सांसद उम्मेदवार किर्ते अभियोगमा जेलमा

0
Shares

बाँके ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बनेकी विद्या शर्मा सरकारी कागजात किर्ते गरेको आरोपमा जेल पर्नुभएको छ । नेपालगञ्जका ‘राजनीतिक हस्ती’ डा. धवलशमशेर राणा, मो. इस्तियाक राईसँग चुनावी प्रतिस्पर्धा गर्ने अठोटका साथ उम्मेदवार बनेकी शर्माले असोज २३ गते नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

‘घर’ चुनाव चिह्न र ‘देश बचाऔं, देश बनाऔं’ नारा रहेको उक्त पार्टीले ‘नयाँ नेपाल निर्माणको संवाहक’ विद्या शर्मा लेखिएको पर्चा समेत बनाइसकेको छ । तर, सरकारी कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको शर्माले जेलभित्रबाटै चुनाव लड्नुपर्ने देखिएको छ ।

शर्मालाई हाल बर्दिया कारागारमा राखिएको छ । उक्त कारागारका जेलर सन्तोष विकले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारी कागजात किर्तेमा विद्या शर्मालाई बाँकेबाट बर्दिया कारागारमा ल्याइएको छ ।’बाँके जिल्ला अदालतले शर्मालाई छोरीको जन्मदर्ता किर्ते गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि जेल पुगेकी शर्मासँग यसबारेमा बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।

शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ मा पर्छ भने माइती वडा नं. १६ मा छ । छोरीको जन्मदर्ता वडा नं. १६ बाट बनाएकी शर्माले छोरीको नयाँ जन्मदर्तामा उमेर घटाएको पाइएको बाँके प्रहरीको भनाइ छ । सूचकले भरेको अनुसूचीका आधारमा अधिकारीहरूले जन्मदर्ता गराइदिने गर्दछन् । यस्तोमा ‘गल्ती’ भेटिएमा सूचकलाई कारबाही हुन्छ । मिलोमतोमा भएको पाइएमा जारी गर्ने अधिकारी पनि तानिन्छन् । उहाँमाथि आफ्नी सानी छोरीको जन्मदर्तामा आफैंले ‘केरमेट’ गरेर ठूली छोरीको नाम लेखेको आरोप लागेको छ ।

जेलमा रहेकी शर्माको उम्मेदवारी के हुन्छ ? भन्ने जिज्ञासामा सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले दोषी ठहर नभएसम्म उहाँको उम्मेदवारी कायम रहने बताउनुभयो ।शर्माको मुद्दा उच्च अदालतमा पुगेको छ । जिल्लाको थुनछेकको आदेश बदर गरी पाउँ भन्दै उच्च अदालतमा मुद्दा हालिएको छ । उच्च अदालतमा पुगेको यस्तो मुद्दालाई ७३ नम्बरको मुद्दा भन्ने गरिन्छ । यस्तो मुद्दामा हप्तामा एकपटक बिहीबार मात्रै बहस हुने गर्दछ । कात्तिक २४ गते र मङ्सिर १ गते बिहीबार परेको छ । यो दुई दिनमा शर्माको मुद्दाको टुंगो के हुन्छ हेर्न बाँकी छ । सफाई पाएमा बाहिर निस्केर चुनाव लड्ने अवस्था रहन्छ भने टुंगोमा नलागेमा जेलभित्रबाटै चुनाव लड्नुपर्ने हुन्छ । कथंकदाचित दोषी ठहर भएमा उम्मेदवारी रद्द हुने जानकारी दिँदै कानून व्यवसायी लोकबहादुर शाहले भन्नुभयो– ‘सरकारी कागजात किर्तेमा सात वर्षसम्म कैदको व्यवस्था रहेको छ ।’