मुलुकको भविष्य बनाउन एमालेको सरकार : अध्यक्ष ओली

0
Shares

स्याङ्जा।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भविष्य बनाउन, देशको रक्षा, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको सरकारबाट मात्रै सम्भव रहेकाले मंसिर ४ पछि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।

स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । “देशको भविष्य उज्यालोतर्फ लैजाने कि अँध्यारोतर्फ भन्ने फैसला गर्ने दिन मंसिर ४ गते हो”, उहाँले भन्नुभयो, “देशलाई उज्यालोतर्फ लैजाने नै हो भने नेकपा एमालेलाई विजयी गराउन मतदातालाई अनुरोध छ ।”

चुनावीसभामा एमाले केन्द्रीय सचिव एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पद्माकुमारी अर्यालले मंसिर ४ को निर्वाचनले देशलाई कता लैजाने भन्ने छिनोफानो गर्ने दिन भएको बताउनुभयो । एमाले सरकारमा हुँदा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढेकाले एमालेलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद मरासिनीले आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाबाट नेपाली जनताको भाग्य बदल्ने महायज्ञमा होमिएको बताउनुभयो । उहाँले जनतालाई सुखी र समृद्धिका लागि पनि अब एमालेको सरकार आवश्यक रहेको बताउनुभयो । क्षेत्र नं १ (१) का प्रदेश उम्मेदवार सीता सुन्दासले मंसिर ४ पछि केन्द्रीय सरकार र प्रदेश सरकार एमालेकै बन्ने दाबी गर्नुभयो । गाउँगाउँमा जाँदा त्यहाँका जनताले नेकपा एमालेको एकल बहुमतको सरकार बन्नुपर्छ एमालेको सरकारको विकल्प नरहेको उहाँको भनाइ थियो ।

स्याङ्जा क्षेत्र नं १ (२) का उम्मेदवार सुधीरकुमार पौडेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले रहेको बताउँदै यस अभियानलाई पूरा गर्नका लागि फेरि एकपटक एमालेलाई केन्द्र र प्रदेशमा विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभामा गण्डकी प्रदेशका लागि स्याङ्जा २ (१) का उम्मेदवार मोहनप्रसाद रेग्मीले गण्डकी प्रदेश सरकारले तत्कालीन समयमा बनाएका योजना गठबन्धन सरकार आएसँगै कटौती गरेको आरोप लगाउनुभयो । जनतालाई आर्थिक समृद्धिसँग जोड्न र मुहार परिवर्तन गर्नका लागि आफू लागिपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका लागि स्याङ्जा क्षेत्र नं २ (२) का उम्मेदवार बुद्धिमान श्रेष्ठले कालीगण्डकी बेँसीका रुपमा सांस्कृतिक महत्व र सभ्यतासँग जोडिएको कालीगण्डकी नदीलाई डाईभर्सन गर्न नदिने बताउनुभयो । स्वास्थ्य, खानेपानी, सडक, शिक्षामा सर्वसाधारणको पहुँच स्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुभयो ।