मज्जाको महापुरुष

0
Shares

नेपाली सिने बजारमा गत साता एउटा मज्जाको फिल्म आएको छ महापुरुष। महापुरुष स्वास्थ्यका कारण चिकित्सकले मनाही गर्दागर्दै दोस्रो सन्तान जन्माउने क्रममा पत्नीको मृत्यु भएपछि कुण्ठित बन्न पुगेको एउटा एकल पुरुषको कथामा बनेको छ, जो दुई छोरा भएर पनि एक्लो परेको छ। छोराहरूको संसार बेग्लै छ।

दुवै छोरा आफ्नो खुसीमा रमाइरहँदा त्यो पुरुष भने एकल जीवन बिताउन बाध्य छ। एक्लोपनलाई भुलाउन सुगालाई साथी बनाउँछ। तर, सन्तानलाई खुसी राख्न उसको स्याहार सुसारदेखि भात भान्छा र लुगा धुने भाँडा माभ्mनेसम्मको काम आफैं   गर्दछ। भित्रभित्रै जति पीडा र कुण्ठा भए पनि ऊ बाहिर भने आफूलाई सधैं खुसी र सुखी देखाउँछ।

आदर्श नगरमा बस्ने ऊ सोझोसाझो र भलाद्मी शील स्वभावका कारण मात्र नभई सन्तानको खुसीका लागि बा र आमा दुवैको दायित्व पूरा गरेर महापुरुष कहलिन्छ।

जीवनको एकांकीपनलाई दूर गर्न नाटक हेर्न पठाइएको ऊ अनायसै त्यसको एक महिला कलाकारका साथ नजिकिन थाल्छ। ती कलाकारको जीवनमा पनि उसको सामिप्यतामा खुसीको बहार फर्कन पुग्छ। एकल पुरुष ती महिला कलाकारसँग यसरी नजिकिन थाल्छ कि दुर्घटनामा दाँत भाँच्चिएपछि वर्षौंदेखि थन्क्याएर पुरानो हुन पुगेको मोटरसाइकल उनैलाई ल्याउने पु-याउने गर्नका लागि ग्यारेजबाट निकालेर मर्मत गरी ती कलाकारलाई बोकेर कुदाउन थाल्छ।

ती महापुरुषको एउटा सन्तान कोभिडका कारण समस्यामा परेको आफ्नो स्कुललाई बढाउन तल्लीन छ। अर्को चाहिँलाई विदेश जाने धुनमा उसलाई अस्ट्रेलिया लाने वाचा गरेकी युतीको पछि लाग्दै ठिक्क हुन्छ। विस्तारै उसले आफ्नो बुबा कोही महिलाको पछि लागेको थाहा पाउँछ। हुँदा हुँदा बुबाले ती महिलालाई मध्यरातमा घरमै ल्याएपछि एउटा सन्तानलाई आफ्नो प्रतिष्ठाको चिन्ता हुन्छ भने अर्को छोरोलाई बुबाको चर्तिकलाका कारण आफ्नो बिहे रोकिने पीर पर्छ।

त्यसपछि शुरु हुन्छ भाँडभैलो। यही भाँडभैलोकै कारण बुबाको बिहे त रोकिने अवस्थामा पुग्छ नै, छोराको बिहे गरेर विदेश जाने अवसर पनि खतरामा पर्न जान्छ। नेपाली समाजमा बुबाको बिहे हेर्न नहुने मान्यता छ। फिल्ममा चाहिँ बुबाको बिहे रोकिन्छ कि छोराको? अथवा दुवैको बिहे हुन्छ या दुवैको बिहे रोकिन्छ? यो जान्नका लागि भने प्रदर्शकहरूले दोस्रो सातामा रिलिज भइरहेको महापुरुषको शो बढाइदिएका छन्।

फिल्मको नेपाली घर+समाजमा देखिँदै आएको कथामा बनेको छ। फिल्मका पात्र चिनाउने क्रममा आरम्भका केही दृश्य सुस्त लाग्छ भने ती एकल पुरुष र नाटक कलाकारबीचको प्रेम बसेको दृश्यको विकासका लागि केही हतार गरिएको छ। तर, विस्तारै चुस्त अनि झन् चुस्त बन्दै जानुपटकथाको विशेषता बनेको छ भने संवाद पनि प्रभावकारी छ।

जसका कारण हलमा एकै छिनमा गल्लल्ल फैलिने हासो तुरुन्तै सुँक्क-सुँक्कको ध्वनिमा परिवर्तन हँन बेर लाग्दैन भने फेरि लगत्तै हाँसोमा परिणत हुन पनि समय लाग्दैन। हाँसो छर्दै र आँशु झार्दै साँढे दुई घण्टा बितेको पत्तै हुँदैन। गीत र संगीत कथा सुहाउँदो छ भने नृत्य त्यस्तै आकर्षक छ। छायांकन फिल्मको अर्को आकर्षक पक्ष बन्न पुगेको छ भने सम्पादनमा कतै कतै मात्र कैंची लगाउने ठाउँ भेटिन्छ।

केन्द्रीय भूमिकामा देखिएका हरिवंश आचार्यका लागि अभिनय क्षमताको दृष्टिकोणले महापुरुष अहिलेसम्मकै ठूलो उपलब्धि मान्न सकिन्छ भने मदनकृष्ण श्रेष्ठको अभिनय क्षमता हेर्दा उनी आफूसँगै धेरै स्वास्थ्य समस्या बोकेर हिँडिरहेका छन् भनेर पत्याउनै सकिन्न। गौरी मल्ल सशक्त र जीवन्त देखिएकी छन् भने अरुण क्षेत्रीको डेब्यु फिल्म भनेर पत्याउन मुस्किल पर्छ, नवनायिका अरुणा बराइलीले राम्रो सम्भावना देखाएकी छन्।

राजाराम पौडेल फिल्ममा गम्भीर मोड आउनासाथ हँसाउन आइपुग्छन् भने रवीन्द्रसिंह बानियाँ, सविन बास्तोला, सिरु विष्ट, शिखा तामाङ, कोपिला थापा, नरेन्द्र कंसाकार, नरेश पौडेल, बबिता श्रेष्ठ, अर्जुन आचार्य, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, ज्ञानु जोशी, प्रेम पाण्डे, सम्यक सिश बानिया, विभियना थपलिया, जगदिश अधिकारी, जेबी रुवाली र प्रज्ज्वल लुइँटेल आ-आफ्नो लामा छोटा भूमिकामा जमेका छन्। निर्देशकीय पक्ष उत्कृष्ट छ। समग्रमा, महापुरुष मज्जाको फिल्म बन्न पुगेको छ। त्यसै कारण दर्शक परिवारले हलसम्म पुगेर मध्यरातसम्म चल्ने नाइट शोसमेत हाउसपुल बनाइदिइरहेका छन्।

महापुरुषभित्र
निर्माण संस्था: षटकोण आर्टस्
लेखक तथा निर्देशक: प्रदीप भट्टराई
निर्माता: म्याक्स दिपेश खत्री
कार्यकारी निर्माता:रवीन्द्र सिंह बानियाँ
गीत: राम अबिरल विष्ट र नवराज पराजुली
स्वर: रिदम कँडेल, एस डी योगी र रेशम पुन
संगीत: रिदम कँडेल, एस डी योगी र रेशम पुन
पाश्र्व संगीत: रोहित शाक्य र शैलेश श्रेष्ठ
कोरीयोग्राफी: वाईल्ड रिपर्ज र प्रमोद के भण्डारी
छायाँकंन निर्देशक:दीपक बज्राचार्य
छायाँकन: शेरबहादुर तामाङ
सम्पादन: मित्र डि गुरुङ

एकैछिनमा गल्लल्ल फैलिने हाँसो तुरुन्तै सुँक्क सुँक्कको ध्वनिमा परिवर्तन हुन बेर लाग्दैन भने फेरि लगत्तै हाँसोमा परिणत हुन पनि समय लाग्दैन। हाँसो छर्दै र आँशु झार्दै साँढे दुई घण्टा बितेको पत्तै हुँदैन।