरका कारण यस क्षेत्रमा मा पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

यस प्रदेशसभामा चार स्वतन्त्रसहित १० जना चुनावी मैदानमा होमिएका छन् ।