ओलीसँग मत माग्ने नैतिक आधार छैन : प्रचण्ड

0
Shares

कालिकोट । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता नभएको बताउनुभएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनले कालिकोटको मान्ममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७४ सालमा एमालेसँग तालमेल र पार्टी एकता गर्दा केपीमा सुधार आएको भन्ठाने पनि ओलीले एम्बुस थापेर बसेको पाइएको बताउनुभयो । ‘उनले नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त संविधानलाई च्यात्न एम्बुस थापेर बसेका रहेछन् ।

दलित, महिला, जनजाति तथा पिछडिएका वर्गले नयाँ संविधानमार्फत पाएको अधिकार खोस्न चाहेका रहेछन् । त्यसैले दुईदुईपटक प्रतिनिधि सभा भंग गराए’, प्रचण्डले भन्नुभयो– ‘यस्ता काम गर्ने ओलीलाई अब मत माग्ने कुनै अधिकार छैन । जनताले ओलीलाई सोध्न आवश्यक छ, कम्युनिस्ट पार्टी धुजाधुजा पार्नेलाई किन भोट दिने, संविधानले दिएको अधिकार ओलीमार्फत लुटाउन किन भोट दिने ?’

उहाँले ओलीले संविधान मिचेर अपराध गरेको बताउँदै मत माग्नुपूर्व संसद् भंग गर्नु गलत थियो भनेर जनतासमक्ष मागी माग्नुपर्ने जिकिर गर्नुभयो ।प्रचण्डले कर्णालीलाई आगामी बन्ने गठबन्धनको सरकारले देशैभरमा पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । ‘कर्णाली करिडोरको स्तरोन्नति गर्छौं । फुकोट जलविद्युत् आयोजनालाई चाँडै सम्पन्न गराउँछौं’, उहाँले भन्नुभयो– ‘कर्णालीलाई बजेटमा पहिलो प्राथमिकता दिन्छौं र कर्णालीमा सबैभन्दा पछि परेको कालिकोटलाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गर्छौं ।’

अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको सफल मुख्यमन्त्री महेन्द्रबहादुर शाही भइसकेको बताउँदै आगामी निर्वाचनमा उहाँलाई जिताए क्याबिनेट मन्त्री बनाउने आश्वासनसमेत दिनुभयो । उहाँले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्दा कोइरालाले लालसलाम भनेको र आफूले जयनेपाल भनेको स्मरणसमेत गर्नुभयो ।

अबको सरकार गठबन्धनकै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनको अत्यधिक बहुमत आउने र अबको सरकार गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ ।

अर्को गठबन्धनसँग कुनै एजेन्डा नभएकाले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताउनुभयो । चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लाग्नुभएका प्रचण्डले सल्यानमा पत्रकारहरूसँग कुराकानी गर्दै केपी ओलीले जनताको त्याग तपस्या र वलिदानवाट प्राप्त संविधान मिच्नुका साथै व्यस्ततालाई ध्वस्त गर्न थालेपछि बाम लोकतान्त्रिक गठवन्धन बनाउनुपरेको बताउनुभयो ।

ओली बहुमत नै ल्याउँछु भनेर हिँडिरहे पनि यथार्थ र तथ्यमा जाँदा त्यस्तो नभएको बताउनुभयो । यसअघि जनताले बहुमत दिँदा पनि सरकार चलाउन छोडेर संसद् विघटन, संविधान मिच्ने काम गरेकाले अहिले पनि बहुमत ल्याउँछौं भनेर हिँडनु लाजको विषय भएको उहाँको भनाइ थियो ।

पहिले बाम गठबन्धन गर्दा त्यसको प्रस्ताव आफूले गरेको र आम जनता कार्यकर्ताले समर्थन गरेको र दुई तिहाइ आएको सरकारलाई ओलीले नै टिकाउन नसकेको उहाँले आरोप लगाउनुभयो । अर्को फरक प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने तर अवसर आएपछि नहटने बताउनुभयो । उहाँले प्रधानमन्त्रीका लागि गठबन्धनभित्र विवादको विषय नहुने र प्रतिगमनका विरुद्ध गठबन्धन भएको बताउनुभयो ।