सल्यान कारागारका कैदीबन्दीले मतदान गर्न पाउने

0
Shares

सल्यान । जिल्ला कारागारका १८ जना कैदीबैन्दीले मतदान गर्न पाउने भएका छन् । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उनीहरुले मतदान गर्न पाउने भएका हुन् ।

आज (आइतबार) कारागार प्रशासनले दिएको जानकारी अनुसार विभिन्न मुद्दामा करागार चलान भएका चार महिला र १४ पुरुष गरी जम्मा १८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

उनीहरुको मतदानका लागि कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले जानकारी दिए । मतदाता नामावली दर्ता गराएका कैदीबन्दीहरुले मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले मतदाता नामावली भएका १८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने उनको भनाइ छ । कैदीबन्दीहरुले कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिकमा मात्र मतदान गर्न पाउने भएका छन् ।

कारागार प्रमुख राजन कडेलका अनुसार कारागारमा दुई नाबालक, र एक सय २६ कैदीबन्दी रहेका छन् । एक सय २८ कैदीबन्दी भए पनि १८ कैदीबन्दीले मात्र अस्थायी मतदाता नामावलीमा नाम रहेको उनको भनाइ छ ।