‘समृद्ध काभ्रे’ को मार्गचित्रमा एमाले 

सन् २०३० भित्र गरिबी उन्मुलन गरी शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारका माध्यमबाट सबल र समृद्ध काभ्रे बनाउने



default

काभ्रे

आगामी मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू घर घर पुग्ने क्रम तीव्र भएको छ । निर्वाचनको दिन  नजिकिँदै गर्दा उम्मेदवार र राजनीतिक दलले प्रचार प्रसारलाई तीव्र बनाएका हुन् । गठबन्धनमा रहेका दलहरुले समृद्ध काभ्रेको सामूहिक प्रतिबद्धता सार्वजनिक नगरिरहेका बखत एमालेले भने समृद्ध काभ्रेको मार्गचित्र सार्वजनिक गरेको हो ।

‘काभ्रेपलाञ्चोक जिल्लाको विकासका बादशाह बनेका छन् गोकुल बास्कोटा । यो पटक पार्टी भन्दा पनि जिल्लाको विकासका लागि आवश्यक व्यक्ति संसद्मा पठाउनु जिल्लावासीको दायित्व हो’–पाँचखाल घर भएका मतदाता चन्द्रकुमारी शिवभक्तिले भन्नुभयो–‘पाँचखालमा विश्वविद्यालयका अलावा जिल्लाका अन्य स्थानमा पूर्व मन्त्री बास्कोटाले शुरु गरेका आयोजनाको पूर्णता आवश्यक छ ।’ चन्द्रकुमारी शिवभक्ति जस्तै जिल्लाका थुप्रै मतदाताहरुले काभ्रे जिल्लाको समृद्धिका लागि बास्कोटालाई मतदान गर्नु पर्ने बताउन थालेका छन् ।

नेकपा एमालेले शुरु गरेका आयोजनाहरूको पूर्णता तथा स्थिर सरकार र विकासको गतिका लागि प्रतिनिधि सभा १ मा रेशम लामा, प्रदेश सभामा दिलीप तामाङ र चन्द्र लामा, प्रतिनिधि सभा २ मा गोकुल बास्कोटा, प्रदेश सभामा कुमार खकुरेल र कुमार थापालाई उम्मेदवार बनाएको छ । एमालेबाट उम्मेदवार बनेकाहरु मध्ये बास्कोटा र चन्द्र लामा यस अघि निर्वाचित भई जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका खेलिसकेका छन् भने रेशम लामा समानुपातिक सूचीबाट राज्य मन्त्री समेत भई सकेका छन् । दिलीप, कुमार खकुरेल र कुमार थापा नयाँ अनुहार हुन् । मतदाताको घरदैलोमा पुगेर उम्मेदवाहरुले आफ्नो प्रतिबद्धता व्यक्त गरिरहेका छन् । जिल्लामा ६४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेकपा एमाले काभ्रेको १०औं जिल्ला अधिवेशनले सबल, समृद्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना पास गरेको थियो । एमालेको धुलिखेलमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन सँगै जिल्ला निर्माणमा खाका तयार गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । एमाले काभ्रेले यही खाका लिएर उम्मेदवारसँग मतदाताको घरदैलोमा पुगेको छ । ‘समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मूर्तरूप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरूलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरेका छौंं’–एमाले अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो– ‘यस अघि छैटौँ जिल्ला अधिवेशनले पास गरेका योजनाहरूलाई हामी सत्तामा पुग्दा कार्यान्वयन गरेका छौँ जसका कारण काभ्रेमा अरबौँ बजेट तिनै योजनाहरुमा विनियोजन भएको छ ।’

एमाले काभ्रेका सचिव राजन भुर्तेलका अनुसार जिल्लामा आगामी ५ वर्ष भित्र १ हजार किमी सडक कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रुपमा विकास गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिका भित्र रहेको झिगुखोला कोरिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला कोरिडोर निर्माण गर्ने, नमो बुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाव्य कोरिडोर क्षेत्रमा व्यवस्थित पूर्वाधार सहितको बस्ती व्यवस्थापन गर्ने, डाँडापारि, कोसीपारि, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पूर्वाधारको विकास गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरुको सर्भे गरी निर्माण गर्न, जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभा हल निर्माण गर्ने योजना बनाएको छ ।

त्यस्तै एक पालिका एक विशिष्टीकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने, पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवसायीक केन्द्र, पनौतीलाई सांस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र सांस्कृतिक केन्द्र, नमोवुद्धलाई धार्मिक सांस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भूम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषि अनुसन्धान केन्द्र, तेमाललाई सांस्कृतिक पर्यटन र बुद्ध चित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन सांस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडीबुटी र फलफूल उत्पादन तथा पशुपालन केन्द्र, खानी खोलालाई जडीबुटी कफी र पशुपालन केन्द्र, बेथा चोकलाई पर्यटन, प्राकृतिक श्रोत अध्ययन तथा पशुपालन केन्द्रको रुपमा विकास गर्न गुरु योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन तर्फ पलाञ्चोक भगवती मन्दिरलाई अझै व्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरूको आकर्षणको रुपमा विकास गर्ने, पनौती नगरपालिकाको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडी बढाउने, नमोबद्धमा बृहत् पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्ने, तेमालको ऐतिहासिक दरबार उत्खनन र संरक्षण गरी आवश्यक पूर्वाधार निर्माण गर्ने, बेथान्चोक नारायणस्थानमा आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटन केन्द्र निर्माण गर्ने, रोशी गाउँपालिकाको भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरुको संरक्षण र प्रचारप्रसार गर्ने, पनौती नगरपालिकाको कुशादेवीस्थित गुर्दुम डाँडाबाट सुरु भएको प्याराग्लाइडिङ विकास र संरक्षण गर्ने, बनेपाको वासुकि, तनचोक, ठुली चौर लगायतका स्थानहरुको संरक्षण र प्रचार प्रसार गर्ने, मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुली चौर लगायतका स्थानमा थप व्यवस्थित, पूर्वाधार निर्माण सहित संरक्षण र आवश्यक प्रचार प्रचार गर्ने, भुम्लुको दोलालघाट,  मुलखर्क भिमसेनस्थान लगायतका स्थानको प्रचार प्रसार गर्ने एमालेले बताएको छ ।

त्यस्तै धुलिखेलको देविस्थान लगायतका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरुको संरक्षण सहित पूर्वाधार निर्माण गर्ने, श्रीरामपाटी क्षेत्रको उत्खनन गरी संरक्षण गर्ने, अन्य सबै पालिकाहरुमा रहेका धार्मिक क्षेत्रहरुको प्रचार प्रसार, संरक्षण र प्रवर्द्धन गर्ने, हरेक पालिकामा कम्तीमा एक होमस्टे, एक पर्यटकीय गन्तव्य निर्माण गर्ने, नमो बुद्ध–३ र धुलिखेलमा खुला चिडियाखाना स्थापना गर्ने, भुमेडाँडामा चरा अध्ययन केन्द्र स्थापना गर्ने, सिमसार क्षेत्रको संरक्षणका लागि योजना बनाउने, परम्परागत पोखरी, बर पिपल चौतारीहरुको संरक्षण गर्ने र वाटर रिचार्जका लागि डाँडाहरुमा पोखरी निर्माण गर्ने एमालेले बताएको छ ।

कृषि पशुपालन तर्फ सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आयस्तर उकास्न हरेक पालिकामा वातावरण अनुकुल फलफूल उत्पादनमा प्रोत्साहन गर्ने, एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषि उत्पादन केन्द्रको अवधारणालाई अघि बढाउने, चौबास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेन सहितको चिया उत्पादन बगैँचा निर्माण गर्ने, बनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्ने, ब्यवसायीक पशुपालन र ब्यवसायीक तरकारी खेतीमा जोड दिने, जिल्लामा एम्बुलेन्स सहितको सुविधा सम्पन्न पशु अस्पताल निर्माण गर्ने, कृषि तथा पशुजन्य उपजको गुणस्तर जाँचकेन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय तथा शैक्षिक क्षेत्र तर्फ एमालेले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र मदन भण्डारी प्रौधोगीक विश्वविद्यालयको निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने, प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई तीव्रता दिने, काभ्रे जिल्लामा त्रिविको आंगीक कलेज स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने, हरेक विद्यालयमा विज्ञान गणित र आइटी पठनपाठनलाई व्यवस्थित गर्ने, खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्ने योजना बनाएको छ ।

अन्य पूर्वाधार तर्फ फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तीव्रता प्रदान गर्ने, माउन्टेन स्पोर्टस एकेडेमीको निर्माण गर्ने, हरेक नगर तथा पालिकाहरुमा नमुना र व्यवस्थित शहर निर्माण गर्ने, हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने, जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने, सम्भावित नदीहरुमा विद्युत् गृह स्थापना गर्ने, पर्यटनलाई जोड दिने, सम्भावना अध्ययन गरी जलविहार स्थल निर्माण गर्ने, पुरातात्त्विक तथा सांस्कृतिक संग्राहलय निर्माण गर्ने, एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने, दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिबी उन्मुलन गरी शिक्षा,  स्वास्थ्य,  कृषि,  पर्यटन लगायतका पूर्वाधारहरुका माध्यमबाट सबल र समृद्ध काभ्रे बनाउने प्रस्ताव एमालेले गरेको छ ।

एक पालिका एउटा ठुलो पर्यटकीय, धार्मिक र सांस्कृतिक पार्क निर्माण गर्ने, प्रत्येक पालिकामा महिला, युवा, दलित र गरिब परिषदहरु गठन गरी स्वरोजगारीको काम गर्ने र गरिबी निवारण गर्ने, एक पालिका एक अत्याधुनिक व्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने, एक पालिका एक अनाथालय स्थापना गर्ने, जिल्लाका सबै बस्तीहरुमा एक घर एक स्वच्छ खानेपानीको धाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।

सबै बस्तीमा इन्टरनेट सेवा पु¥याउने, सिङ्गो काभ्रे जिल्लाको भौगर्भिक अध्ययन गर्ने (प्राकृतिक श्रोत, विपद् अवस्था, कृषि उत्पादन, बस्ती विकास आदी), ह्याण्डी क्राफ्ट उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने, जिल्लाको माइक्रो इकोनोमिक्स स्टाटस अनुसन्धान गर्ने, रासायनिक मलको भण्डारण क्षमता वृद्धि गर्ने, जिल्लामा रहेका सबै प्रमुख नदी जलाधार क्षेत्रको संरक्षणको योजना बनाउने, जिल्लाका प्रमुख शहरहरुमा शहरी सौन्दर्यकरण परियोजना लागु गर्ने, कम्पोस्ट मल उत्पादन र पानी शुद्धीकरण सहितको एकीकृत फोहोर मैला व्यवस्थापन आयोजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्