छठ महापर्व : पौराणिक एवम् प्रचलित लोककथा



बिहार, उत्तरप्रदेश, दिल्ली एवम् नेपालको तराई क्षेत्रमा कार्तिक शुक्ल पक्षको षष्ठी तिथीमा निकै भक्तिभावका साथ सूर्यको पूजा–आराधना र उपसना गरी छठपर्व धुमधामका साथ मनाउने गरिन्छ । त्यसो त मानिसहरु उदाउँदो सूर्यलाई प्रणाम गर्दछन्, तर छठपर्व यस्तो अनौठो पर्व हो जो अस्ताउँदो सूर्यको पूजाबाट शुरु हुन्छ ।

यस पर्वको उत्पत्तिका बारेमा धेरै पारम्पारिक एवम् ऐतिहासिक कथनहरु छन् । छठपर्वको शुरुवात द्वापर युगमा शुरु भएको मानिन्छ । भनिन्छ, सूर्यका पुत्र अंगराज कर्ण सूर्यको ठूला उपासक थिए । उनी नदीको पानीमा सूर्य भगवानको पूजा गर्थे । पूजापश्चात् उनले आफूकहाँ आएका कसैलाई कहिल्यै रित्तो हात फिर्ता गर्र्दैनथे । अर्को पनि भनाइ छ, महाभारत कालमा कुन्तीले पुत्र प्राप्ति गर्ने उद्देश्यले सूर्यको पूजा गर्ने गर्दथिन् । तत्पश्चात उनलाई सन्तान प्राप्त भएको थियो ।

कार्तिक महिनाको शुक्लपक्षको चतुर्थीका दिन नुहाएर छठपूजा आरम्भ हुन्छ । छठका व्रतालुले स्नान एवम् पूजापाठ गरेपछि शुद्ध चामल, चनाको दाल र फर्सी ग्रहण गर्दछन् ।त्यस्तै अर्को कथा पनि छ, पाण्डवहरूले जुवा खेलेर सबै राजदरबार हारेपछि द्रौपदीले छठपर्वको व्रत राखेको कथा पनि छ । त्यसपछि उनको इच्छा पूरा भयो र पाण्डवले राजदरबार फिर्ता पाए । लोक परम्परा अनुसार सूर्यदेव र छठीमैयाको नाता दाजुभाइ र दिदीबहिनीको हो ।

लोक मातृका षष्ठीमा पहिलो पूजा सूर्यको हुन्छ ।छठपर्वको परम्परामा गहिरो विज्ञान पनि लुकेको छ । षष्ठी तिथी (छठ) एक विषेश खगोलीय अवसर पनि हो । यति बेला सूर्यको पराबैजनी किरण पृथ्वीको सतहमा सामान्यभन्दा धेरै एकत्रित हुन्छ । यसले मानिसलाई प्रकृतिबाट सकेसम्म जोगाउने क्षमता हुन्छ । छठपर्व मनाएर सूर्य (तारा)÷प्रकाश (अल्ट्राभायलेट किरण) को हानिकारक प्रभावबाट जीवन बचाउन सकिन्छ ।
ऐतिहासिक प्रमाण:
छठ १५० वर्ष पूर्वसम्म केवल मगध अर्थात् पटना, गया र मुंगेरका केही क्षेत्रसम्म र सकलदीपी ब्राह्मणमा मात्र सीमित थियो । ऐतिहासिक प्रमाण अनुसार पश्चिम एसिया मूलका सक्यद्विपीय ब्राह्मणले यो पर्वको शुरुवात गरेका थिए ।शास्त्रका अनुसार सकलदीप ब्राह्मण आयुर्वेदका चिकित्सक थिए, जसको मूल स्थान हिजोआज मुल्तानको नामले चिनिन्छ । त्यहाँका शासकले उनलाई कुष्ठरोग रोकथामको लागि आफ्नो राज्यमा बोलाएका थिए ।

तसर्थ, यस रोगको रोकथामका लागि सकलदीप चिकित्सकले कार्तिक पूर्णिमाका दिन सूर्यको उपसना गर्न लगाएका थिए । यसलाई नै कालान्तरमा छठपर्वका रूपमा मनाउन थालियो ।कुष्ठरोग निको पारेपछि ती ब्राह्मण चिकित्सकले पञ्जावमा आफ्नो निवास बनाए । त्यसपछि उनका सन्तान पूर्वतिर फैलिए । आयुर्वेदका साथसाथै उनी वैदिक ज्योतिष विज्ञानका पनि विद्वान् थिए भन्ने मान्यता छ ।

पाटलीपुत्रस्थित ज्योतिष एवम् खगोल विज्ञानका विद्वान् वराहमिहिर सकलदीपीय कुलका थिए । गुप्त साम्राज्यका शासकले उनलाई पाटलीपुत्रमा संरक्षण दिएर राखेका थिए ।वराहमिहिरकोे कृति ‘बृहत् संहिता’ आज पनि खगोल विज्ञान र वैदिक शास्त्रको मूल ग्रन्थ हो । विहारको औरंगाबाद जिल्लाका पौराणिक देवस्थलमा पनि चार दिनसम्म चल्ने छठ मेला शुरु भएको छ । यहाँ त्रेतायुगमा स्थापित प्राचीन सूर्य मन्दिरमा विशाल सूर्य महोत्सवको आयोजना गरिन्छ ।

सनातन संस्कृतिमा सूर्य उपासनाको महत्व धार्मिक मात्र होइन, वैज्ञानिक र आध्यात्मिक पनि छ । परम्पराका अनुसार छठको उत्पत्ति त्रेतायुगबाट भएको हो । प्राचीन विदेहका राजा जनक मानिन्छ, उनी क्षेत्रीयका साथसाथै ब्रह्मज्ञानी पनि थिए ।
कश्मीरका विद्वान् शाश्वत पण्डितले एउटा क्षेत्रीय राजा ब्रह्मज्ञानी भएको विषयमा प्रश्न उठाए । साथै राजा जनकलाई शास्त्रार्थका लागि चुनौती पनि दिए ।

त्यसका लागि उनी मिथिलातर्फ गए । मिथिला पुगेको केही समयपछि उनलाई राजा जनकसँग भेट्ने अवसर प्राप्त भयो । भनिन्छ, ती पण्डित प्रतीक्षा गर्ने क्रमा समाधिमा गएको र पछि समाधिबाट फर्कंदा उनका सबै प्रश्न हराएका थिए । त्यस विशेष अनुभवपछि राजा जनकलाई गुरु मानेर त्यहीँ बसेका थिए, जसलाई हिजोआज मैथिली ब्राह्मण भनेर चिनिन्छ ।कश्मिरी पण्डित सूर्योपासक थिए र उनले सूर्यपूजाको शुरुवात गरेका थिए । उल्लेखनीय छ कि त्रेतायुगदेखि विहारवासीमा छठ व्रत बस्ने धार्मिक र आध्यात्मिक अनुभूति शुरु भएको थियो ।

सूर्यको पूजा गर्दा शरीरका सबै अंगहरूको रोग निको हुने मान्यता पनि छ । कवि मयूर भट्टले सूर्य स्तुति तथा सूर्योपासना गरी शीररलाई कुष्ठरोगबाट मुक्त गराएका थिए । ऋग्वेदमा आठ सुक्त सूर्यको प्रार्थना तथा स्तुति छन् ।विश्वको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा आठ सूक्तहरुमा सूर्यको उपासना गरिएको छ । सूर्यको आराधना गरेर आफूभित्र ईश्वरीय गुण धारण गर्नाले त्यसलाई अनुकूल बनाउन सकिन्छ ।

सूर्यको पूजा गर्दा वरदान पाउन सकिन्छ । मनोकामना पुरा हुने, कठिनाइ समाप्त हुने हुन्छ । संयुक्त राष्ट्र संघले यस वर्ष दुर्गा पूजालाई विश्व सम्पदा घोषणा गरेको छ । विहारवासीले प्रयास गरेमा छठपर्वलाई पनि युनेस्कोले विश्व सम्पदा घोषणा गर्नुपर्छ । जसरी गणेश उत्सवले महाराष्ट्रलाई जोडेको छ । त्यसै प्रकारले छठ व्रतले देश–विदेशमा फैलिएका विहारवासीलाई जोड्न लेखकको प्रार्थना छ । छठ पर्वको सबैमा हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रिया दिनुहोस्