उम्मेदवारले घरदैलो अभियान र चुनावी सभालाई तीव्रता दिएसँगै बढ्यो चुनावी सरगर्मी



भक्तपुर ।

देशकै सानो जिल्ला भनेर चिनीने भक्तपुरमा चुनावी सरगर्मी भने ठूलै रुपमा बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियान र चुनावी सभालाई तीव्रता दिएसँगै चुनावी सरगर्मी बढेको हो । दल र उम्मेदवारले घरदैलो अभियान सुरु गरेसँगै जिल्लाका दुबै संघीय निर्वाचन क्षेत्र र चारवटै प्रदेश सभा निर्वाचनमा चुनावी सरगर्मी बढेको छ ।

नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्रलगायतका दलका उम्मेदवार मतदाताका घर घरमा पुगिरहेका छन् ।उनीहरु निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि आआफ्नै शैली र तरिका अपनाएर मतदाता रिझाउनमा समय खर्चिरहेका छन् ।

भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनले मध्यपुर थिमिको शंखधर चोक र सिरुटारबाट बाट घरदैलो शुरु गरेका छन् ।एमालेले बालकोट ३ र मध्यपुर नगरपालिका वडा नं.६ बाट र नेपाल मजदुर किसान पार्टीले मध्यपुर थिमि ८ बोडेमा घरदैलो कार्यक्रम आयोजना गरी मतदाता समक्ष मत मागेका छन् ।

यता भक्तपुर क्षेत्र नं १ बाट नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवाल साँझ भक्तपुर नगरपालिका–९ सूर्यमढीस्थित चुनावी जनसभामा व्यस्त रहनुभयो ।

भक्तपुरका सम्पूर्ण उम्मेदवारहरू यतिखेर घरदैलो तथा चुनावी सभा,भेटघाट ,छलफल र अन्तरक्रियामा व्यस्त देखिएका छन्। बिहानदेखि रातिसम्म उनीहरूको व्यस्तता बढेको छ। ‘कोही घरभेटमा व्यस्त छन्, कोही चोकका चियापसलदेखि सार्वजनिक स्थलमा भेटघाटमा व्यस्त भइरहेका छन् । यसले साँच्चिकै चुनाव आउन थालेको अनुभव गरेको छु’, बालकोटका स्थानीय बिबेक श्रेष्ठले बताउनुभयो । स्थानीय भन्छन्,अहिले जहाँगए पनि चुनावी चर्चा हुने गरेको छ ।कोही कोही उम्मेदवार त घरमा मात्र नभई स्थानीय जता छन् अर्थात खेतबारीमा काम गरिरहेको ठाउँमा पुगेर पनि भोट माग्न थालेका छन् ।

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतले पनि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेमकिपाका अनुराधा थापामगर, राप्रपाका मोहन केसी, राप्रपा नेपालका राजु नापित पनि भोट माग्न ब्यस्त छन्।

क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे र एमालेका नवराज गेलाल , राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का माधव खत्री उम्मेदवार रहेका छन् । उहाँहरु पनि भोट माग्न ब्यस्त हुनुहुन्छ ।
चुनावी मैदानमा देखिएका उम्मेदवारहरुले आआफ्ना चुनावी एजेण्डा बोकेर घरघर धाउन थालेका छन् ।

यस्तै प्रदेश सभा–१ (क)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, एमालेका मोहनवीर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटा, जसपा नेपालका कल्पना सुनुवार, राप्रपाका राजु कुइँकेललाई पनि किसानलाई असार र मंसिरको चटारोले छोए जस्तै भोट माग्ने चटारोले छोएको छ ।

त्यसैगरी प्रदेश सभा–१ (ख)को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका पवन भुजु, एमालेका नारायणसुन्दर सिन्तकला, नेमकिपाका सुरेन्द्रराज गोसाईँ, राप्रपाका रोशन नापित, राप्रपा नेपालका शान्तिभक्त बाटी, जनता समाजवादी पार्टी नेपालका विश्वराम शिल्पकारले भोट माग्ने अभियान तीब्र बनाउनुभएको छ ।

पार्टीहरुले घरदैलो अभियानको कार्यतालिका बनाएर आफ्ना उम्मेदवारहरुलाई व्यस्त बनाउन थालेका छन् ।
भक्तपुर क्षेत्र नं २ को प्रदेश सभा (क) को सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका विष्णुराज कार्की, एमालेका किरण थापा, नेमकिपाका सरोजराज गोसाईँ, राप्रपाका विक्रम थापा, राप्रपा नेपालका उमेश विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का डा राजेन्द्रमान श्रेष्ठ, एमालेका चन्दनकृष्ण श्रेष्ठ, नेमकिपाका रमेश वैद्य, राप्रपाका पञ्चकृष्ण श्रेष्ठ, राप्रपा नेपालका श्रीकृष्ण नेपालले भक्तपुर क्षेत्र नं २ को प्रदेश सभा (ख) को सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवार सबैलाई यतिबेला जनमत आफूतीर कसरी आकर्षित गर्ने भन्ने सोचले घरदैलो अभियानमा सक्रिय बनाएको छ ।

निर्वाचन दल र उम्मेदवारका लागि अग्निपरीक्षा जस्तै भएकाले कसले बाजी मार्ने भन्ने रसाकस्सीबीच जनमत प्राप्त गर्न गरिएको प्रयास र सकृयता हेर्न लायक छ ।
भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेशमा सभा गरी १९ वटा राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ भने स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनेको संख्या ३८ रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २५ हजार २८ जना मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ९४ हजार ४३९ गरी यो जिल्लामा कुल मतदाताको संख्या दुई लाख ९६ हजार ९७६ जना रहेको कार्यालयले जानकारी दिएको छ । दुईवटै निर्वाचन क्षेत्रमा गरी २२२ वटा मतदान केन्द्र छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्