मंसिरदेखि तीव्र गतिमा सवारी चलाउनेका लागि अनिवार्य सचेतना कक्षा

0
Shares

काठमाडौं । आसन्न मंसिर १५ गतेदेखि काठमाडौं उपत्यकाका सडकमा तीव्र गतिमा सवारी चलाउनेले सचेतना कक्षा लिनुपर्ने भएको छ । आज (मंगलबार) ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सचेतना कक्षा लिनुपर्ने बताएको छ ।

मंसिर १५ गते बिहिबारदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरूलाई नियमअनुसार जरिवाना गर्नुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङघन गर्ने र रातो बत्ती क्रस गरेमा नियमअनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था बमोजिम मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ । काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनु रहेको छ ।

तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गर्दछ । आर्थिक वर्ष २०७८÷०७९ मा ३५ सय ४३ र चालु आर्थिक वर्षको ३ महिनाको ६४९ वटा सवारी दुर्घटना तीव्र गतिका कारण भएका छन् ।

यस प्रकारका दुर्घटना नियन्त्रणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सवारी साधनको गति चेकजाँच गरी तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ४ सय ४७ जना र चालु आर्थिक वर्षको ३ महिनामा ८ हजार ५ सय ८४ जनालाई उक्त कसुरमा कारबाही गरिएको भए तापनि सवारी चालकमा सचेतनाको कमीले गर्दा तीव्र गतिमा सवारी साधन चलाउने प्रवृतीमा कमि नआएको र दुर्घटनासमेत बढ्दै गएको हुँदा तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियमअनुसार जरिवाना गर्नुका साथै मिति २०७९ मंसिर १५ गते बिहिबार देखि अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।