डोटीलाई शैक्षिक हव बनाउने मेरो प्रमुख एजेण्डा हुने छ : पूर्वमन्त्री आले

0
Shares

डोटी । डोटीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले शिक्षा क्षेत्रमा सुधार गर्दै डोटीबासीलाई समृद्धितर्फ अगाडि बढाउनु आफ्नो प्रमुख एजेण्डा भएको बताउनु भएको छ ।

आज (बिहिबार) शिखर नगरपालिका–१० को बन्लेकमा आयोजिक घरदैलो कार्यक्रममा बोल्नु हुँदै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारसमेत रहनु भएका पूर्वमन्त्री आलेले विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण कडी शिक्षा भएकाले शिक्षा क्षेत्रको सुधार गर्नु आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको विकास गर्नका लागि वर्तमान शैक्षिक प्रणालीमा सुधार गर्नु आजको आवश्यकता हो, डोटीलाई शैक्षिक हव बनाउने मेरो प्रमुख एजेण्डा हुने छ ।’

यसैगरी उहाँले शिक्षामा लगानी बृद्धि गर्दै शैक्षिक प्रणालीको सुदृढीकरणक, प्राविधिक शिक्षामा जोड र डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा प्राविधिक शैक्षिक संस्थाको स्थापना र कृषि तथा ईन्जिनियरिङ् कलेजको स्थापना गर्नका लागि आफ्नो प्रमुख पहल हुने बताउनु भएको छ । आउँदो मंसिर ४ को निर्वाचनपछि संसदमा निर्वाचित भए पश्चात् समग्र डोटी जिल्लालाई नै शिक्षाको हवका रुपमा विकास गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण सृजना गर्नका निमित्त सदनमार्फत आवाज उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘छिमेकी मुलकहरु भारत, बङ्लादेश, चीन आज शिक्षाको हवका रुपमा चिनिन्छन् । तर, नेपालले त्यस्तो गर्न नसकेको बताउनु हुँदै उहाँले थप भन्नुभयो, ‘डोटीलाई शिक्षाको हवका रुपमा विकास गर्न म पहल गर्छु । यहाँ लगानी त भित्रिने छ नै, यहाँका स्थानीयहरुका लागि अन्य अवसरहरु पनि सृजना हुने गरी म काम गर्ने छु ।’ यसैगरी पूर्वमन्त्री आलेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शैक्षिक क्षेत्रमा हुने बन्द हड्ताल र अवाञ्छित गतिविधिलाई निरुत्साहित पार्दै शैक्षिक क्षेत्रको विकृति र भ्रष्टचारलाई निर्मूल पार्न पनि आफूले काम गर्ने पूर्वमन्त्री आलेको दाबी थियो । सोही कार्यक्रममा बोल्नु हुँदै कांग्रेस डोटीका वरिष्ठ नेता तथा सुदूरपश्चिम प्रदेशका सांसद भरतबहादुर खड्काले डोटी जिल्लाको विकास गर्ने भनेको लोकतान्त्रिक बाम गठबन्धनका नेताहरु भएकाले आम नागरिकले निशंकोच रुपमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको विकास गर्ने तथा संविधानको रक्षा गर्ने भनेको गठबन्धनको सरकार हो, तपाईंहरु गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुस्, विकास गर्ने जिम्मा गठबन्धन सरकारको ।’ उक्त घरदैलो क्रममा वाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार प्रेम आले जिताउँ, कलममा मतदान गरौँ भन्ने जस्ता नारा पनि लगाएका थिए ।