नेपालले कसैलाई एक ईन्च जमिन छोड्दैन : अध्यक्ष ओली

0
Shares

दार्चुला । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सार्वभौम सम्पन्न देश नेपालले कसैका लागि आफ्नो एक ईन्च जमिन पनि नछोड्ने बताउनु भएको छ ।

पार्टीको चुनावीसभालाई सम्बोधन गर्न दार्चुला पुग्नु भएका अध्यक्ष ओलीले भारतलाई इंगित गर्दै नेपालले कसैका लागि आफ्नो भू–भागको एक ईन्च जमिन पनि नछोड्ने बताउनु भएको हो ।

आफु नेतृत्वको सरकारले भारतले मिचेको नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको भन्दै दोस्रो चरणमा उक्त भू–भागलाई फिर्ता ल्याइने बताउनुभयो ।

‘पहिलो चरणमा भारतले अतिक्रमण गरेको भू–भागलाई समेटेर नयाँ नक्सा जारी गर्यौँ, अब जमिन फिर्ता ल्याउन एमालेको नेतृत्वमा बहुमतको सरकार बन्नुपर्छ उहाँले भन्नुभयो ।’

एमालेले राष्ट्रियताको पक्षमा काम गरिरहेको भन्दै भारतले अतिक्रमण गरेको भू–भाग कालापानीबाट चुनावी कार्यक्रमको आरम्भ गरेको अध्यक्ष ओलीले सम्बोधनका क्रममा भन्नुभएको थियो । आफूलाई दार्चुलाका प्रमुख समस्याको बारेमा थाहा भएको भन्दै उहाँले अब छिट्टै चीनसँग जोड्ने नाका तिंकर भञ्ज्याङसम्म सडक पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

भारतले नेपाली भू–भागबाट चीसम्म जोड्ने मार्ग निर्माण कार्यको उनले आक्रोस व्यक्त गरे । भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सडक मार्ग लगेर बेकारको झगडा निकालेको आरोप लगाउनुभयो । भारतले नक्कली कालीनदी र कालीमाताको मन्दिर बनाएर नेपाली भू–भाग मिचेको ओलीको भनाइ थियो ।

‘नदी वर स¥यो भनेर सीमा वर सार्न पाइँदैन, विशाल भारतले सानो चित्त गर्न हुँदैन उहाले भन्नुभयो ।’ नेपाली जनताले यो कुरालाई थिचोमिचोका रुपमा लिन्छन्, उहाँले थप्नुभयो । चुनावी आमसभालाई २० मिनेट जति सम्बोधन गरेका ओलीले राष्ट्रियताका विषयमा जोड दिएका थिए ।