एमाले उपाध्यक्ष पौडेलको प्रतिबद्धता पत्र सार्वजनिक : राष्ट्रिय गौरवका आयोजना र महत्वाकाक्षी आयोजना पूरा गर्ने वाचा



बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय गौरवका आयोजना र महत्वकाक्षी आयोजनाहरु पूरा गर्ने वाचा सहित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । रुपन्देही क्षेत्र न. २ बाट प्रतिनिधिसभा उम्मेद्वार पौडेलले आईतवार बुटवलमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै राष्ट्रिय गौरवका रुपमा शुरु भएका योजनाहरु पूरा भएकोमा जस लिँदै केहि महत्वाकाक्षी योजना पूरा गर्ने वाचा गर्नुभएको हो ।

सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाइने भनिएको छ ।

त्यसो त मंसिर ४ गते हुने निर्वाचनमा तीन पटक निर्वाचित भइसकेका पौडेलले तीनवटै निर्वाचनमा वाचा गरेको प्रतिबद्धता समेत पुन दोह¥याउनु भएको छ । यो पटक पनि झुम्सा खानेपानी आयोजना पूरा गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

झुम्सा खानेपानी आयोजना पौडेलको २०६४ देखिको चुनावी ऐजेन्डा हो। राजमार्ग चौराहा–गोलपार्क सडक, तटबन्धसहितको तिनाउ–दानव कोरिडोर सडक, लुम्बिनी गुरु योजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति, झुम्साखोला खानेपानी आयोजना, तिलोत्तमामा सरकारी स्वामित्वको मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणलाई उपलब्धीका रुपमा प्रतिबद्धतापत्रमा चर्चा गरिएको छ । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने समेत प्रतिबद्धतामा जनाईएको छ ।

प्रतिबद्धतामा अघिल्लो निर्वाचनमा प्रतिबद्धता गरेको सुकुम्बासी समस्या समाधानका बिषयमा मौन छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा रुपन्देही क्षेत्र न. २ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रको कभरमा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल र बुटवल भैरहवा सिक्स लेन सडकको तस्वीर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्