मतदाता भेट्न उमेदवारहरु आरनदेखि खरबारी सम्म



पर्वत।

देशभर चुनावी सरगर्मी बढिरहेको बेला पर्वतमा पनि उमेदवारहरु चुनाव प्रचारप्रसारलाई तीब्र बनाईरहेका छन् । औपचारिक सभा र जुलुस गर्न नपाएका दलहरुले मतदातालाई भेट्न आरनदेखि खेतबारीर खरबारी सम्म पुग्न थालेका छन् ।

पर्वतमा पाँच दलीय गठबन्धन र नेकपा(एमाले)का उमेदवारहरुले चुनाब प्रचारप्रसारका लागि घरदैलो गर्ने क्रममा आरन देखि खेतबारी र खरबारी सम्म पुगेका हुन ।
मतदातालाई रिझाउन घरदैलोमा पुगेका उमेदवारहरुले घरमा नभेटिएका मतदातालाई कतै खेतबारी, खरबारी त कतै आरनमा पुगेर भएपनि भेटघाट गर्ने र मत माग्ने क्रम जारी राखेका छन् ।

यसअघि नेकपा एमालेबाट निर्वाचित सांसद पदम गिरी आसन्न निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य पदमा चुनावी मैदानमा उत्रिनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई झण्डै १३ हजार मतले पछाडि पार्दै २०७४ सालको निर्वाचनबाट विजयी हुनुभएका गिरी अहिले पूनः जोशी सँगै प्रतिस्पर्धामा आउनुभएको हो ।

घरदैलो प्रचारका क्रममा जलजला गाउँपालिकाको लेखफाँटमा पुग्नुभएका गिरीले आरनमा आफ्नो व्यवसाय गर्दै आउनुभएका सोम विकलाई मत दिन अनुरोध गर्दै भन्नुभयो ‘पुनः एकपटक मलाई जिताएर दुःखमा साथ दिने मौका दिनुहोस्’ गिरीले आफूले बनाएका योजनाहरु अधुरै रहेको बताउँदै ति अधुरा कामहरु पूरा गर्नका लागि आफूलाई मतदिन आग्रह गर्नुभयो ।

यता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा चुनावी मैदानमा होमिनुभएका नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी सहितको उम्मेदवार टोलीले जिल्लाको विकास र संविधानको रक्षार्थ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै अभियानमा निस्किएको छ ।

गठबन्धनका उम्मेदवारले पर्वतको पैयूँ गाउँपालिका ५ भुर्तेलथोकमा घरदैलोका क्रममा खरबारीमा खर काट्दै गरेका मतदातालाई भेटेर आफूहरुलाई मत दिएर जिताउन अनुरोध गरेका थिए ।

मतदातालाई कामको चटारो थपिएको बेला घरमा भेट्न नसकेपछि उम्मेदवारहरु कृषकहरु भएकै स्थानमा पुगेर भेटघाट गर्दै आएका छन् । निर्वाचन आयोगले आचार संहितामा कडाई गरेपछि पहिलो चरणको कार्यक्रममा उम्मेदवारहरु सामान्य भेटघाटमा मात्रै निस्किएका छन् भने आयोगले लागु गरेको आचारसंहिता २०७९ अनुसार मतदान हुनुभन्दा १७ दिन अघि मात्रै भेला, सभा गरेर प्रचारप्रसार गर्न पाइने व्यवस्था रहेको छ ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पर्वतमा विभिन्न राजनीतिक दल र स्वतन्त्र सहित १२ जनाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् भने प्रदेश सभा १ तर्फ ९ र प्रदेश सभा २ तर्फ ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पर्वतमा मुख्यतः गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्ष्र्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्