जनताले कुन आशले मतदान गर्ने ?

0
Shares

राजनीतिक दलका नेताहरु चुनाव आउनेबित्तिकै जनताको घरतिर दौडिन्छन् तर चुनावपछि चुनाव हारे पनि वा जिते पनि उनीहरु जनताको घरमा आउँदैनन् र कतै देखे पनि नदेखेझैँ गर्छन् । राजनीतिक दलहरु अघिपछि व्यापार व्यवसाय गर्छन् अनि जनता ठग्छन् । यता सरकारले निर्वाचनका लागि मिति घोषणा गर्नेबित्तिकै राजनीतिक पार्टीलाई पैसा दिएर टिकट लिन्छन् र पैसाकै आडमा चुनाव जित्छन् ।

यसपालिको चुनावमा पनि राजनीतिक दलबाट टिकट पाएर उम्मेदवार हुनेहरुमा प्रायः माफिया, ठेकेदार, कलाकार वा व्यापारीहरु रहेका छन् । यसरी यिनीहरुले टिकट पाएपछि सर्वसाधारण झन् निराश भएका छन् । काठमाडौँका मेयर बालेन्द्र र धरानका मेयर हर्क साम्पाङले स्वतन्त्रबाट चुनाव जितेपछि अहिले डाक्टर, पत्रकार र व्यापारीहरुसहित स्वत्रन्तबाट चुनाव लड्दै छन् । यिनीहरु आफ्नो पेसा छोडेर जनताको हितमा काम गर्छु भन्दै नाटकनौटंकी गर्दै जनताको घरमा भोट माग्न धाइरहेका छन् ।

टेलिभिजनमा कार्यक्रम चलाउँदा उफ्री–उफ्री कराउने रवि लामिछानेलाई राजनीतिको विषयमा केही थाहा छैन तर पार्टी खोलेर चुनाव लड्न लागिपरेका छन् त यता उपचार गर्ने डाक्टर पनि यसपालिको चुनावमा उठेका छन् । अघिपछि जनता नदेख्ने तर चुनावको समयमा मात्र देख्ने कलाकार, व्यापारी, दलाल वा अन्य व्यवसायीहरु पनि धमाधम चुनाव लड्ने तयारीमा छन् । यिनीहरुले हिजो पनि व्यापार गरेर जनता ठगेर, जनतासँग नै झुटो बोलेर र जनताकै मत लिएर सांसददेखि मन्त्री खाए र आज पनि यिनीहरुको यही दाउ छ । त्यस्तै यता राजनीतिक दलहरुले केही गरेन वा बूढा नेताहरुले देश बिगारे भन्दै धमिलो पानीमा माछा मार्न स्वतन्त्रहरु आइपुगे ।

हिजो राजनीतिक दलहरुले केही काम नगरेको र अब हामी स्वतन्त्रहरु देश र जनताको हितमा काम गर्छौं भन्दै सङ्लो पानीलाई धमिलो बनाउन रवि लामिछाने आइपुगेका छन् । अहिले चुनावको समयमा जनताको घरमा धान काट्नदेखि हेरक काम गर्न राजनीतिक दलका नेताहरु पुगेका छन् तर चुनावपछि पदमा पुगेपछि जनताको सानो कामसमेत गर्दैनन् ।
एउटा उदाहरण नै भन्दा, काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापाले पटकपटक चुनाव जिते तर त्यो क्षेत्रको विकासका लागि उनले एउटा सिन्को पनि भाँचेनन् । साथै यस क्षेत्रमा भएका सरकारी जग्गा, गुठीका जग्गा, मठमन्दिरका जग्गा, ढुंगेधारा, कुवा, तालपोखरी व्यक्तिको नाममा नामसरी भइसकेको छ, यस्ता सार्वजनिक जग्गाहरु बचाएनन् ।

थापाले एनसीसी पारित गर्ने समयमा भनेका थिए, यदि अमेरिकाका सेना नेपाल भित्रिएमा मलाई चार पाटे मुडेर थानकोट कटाउनुस् । तर उनले त्यस बेला थानकोटभन्दा उता पनि नेपाल नै छ वा नेपालमा ७७ वटा जिल्लान् छ भनेर बिर्सिएछन् ।अहिले जनता भन्छन्, अमेरिकाका सेनाहरु ढिलोचाँडो नेपाल भित्रिन्छन्, अब देशमा शान्ति नभई युद्ध हुन्छ । जनताले एनसीसी पारित गर्नुहुँदैन भन्दै सडक आन्दोलन गर्दा पनि जबरजस्ती एनसीसी पारित गर्ने पनि गगन थापा नै हुन् ।

अहिले जनता कुरा गर्छन्, यदि थापाले काठमाडौँ क्षेत्र नम्बर ४ बाट चुनाव जितेमा र देशको प्रधानमन्त्री भएमा थापाले देश नै बेच्न सक्छन् ।थापा स्वास्थ्यमन्त्री हुँदा उनले जनताको लागि सिन्को पनि नभाँचेको र खर्बौं रुपियाँ भ्रष्टाचार गरेको भनिन्छ भने महेश बस्नेतले चुनाव हार्दा केपी ओलीले बस्नेतलाई उद्योगमन्त्री बनाएका थिए र बस्नेत उद्योगमन्त्री हुँदा उनले जनताको लागि सिन्को नभाँचेको तर मदिरालाई लाइसेन्स दिएर वा इँटाभट्टालाई नहटाएर अर्बौं खाएको भनिन्छ ।

साथै भक्तपुर क्षेत्र नम्बर २ मा भएका सार्वजनिक जग्गा, पाटीपौवाका जग्गा, कुवा, तालपोखरीहरु व्यक्तिको नाममा गएको र खेतीयोग्य जमिन पनि प्लानिङ गरेर वा घर बनाएर सिद्धिएको भनिन्छ । त्यस्तै गरी काठमाडौँ क्षेत्र नम्बर ४ मा भएका सार्वजनिक जग्गा, गुठीका जग्गा वा अन्य सरकारी जग्गाहरु पनि घर बनाएर वा व्यक्तिको नाममा नामसरी गराएर सिद्धिएको भनिन्छ ।

भक्तपुर, ललितपुर र काठमाडौँमा त यिनै नेताहरुले सबै खेतीयोग्य जमिन र सरकारी जमिनहरु घर बनाएर वा व्यक्तिको नाममा नामसारी गराएर सिध्याए तर यिनैको सिको सिकेर उपत्यकाका बाहिरी जिल्लाहरुमा पनि खेतीयोग्य जमिन प्लानिङ गर्ने वा खण्डीकरण गर्ने क्रम अहिले पनि बढ्दो छ । जग्गा खण्डीकरण गरेर महँगोमा बेचेर पैसा कमाउन र त्यही पैसा राजनीतिक पार्टीलाई दिएर टिकट पाएर वडाध्यक्षदेखि सांसद र सांसददेखि मन्त्री बन्ने चलन बढिरहेकोे छ ।

सस्तोमा जग्गा किनेर, खेतीयोग्य जमिनमा रातारात डोजर चलाएर वा प्लानिङ गरेर महँगोमा जग्गा बेच्ने र नयाँ बस्ती राखेर भोट लिने पनि यिनै नेताहरु हुन् । साथै नेपाल खाद्यान्नमा आत्मनिर्भर रहेको थियो तर पछिल्लो समय खेतीयोग्य जमिनमा घर बनाउन लगाएर बाहिरी मुलुकबाट गासँदेखि कपडासम्म ल्याउन बाध्य बनाउने पनि यिनै हुन् । देशमा रोजगारी नपाएर बर्सेनि लाखौँ नेपालीलाई खाडी मुलुक जान बाध्य बनाउने पनि यिनै हुन् । एउटा नेपालीको टाउकोमा ७९ हजार विदेशी ऋण पु¥याउनेहरु पनि यिनै हुन् ।

व्यापारीहरु हप्तामा तीनपटक सामानको मूल्य बढाउँछन्, महँगीले सीमा नाघ्न थालिसकेको छ र अब जनता बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । जनताले अहिले आफ्नो पैसा बैंक तथा सहकारीबाट निकालेर घरमा लुकाइसकेका छन् । सरकारले पनि अब सरकारी खर्च धान्न राज्यको ढुकुटीमा पैसा नरहेको बताइसकेको छ । त्यस्तै बैंकबाट एक हप्तामा २३ खर्ब रुपियाँ वा निक्षेप जनताले निकालिसकेका छन् । जसले गर्दा बैंक तथा सहकारीमा पैसा राख्ने कोही छैन त निकाल्नेको लर्को छ । देशको अवस्था यस्तो हुँदा अब नेताहरुले आगामी मंसिर ४ गते चुनाव जिते पनि के गर्छन् ? यिनीहरुले चुनाव जितेपछि पनि त्यही तलबभत्ता खाने नै हो, सरकारी गाडी चढ्ने नै हो, देश–विदेश घुम्ने नै हो र जनतालाई ठग्ने नै हो ।

वित्तीय संस्थाबाट ऋण खाने ऋणीले अब हामी तिर्न सक्दैनौँ भन्नेबित्तिकै डिपोजिटहरुको हाल बेहाल भएको छ । यस्तो अवस्थामा जनताले जुनसुकै पार्टीलाई मतदान गरेर जिताए पनि के अब यो अवस्थालाई व्यवस्थापन गर्न सक्लान् ?चुनावपछि देशको राजनीति कता जान्छ भनेर अहिले बजारमा बहस चलेको छ । चुनावमा जितेर आएका सांसदहरुले तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन् र देश–विदेश घुम्छन्, जसले गर्दा सरकारी ढुकुटी रित्तिँदै जान्छ र देश श्रींलका हुन्छ । अहिले हरेक क्षेत्रमा मन्दी आइसकेको छ, व्यापार घाटा बढिरहेको छ, तरलता बढिरहेको छ, डलरको मूल्य बढिरहेको छ । चुनावपछि सरकारी कर्मचारीलाई तलबभत्ता दिनसमेत सरकारसँग पैसा हुँदैन भनिन्छ भने जनता सरकारी कार्मचारीको तलबभत्ता कटौती गर्न माग गरिरहेका छन् ।

किन भन्दा कतिन्जेल विदेशी ऋण लिएर सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने ? तर यी सबै कुरा अहिले पनि नेताहरु जनतासमक्ष भोट माग्न जाँदा भन्दैनन् ।सरकारी खर्च धान्न नसक्ने अवस्थामा सरकार पुगिसक्यो अनि विदेशी ऋण लिएर नेपाल कति दिन चल्छ ? कुन देशबाट नेपाल सरकारले कति ऋण लिएको छ भनेर सरकार जनतालाई भन्दैन तर विदेशीसँग लिएको ऋणको सावाँ र ब्याज सरकारले तिर्नुपर्छ । अब जनताले के आशले नेताहरुलाई मतदान गर्ने ? नेताहरुले देश नै डुबाइसके, देश नै विदेशी ऋणमा फसाइसके । अब देशमा विकास होइन, उल्टै विदेशी ऋण तिर्न नसकेर नेपालको अवस्था के हुन्छ भन्नेतिर सोच्नुपर्ने भएको छ ।