मुस्ताङ-डोल्पा सडक : डेढ बर्षे ठेक्का, ६ महिनामा निर्माण पूरा

14
Shares

पर्वत।

हिमालपारीको जिल्ला मुस्ताङ र त्यस्तै भौगोलिक अबस्था रहेको डोल्पालाई जोड्नका लागि निर्माण भैरहेको सडकको काम ६ महिनामा नै सकिएको छ ।
मुस्ताङ्ग र डोल्पा जोड्ने सडक निर्माण कार्यले तीव्रता दिने क्रममा डेढ बर्षका लागि ठेक्का सम्झौता भएको सडक ६ महिनामा नै सकिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङले दिएको जानकारी अनुसार २०७८ चैत १७ गते डेढ बर्षका लागि ठेक्का सम्झौता गरिएको सडकको काम गएको असोज महिनामा नै पूरा भएको छ । २०८० असोज सम्म सम्झौताको अबधि रहेपनि असोज अन्तिममा सडकको काम निर्माण ब्यबसायीले पुरा गरेको डिभिजनका इन्जिनियर किरण पोखरेलले जानकारी दिनुभयो ।

जागृति–कुन्सालीङ जेभीसँग ४ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । १ लाख ८७ हजार घनमिटर कटिङ र ३ हजार ५ सय १० घनमिटर ग्याबियन पर्खाल लगाउने काम चिसो बढ्नु अगावै सकिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएका कारण एक बर्ष अघि नै निर्माणको काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले बताउनुभयो ।

समयमा ठेक्काको काम नसक्ने प्रबृत्ति बढीरहेका बेला हिमालपारीको जिल्ला र बिकट भौगोलिक क्षेत्रमा समेत एक बर्ष अगाडी नै निर्माण ब्यबसायीले काम सम्पन्न गरेपछि सडक डिभिजनले पुरस्कृत गर्ने तयारी समेत गरेको छ । हिमालपारी हिउँदमा हिमपात र चिसोका कारण काम नहुने भएकाले गर्मी याममा नै विकास निर्माणको काम अघि बढ्दै आएका छन् ।

मुस्ताङ्गकोे एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङता हुँदै ४४ किलोमिटमा ट्रयाक खुलेको छ । दुई जिल्लाका बिकट भौगोलिक क्षेत्रहरु सडक सञ्जालबाट जोडिने यो सडक महत्वपुर्ण सडक परियोजना पनि भएको सडक डिभिजन बागलुङका प्रमुख बलिराज मल्लले बताउनुभयो । हिमालपारीका जिल्लाहरु जोड्ने मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजना अन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माण गरिएको हो । पाँच बर्ष यता दुबै जिल्ला जोड्ने गरि डोल्पा र मुस्ताङ्ग दुबै तर्फबाट सडक निर्माणको काम भैरहेको छ ।

मुस्ताङ र डोल्पा जोड्ने सडक समुद्री सतहदेखि ४ हजार मिटरभन्दा बढी उचाईबाट जान्छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पुर्‍याउन लागिएको छ । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ । ११ मिटर फराकिलो सडक निर्माण भैरहेको छ । डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने डिभीजन प्रमुख मल्लले बताउनुभयो । हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने बिश्वास पनि लिइएको छ ।