उम्मेदवार जोशीलाई २४ घण्टे स्पष्टीकरण

भूमि आयोगका अध्यक्ष र गाउँपालिका अध्यक्ष सहित ६ जनालाई पनि सोधियो

0
Shares

पर्वत।

निर्वाचन आयोगले पर्वतबाट प्रतिनिधीसभाका उमेदवार अर्जुनप्रसाद जोशी र राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदी सहित ६ जनालाई स्पष्टीकरण सोधेको छ । उमेदवार जोशीले आचारसंहिता विपरीत विद्यार्थीलाई कापी र कलम वितरण गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ । कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपी कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोसिस गरेको भन्नेसमेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ । उल्लेखित कानुनी व्यवस्थाअनुसार जोशीबाट भएको भनिएको विद्यालयमा कपी कलम वितरण गर्ने कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको आयोगको पत्रमा उल्लेख छ ।

त्यही विषयमा आयोगले पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटालाई निर्वाचन आचारसंहिता विपरीतका कार्यका विषयमा स्पष्टीकरण सोधेको छ ।

यस्तै राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले आफ्नो पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्ने विषयमा निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण सोधेको छ भने आयोगले पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको पालिकामा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।

आचार्यलाई आफ्नो पदीय दायित्वसमेत ख्याल नगरि लगातार चुनावसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्नेसमेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले पर्वतको कुश्मा नगरपालिका–९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफू बहाल रहेको पालिकामा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा पनि स्पष्टीकरण मागेको छ भने पर्वतको नारायण माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दलको सभा, बैठकमा सहभागी भएकोमा स्पष्टीकरण सोधेको छ ।