ताराबहादुरको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

0
Shares

काभ्रे ।

हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिन्ह लिएर काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ अन्र्तगत प्रदेश सभा १ का उम्मेदवार ताराबहादुर कुँवरले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । कुँवरले शनिबार राजधानीमा काभ्रे र काठमाडौमा बसोबास गर्ने मतदाताहरुको उपस्थितीमा प्रतिज्ञापत्र सार्वजनिक गर्दै अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

‘म निर्वाचित भए पछि मुलखर्क भिमसेन तथा पलाञ्चोक भगवतीलाई साक्षी राखेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, भौतिक संरचना निर्माण, पर्यटन, रोजगार, सामाजिक तथा आर्थिक क्षेत्रको विकास गर्नेछु’–उम्मेदवार कुँवरले भन्नुभयो–‘भूमी बैक, विज बैक स्थापना गरी कृषकहरुले भोगिरहेको रसायनिक मलको ब्यवस्थापनमा विशेष ध्यान दिनेछु ।’

कृषिमा सिंचाई, ब्यवसायीक रुपमा तरकारी र फलफुल खेती, कृषि प्रोत्साहन भत्ताको ब्यवस्थापन गरिने कुँवरले प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् । शिक्षाको गुणस्तर सुधार्न आवश्यक रणनीतिक योजना निर्माण गरी हरेक नागरिकहरुको निशुल्क शिक्षा प्राप्त गर्ने नैर्सिगिक अधिकारलाई स्थापित गरिने उल्लेख गरिएको छ ।

वडाहरुमा १५ शैयाको अस्पताल निर्माण गरी नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने, निशुल्क स्वास्थ सेवाको ब्यवस्थापन गर्ने, एक घर एक धाराको अवधारणालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने, स्थानीय स्तरमा आई पर्ने विकासका विभिन्न पाटाहरुलाई सम्बोधन गर्ने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

भोटेकोशी(सुनकोशी) तथा इन्द्रावती नदीहरुमा बन्ने विद्युत्तगृहहरुमा जिल्लाका एक घर ५० कित्ता शेयर निशुल्क दिने र ३० प्रतिशत शेयर स्थानीय ब्यक्तिहरुको लगानीको सुनिश्चितताको ब्यवस्थाका लागि ब्यवस्थापन गर्ने, निर्वाचन क्षेत्र भित्र विद्यमान रहेको तर पहिचान गर्न नसकिएका समस्याहरुलाई उच्च प्राथमिकतामा राखि नीति निर्माण गरी कार्यान्वयन गरिने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

प्रतिज्ञापत्र सार्वननिक कार्यक्रममा कुँवरले पटक पटक अन्य राजनीतिक दलका नेताहरुको परिक्षण भईसकेकाले यो पटक सामाजिक सेवामा सक्रिय ब्यक्तिलाई विजयी गराउन अनुरोध गर्नु भएको थियो ।

भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका र धुलिखेल नगरपालिकाका केहि वडाहरु सोहि क्षेत्रमा पर्छन । कुँवर हेभि इक्युमेन्ट ब्यवसायी पनि हुन् । भुम्लु निवासी कुँवर लामो समय देखि सामाजिक क्षेत्रमा कृयाशिल छन् ।

प्रतिज्ञापत्र कार्यक्रममा स्वतन्त्र उम्मेदवार मनोज पण्डित र काठमाडौका उम्मेदवार रमेश खरेलले पनि धारणा राखेका थिए । कार्यक्रम शेरबहादुर कुँवरको संचालनमा सम्पन्न भएको थियो । सोहि कार्यक्रममा इन्जिनियर दिपक पराजुलीले ताराबहादुर कुँवरको उम्मेदवारी किन ? भन्ने विषयमा जानकारी गराएका थिए ।