एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा पदबाट राजीनामा

0
Shares

दैलेख ।
यति वेला आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको माहोल चौतर्फी चलिरहेको छ । सो क्रममा नेकपा एमाले तथा लोकतान्त्रिक वाम गठबन्धन लगायतका पार्टीहरूका कार्यक्रमहरू सहित पार्टी प्रवेशको लहर पनि चलिरहेका छन् ।
यसै क्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तारा शाहीले पार्टी र पदबाट राजीनामा दिनुभएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ निवासी शाही तत्कालीन चामुण्डा बिन्द्रासैनी नगरपालिका उपप्रमुख समेत हुनुहुन्थ्यो । यस अघि पनि नेकपा पार्टीको फुटसँगै नेकपा एकीकृत समाजवादीमा रहनुभएको भनिएता पनि पछिल्लो समय एमालेमै बसेर विभिन्न पदीय जिम्मेवारी वहन गरिरहनुभएको थियो ।
यति वेला वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उहाँका दाजु योगेन्द्र शाही दैलेखको क्षेत्र नं। २ ख प्रदेशबाट नेकपा माओवादीको तर्फबाट उम्मेदवार हुनुहुन्छ । यति वेला उम्मेदवार शाहीको प्रचारप्रसारको क्रममा धेरै विगतमा एमाले पार्टीका सदस्यहरू पार्टी परित्याग गर्ने क्रम सँगै शाहीले पनि आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले राजीनामा दिनुभएको बताउनुभएको छ भने कुराकानीको क्रममा पनि प्रस्ट पारिसक्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा दिनुभएको राजीनामाका शब्दहरूमा आफू अब कुनै पार्टीमा काम गर्ने भन्नेबारे केहि बताउनुभएको छैन ।
उहाँको सामाजिक सञ्जाल फेसबुकमा भएको राजीनामाको सार अंस नेकपा (एमाले) को नेतृत्वमा विकसित हुँदै गएको स्वेच्छाचारिता, निरङ्कुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्धान्तलाई निष्क्रिय बनाउँदै वर्षैदेखि पार्टी निर्माणका लागि रगत पसिना बगाएका इमानदार नेता कार्यकर्ताहरूलाई विस्थापित गर्दै आएको कुरा विभिन्न विकसित घटनाक्रमबाट प्रस्ट हुन्छ।
हिजो संसद् विघटन गलत हो, संसद् विघटन गर्नु हुँदैन भनेर भनेकै आधारमा भीम रावल , घनश्याम भुसाल जस्ता पार्टीका हस्तीहरू लगायत हजारौँ नेता कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको सङ्गठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी भूमिकामा रहेका गलत र गैह्र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई  पार्टी सङ्गठनको जिम्मेवारी दिएर विधि विधानको उपहास गर्दै आएकोले म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजीनामा गरेको घोषणा गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउन हुन हार्दिक अपिल गर्दछु ।