चुनाव लक्षित अभियान : राजनीतिक दलहरुका शीर्ष नेताहरु सुदूरपश्चिममा केन्द्रित

0
Shares

धनगढी । 

संसदीय निर्वाचन डेढ हप्ता बाँकी छ। प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकएसँगै दल तथा शीर्ष नेताहरु र उम्मेदवारहरु देश दौडाहमा हुनुहुन्छ। उहाँहरुले आफू र आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी कार्यक्रमहरु गरिरहनुभएको छ। देशैभर आफ्नो पक्षमा माहोल बनाउन नेताहरु देश दौडाहमा हुनुहुन्छ। विशेष गरी सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका शीर्ष नेताहरु भने संसदीय निर्वाचनलाई लिएर सु्दूरपश्चिम केन्द्रित भएका छन्। गठबन्धन र नेकपा एमालेका नेताहरुले चुनावको सम्मुखमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा चुनावी सभा तथा भेलाहरु गरिरहनुभएको हो।

प्रधानमन्त्रीसहित गठबन्धनका नेता सुदूरपश्चिमतिर

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा हुनुहुन्छ। प्रधानमन्त्री देउवा आइतबार बेलुकी सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढी आईपग्नुभएको थियो। अस्ति (कार्तिक १७) गते गृहजिल्ला डडेल्धुरा जानुभएका देउवा हिजो आइतबार बेलुकी धनगढी फर्किनुभएको थियो। देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म गृहजिल्लाका विभिन्न ७ ठाउँमा भएका चुनावी आमसभालाई सम्बोधन गर्नुभएको थियो।

गृहजिल्लामा देउवाले गठबन्धनका उम्मेदवारलाई मत माग्दै चुनावी सभाहरूलाई सम्बोधन गर्नुभएको थियो। गृहजिल्लामा चुनावी सभा सकेर धनगढी आउनुभएका देउवा बुधबार फेरि पहाडतर्फ जाने कार्यक्रम छ।देउवा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न दार्चुला र बैतडी जाने कार्उक्रम रहेको नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो। यस्तै दार्चुला र बैतडीमा देउवासहित गठबन्धनका नेता (माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने कार्यक्रम छ। उहाँहरु पनि बुधबार सुदूरपश्चिम आउँदै हुनुहुन्छ।

कार्यकर्ता भेटघाट तथा छलफल

प्रधानमन्त्री देउवाले २ दिने धनगढी बसाइको क्रममा आफ्नै निजी निवासमा कैलाली र धनगढीका नेता तथा कार्यकर्तासँग छलफल तथा चुनाव केन्द्रित भेटघाट गर्नुभएको छ।देउवाले उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई पनि बोलाएर छलफल गरेको कांग्रेस कैलालीका सचिव सुनारले बताउनुभयो। उहाँका अनुसार कैलालीका नेता, कार्यकर्तासँग देउवाले यहाँको चुनावी अवस्था र सम्भावित परिणामबारे जानकारी लिनुभएको थियो। यस्तै देउवाले नेता तथा कार्यकर्तालाई चुनावमा जित हासिल गर्न सशक्त रूपमा खट्न निर्देशन दिनुभएको छ। धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा (२) बाट प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार हुनुहुन्छ।

क्षेत्र नम्बर ५ मा कांग्रेसका पुराना नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। ०७० सालमा भएको उपनिर्वाचनमा यहाँ कांग्रेसबाट ओझा विजयी हुनुभएको थियो। त्यसपछि ०७४ को चुनावमा यही क्षेत्रबाट उम्मेदवार बन्नुभएकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा ओझालाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो। कांग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले असन्तुष्टहरुलाई मनाउने कोसिस गनुभएको बताइएको छ।नेकपा एमालेबाट यहाँ प्रतिनिधिसभा सदस्यमा नारदमुनि राना उम्मेदवार हुनुहुन्छ। २०७४ को निर्वाचनमा रानाले देउवा पत्नी आरजु राणा देउवालाई पराजित गर्नुभएको थियो। अहिले पनि यहाँ एमाले, सत्ता गठबन्धन र स्वतन्त्रबीच नै टक्कर पर्ने देखिएको छ।

एमाले नेतृलाई भित्र्याए

प्रधानमन्त्री देउवाले मंगलबार नेकपा एमालेकी केन्द्रिय अनशासन आयोग सदस्य लक्ष्मी शाहलाई कांग्रेसमा स्वागत गर्नुभएको छ। उहाँले आफ्नै निजी निवासमा आयोजित एक कार्यक्रममा शाहलाई कांग्रेसमा स्वागत गर्नुभएको हो। एमाले सचिव लेखराज भट्टसंगै एमालेमा रहनुभएकी शाहले चुनावको मुखमै कांग्रेस प्रवेश गर्नुभएको हो।

एमाले अध्यक्ष ओली फेरि आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउँदै हुनुहुन्छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहनुभएका ओली कार्तिक २६ गते सुदूरपश्चिम आउन लाग्नुभएको हो।ओली २६ गते सुदूरपश्चिम आउने र ३ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार ओलीले २६ गतेका दिन बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।अस्तिमात्रै अध्यक्ष ओली सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गरेर फकिनुभएको थियो।