होटलहरूमा ‘अकुपेन्सी’ र ‘बुकिङ’ बढ्न थाल्यो

0
Shares

काठमाडौं । 

कोरोना संक्रमण घट्दै गएको तथा नेपालमा पर्यटकीय सिजन शुरू हुन थालेपछि पर्यटकको संख्यामा सुधार देखिएको व्यवसायीहरूले बताएका छन् । विभिन्न देशका पर्यटकले नेपाल भ्रमण गर्न देखाएको र बुकिङको दर हेर्दा निर्वाचनपछि पर्यटकको संख्या ह्वात्तै बढ्ने अनुमान रहेको पर्यटन व्यवसायी मित्र श्रेष्ठको भनाइ छ । उहाँका अनुसार अहिले पनि होटलहरूमा ६५ प्रतिशतभन्दा बढी अकुपेन्सी छ ।

त्यसलाई हेर्दा नोभेम्बरको अन्त्यतिरबाट नेपालमा पर्यटकको ‘भाइभ’ आउने अनुमान व्यवसायीको छ । कोरोना संक्रमण फैलिएपछि करिब साढे २ वर्षदेखि ठप्प प्रायः भएको पर्यटन क्षेत्र अब सुधार हुने व्यवसायीको अपेक्षा छ । ट्राभल्स, ट्रेकिङ, पर्यटकीय होटलहरू नोभेम्बरको अन्त्यपछि जनवरीसम्म बुक हुन थालेका छन् । त्यस अवधिका लागि पर्यटकीय होटलहरूमो करिब ८५ प्रतिशतसम्म बुक भइसकेका छन् भने ‘इन्क्वायरी’ पनि धेरै नै भइरहेको व्यवसायीहरूको भनाइ छ ।

त्यस्तै, हिमाल आरोहणका क्ष्ँेत्रमा पनि राम्रो संकेत देखिँदै गएको व्यवसायीहरूले बताएका छन् । युरोपेली देशमा आर्थिक संकट बढ्दै गएको अवस्थामा नेपालको महँगो हवाई भाडा तथा अन्य कारणले बजार कसरी अगाडि बढ्दै जान्छ भन्ने स्पष्टनभए पनि विगतको तुलनामा विदेशी पर्यटकहरूले नेपालमा चासो बढी देखाएको व्यवसायीहरूको अनुभव छ । युरोपको बढ्दो आर्थिक संकटले त्रसित बनाए पनि सस्तो पर्यटकीय गन्तव्यहरूमा नेपालसमेत पर्ने भएकाले चुनावपछि पक्कै पनि पर्यटन क्षेत्रमा अनुभव गर्नसक्ने गरी सुधार हुनेमा व्यवसायीहरू आशावादी छन् । केही साता अघि अमेरिकी धनाढ्यहरूको समूहले नेपाल भ्रमण गरेपछि नेपालमा पर्यटकीय गतिविधि बढ्ने आँकलन गर्न सकिन्छ ।

यसैबीच सन् २०२२ शुरू भएपछिको १० महिनामा नेपालमा करिब ५ लाख पर्यटक भित्रिएका छन् । जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या पछिल्ला ३ वर्षमा राम्रो संकेत रहेको व्यवसायीहरूको भनाइ छ । बोर्डका अनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै जुनमा ४६ हजार ९५७, जुलाइमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औसतमा ४७ हजार ३५३ जना पर्यटक आएका छन् ।उक्त अवधिमा भारतबाट १६ हजार ९१० जना, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ११७, जर्मनीबाट चार हजार ९३५ र फ्रान्सबाट ४ हजार ९२९ पर्यटकले नेपालको भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

होटल व्यवसायीले भने–‘तत्काल ऋण तिर्न सकिँदैन’

होटल संघ नेपालले पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न समस्या रहेको तथा होटलहरू दैनिक रूपमा घाटामा सञ्चालनमा भन्दै बैंक कर्जाको साँवा र ब्याज तिर्नका दुई वर्ष समयको माग गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट संघले सो आग्रह गरेको हो ।

सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ६ लाख पु-याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको संघकी अध्यक्ष सिर्जना राणाको भनाइ छ ।अहिलेको अवस्थामा होटल व्यवसायीको आजको जटिल समस्या भनेकै बैंकको बढ्दो ब्याजदर र सीमाभित्र साँवा ब्याज बुझाउने ताकेता रहेको उहाँले बताउनुभयो ।

लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहे पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन सक्षम नरहेकाले कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनकर्जाको सुविधासमेत उपलब्ध गरिनुपर्ने संघको माग छ ।