जुवाको खालबाट तीन लाख नगदसहित ३८ जुवाडे पक्राउ

0
Shares

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले जुवाको खालबाट तीन लाख नगदसहित ३८ जुवाडेलाई पक्राउ गरेको छ । बेसीशहर नगरपालिका–११ चिति तीनपिप्ल र सुन्दरबजार नगरपालिका–१ कुन्छाबाट नगद दुई लाख ८१ हजार एक सय २५ रुपियाँ र ३२ थान कौडासहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

बेसीशहर चितिका स्थानीय ५७ वर्षीय गणेश प्रसाद श्रेष्ठको घरमा हार जितको बाजी राखि जुवा(कौडा) खेलिरहेको गोप्य सूचनाको आधारमा हिजो (शुक्रबार) राति ११ बजे घरधनीसहित २५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘उनीहरुबाट एक लाख २१ हजार २५ रुपियाँ र कौडा १६ थान बरामद गर्नुका साथै पक्राउ पर्नेहरुमा सबै बेसीशहर नगरपालिका–११ का रहेका छन् ।

त्यसै गरी आज (शनिबार) बिहान १ बजेको समयमा सुन्दरबजार नगरपालिका–१ कुन्छाका ४४ वर्षीय राम बहादुर दुराले जुवा(कौडा) खेलाउँदै गरेको अवस्थामा निज दुरासहित १३ जना जुवाडेलाई ईलाका प्रहरी कार्यालय भोटे ओडारबाट खटिएको प्रहरी टोलीले नगद एक लाख ६० हजार एक सय २५ र कौडा १६ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।

पक्राउमा पर्नेहरुमा १२ जना सुन्दर बजारको र एक जना तनहुँ जिल्लाका रहेका छन् । पक्राउमा परेका जुवाडेहरुलाई जुवा (कौडा) कसुरअन्तर्गत थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।