नेपालकै बलिष्ठ स्ट्रेन्थ लिफ्टर सन्दीप

0
Shares

काठमाडौं ।

धेरैलाई नेपालकै बलियो व्यक्ति को होला भनेर जिज्ञासा लाग्न सक्छ । हिमाल चढ्ढा कष्टपूर्ण बाटोमा भारी बोकेर यात्रा गर्ने शेर्पा जातिका मान्छेहरू नै नेपालकै बलिया मान्छेहरू हुन् भनेर धेरै जना विदेशी तथा स्वदेशी पर्यटकहरूले भन्ने गर्छन् । त्यसैगरी, सहर बजारतिर भारी बोक्ने पेशा अंगालेका र खेतीपातीमा संलग्न किसानहरू पनि बलिष्ठताको सन्दर्भमा कोही भन्दा कम नभएको धेरैको ठम्याइ छ ।

यसरी हेर्दा नेपालकै बलिष्ठ व्यक्तिले यो नै पेशा अपनाएको र यो नै हो भनेर ठोकुवा गर्न मुस्किल छ । किनभने नेपालमा न त यसको कुनै निश्चित मापदण्ड नै छ न त कुनै आधिकारिक निकाय नै । तर, खेलकुदलाई आधार मान्ने हो भन्ने सर्वाधिक बलियो को भनेर छुट्याउन धेरै हदसम्म सहज भने छ । रेस्लिङ, भारोत्तोलन, पावर लिफ्टिंग, स्ट्रेन्थ लिफ्टिंग लगायतका खेलमा राखिने अभिलेखले यो सम्भव भएको हो ।

हुन त, को कति बलियो छ भनेर विश्वन्यापी रूपमा प्रतिस्पर्धा गर्ने चलन नयाँ भने होइन । बितेका केही दशक अघिसम्म खेलकुदमा बलिष्ठताको प्रसंग विशेषगरी भारोत्तोलन खेलसँग जोडिन्थ्यो । जसले बढी भार उचाल्यो उसैलाई बलिष्ठताको ताज पहि-याइन्थ्यो । तर, अहिले समय बदलिएको छ र खेलको ढाँचा पनि फेरिएका छन् ।

बलिष्ठताको मापन अहिले भारोत्तोलन खेलसम्म मात्र सीमित छैन । भार उठाउने नयाँ–नयाँ खेलहरू पावर लिफ्टिंग र स्ट्रेन्थ लिफ्टिंग नेपालमा पनि भित्रिसकेका छन् । सुन्दा स्ट्रेन्थ लिफ्टिंग खेल नयाँ लागे पनि नयाँ भने पक्कै होइन । यो खेल सन् १९८५ देखि नै चलन चल्तीमा आईसकेको नेपाल स्ट्रेन्थ लिफ्टिङ फेडरेसनका महासचिव जीवन गिरी बताउनुहुन्छ । स्ट्रेन्थ लिपिट्ङ खेलमा भार बहन गर्दा शरीरको ढाडतिरबाट तौलसहितको फलामको बारलाई दुवै हत्केला विपरीत दिशामा फर्काएर हिपसम्म उचाल्ने गरिन्छ । यसो गर्दा शरीर भने सीधा अवस्थामा हुनुपर्दछ ।

स्ट्रेन्थ लिफ्टिङमा बाइसेप कर्ल र ह्याक लिफ्टिङ मुख्य स्पर्धा हो । जसमा उचालेका तौल ओभरअलमा जोडिन्छ । यो बाहेक इन्कलाईन्ड बेन्च प्रेसको प्रतिस्पर्धा पनि हुन्छ । जुन यसमा थप गरिएको भिन्न विधा हो । धर्मश्रीको च्याम्पियन समेत रहिसकेका गिरीले यो खेलको जन्म छिमेकी राष्ट्र भारतमा साढे तीन दशक अगाडि भए पनि नेपालमा भने गत वर्ष मात्र आफूले भित्र्याएको बताउनुहुन्छ ।

व्यक्तिगत रूपमा कसले कति भार उठाउन सक्छ र त्यसैको आधारमा बलिष्ठ को भन्ने जाँच्नुभन्दा कुन खेलका खेलाडीले कति भार उठाउन सक्छ भन्ने प्रसंग महत्वपूर्ण हुन्छ । नेपालमा धेरै अगाडि भित्रिएको भारोत्तोलन खेलमार्फत् स्वर्गीय सुनीललाल जोशीलगायत अन्य केही महिला तथा पुरुष खेलाडीहरू सर्वाधिक बलिष्ठताको सूचीमा अटाउनेमा पहिलो नम्बरमा पर्छ । तर, गत वर्ष नयाँ खेलका रूपमा नेपालमा भित्रिएका स्ट्रेन्थ लिफ्टिङ खेलबाट बलिष्ठ खेलाडी सूचीको अभिलेख लम्बिन थालेको छ । नेपालमा भित्रिएको छोटो समयमा नै अहिलेसम्मकै सर्वाधिक वजन उचालेर नेपालकै बलिष्ठ व्यक्ति बनेका छन् सन्दीप केसी ।

गत कात्तिक ४ र ५ गते प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरी पोखरामा कास्की स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनको आयोजनामा भएको फस्र्ट गण्डकी नेसनवाइड स्ट्रेन्थ लिफ्टिङ एन्ड आईबीपी २०२२ च्याम्पियनसिप प्रतियोगितामा नेपाल व्यायाम मन्दिरका सन्दीप के.सी नेपालकै बलिष्ठ स्ट्रेन्थ लिफ्टर बने । ८५ केजीभन्दा माथिको तौल समूहको प्रतिस्पर्धा गरेका उनले स्ट्रेन्थ लिफ्टिङ र इनक्लाइन्ड बेन्च प्रेस (आईबीपी) गरी दुई विधामा प्रथम स्थान हासिल गरेका हुन् । काठमाडौंको बुढानीलकण्ठ हात्तीगौँडा निवासी केसीले ह्याक लिफ्टिङ र टू ह्यान्ड बाइसेप्स कर्लिङमा गरी ओभरअल कुल ६ सय ४३ केजी उचालेका थिए । जुन तौल नेपालमा यसअघि कसैले पनि उचालेको थिएन ।

यो स्ट्रेन्थ लिफ्टिङ खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसमेत हो । यही नतिजाको आधारमा उनी नेपालकै बलिष्ठ व्यक्तिको रूपमा उदाएका छन् । टू ह्यान्डस बाइसेप कर्लिङमा पहिलो र दोस्रो चरणमा गरी क्रमशः ६० केजी र ६८ केजी उचालेका उनले ह्याक लिफ्टिङको पहिलो र दोस्रो चरणमा क्रमशः २ सय ५५ र २ सय ६५ केजी उचालेका थिए । उचालिएको ह्याक लिफ्टिङमा २ सय ६५ केजी अहिलेसम्मकै अधिक वजन हो ।

स्ट्रेन्थ लिफ्टिङ मात्र होइन, बडी बिल्डिंग सम्बन्धित अन्य खेलहरूमा पनि बुढानीलकण्ठ हात्तीगौँडा निवासी सन्दीपको राम्रो दखÞल रहेको छ । करिब १० वर्ष अघिदेखि जिममा परिश्रम गर्न थालेका सन्दीपले यसअघि भारतमा भएको बडी बिल्डिङ तथा मेन्स फिजिक्समा पनि प्रतिस्पर्धा गरेका थिए । अध्ययनको सिलसिलामा भारतको बेंगलोरमा रहँदा उनले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । जहाँ उनी शीर्ष १० स्थानभित्र पर्न सफल भएका थिए ।

त्यसपछि, नेपालमै भएको माउन्ट एभरेस्ट च्याम्पियनसिपमा खेलेको उनले चौथो स्थान हासिल गरेका थिए । त्यसपछि, बडीबिल्डिङभन्दा पृथक मोडलिङ क्षेत्र रोजेका उनले त्यहाँ पनि आफ्नो भाग्य अजमाए । त्यसमा उनलाई धेरै हदसम्म सफलता पनि मिल्यो । उनी मिस्टर नेपाल २०१८ मा सहभागी भएका थिए । जसमा मिस्टर नेपाल म्यान अफ डी इयर र बेस्ट फिजिक्सको उपाधि हात पारे ।

बडी बिल्डिङ र मोडेलिङ क्षेत्रमा जमिसकेका उनी केही महिनाअघि मात्र स्ट्रेन्थ लिफ्टिङ खेलतिर आकर्षित भएको बताउँछन् । स्ट्रेन्थ लिफ्टिङसँग नाता जोडिएको छोटो समय भए पनि उनलाई सफलता प्राप्त गर्न पर्याप्त बन्यो । पहिलो प्रयासमा नै इतिहास रच्न सफल भए उनी । उनले यो खेलमा लागेको करिब ४–५ महिनाको छोटो अवधिको तयारीमा नै यति ठूलो सफलता मिलेको बताए ।

पछिल्लो पटक नेपाल व्यायाम मन्दिरमा कसरत गर्न थालेको करिब ६ महिनामा उनले आफ्नो फिटनेस र शक्तिलाई उच्च लयमा पु¥याएको छन् । उनले भने–“करिब १० वर्ष भयो जिम गर्न थालेको । त्यही भएर धेरैभन्दा धेरै वजन उचाल्छु भन्ने आत्मविश्वास र बलचाहिँ थियो । जसलाई मैले केही महिनाको छोटो तयारीमा थप सुधार मात्र गरेको थिएं । “स्वर्ण जितेपछि थप उत्साहित उनले नेपालको प्रतिनिधित्व गर्दै आगामी वर्ष दुबईमा हुने १०औं वल्र्ड स्ट्रेन्थ लिपिटङ एन्ड आइबीपी च्याम्पियनसिपमा छनोट हुनका लागि तयारीमा लागिरहेको बताए । उक्त प्रतियोगितामा विश्वभरिका करिब ४० देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।