पर्यटकीय र आर्थिक विकासको केन्द्र बनाउने योजनासहित देवदहलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भुसालको प्रतिबद्धता



बुटवल।

रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजनासहित स्वतन्त्र वाम उम्मेदवार घनश्याम भुसालले रुपन्देही १ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । देवदह क्षेत्रको पर्यटकीय विकास र लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालनमा विशेष जोड दिइएको छ ।

देवदहको विकास भनेको रुपन्देही १ र रुपन्देही जिल्लाकोमात्र विकास नभएर राष्ट्रकै विकाससँग जोडिएको छ । भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भन्नुभयो। देव दहलाई लुम्बिनी र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर पर्यटकीय र आर्थिक विकासलाई पछ्याउने गरी प्रतिबद्धता पत्र तयार पारिएको छ ।

भुसालका अनुसार, देवदह बुद्धको मावली स्थल भएको प्रमाणित भए पनि वैज्ञानिक रूपमा पुष्टि गरी युनेस्को मार्फत विश्व सम्पदा सूचिमा सूचीकृत गर्न जरुरी छ । ‘सूचिकृतका लागि विशेष पहल गरिने छ’, उहाँको भनाइ छ  । रुपन्देही १ निर्वाचन क्षेत्रमा उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास निर्माणका योजना सञ्चालन गरिने भुसालले बताउनुभयो ।

चुनावी प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत्, सञ्चार, पुल तथा कलभर्ट, बाढी नियन्त्रण तथा तटबन्धन, औद्योगक तथा व्यावसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक श्रोत साधन लगायतका विषयलाई समेटिएका छन् ।रुपन्देही–१ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र वाम उम्मेदवार भुसाल तथा प्रदेश १ (१) मा काँग्रेसका विश्वनाथ यादव र १(२) मा काँग्रेसकै अब्दुल रज्जाक उम्मेदवार हुनुहुन्छ । रुपन्देही १ मा समानुपातिक ढंगले विकास गर्दै पाँच वर्ष भित्रमा विकासका पूर्वाधारहरूको निर्माण गरी दश वर्षभित्रमा रुपन्देही १ ले अलग्गै पहिचान दिन सक्ने क्षेत्रको रूपमा परिणत गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्