नेपाल संवत्को सन्दर्भ, अस्तित्व, मूल्य र मान्यता



हाम्रो देश नेपालमा विभिन्न किसिमले सांस्कृतिक, आर्थिक विचलन भइरहेको समयमा भक्तपुरका राजा आनन्ददेव प्रथमले राज ज्योतिष सिद्धिवन्त जोशीको सल्लाह अनुसार शुभ साइत पारेर काठमाडौंको लखु तीर्थबाट बालुवा ल्याउन भरियाहरुलाई पठाएका रहेछन् ।

ज्योतिषीले दिएको साइत अनुसार काठमाडौंको लखुतीर्थबाट बालुवा ल्याउन सके चार दिनमा बालुवा सुन हुने संयोग परेको रहेछ । लिच्छवि वंशका राजा राघवदेवले काठमाडौंमा राज्य गरिरहेको त्यो समयमा मरुटोलका एकजना व्यापारी शंखधर साख्वाले भक्तपुरदेखि लखुथीर्थमा बालुवा लिन भरिया आएको देखेछन् । शंका लागी यसमा केही न केही रहस्य हुनुपर्छ भन्ने लागेर भरियाहरुले बोकेर ल्याएको बालुवा आफ्नो घरको छिँडीमा राख्न लगाएर उनले भरियालाई ज्याला दिई पठाएछन् । ती भरियाहरुले पुनः अर्को बालुवा लखुतीर्थबाट भक्तपुरमा लगेका रहेछन् ।

शंखधर साख्वाले चारौं दिन बिहान सबेरै हेर्दा त सबै बालुवा सुनमा परिणत भएको देखेछन् । यसरी चलाखी गरेर धनी भएका शंखधरले देशका सबै जनताले तिर्नुपर्ने ऋण तिरिदिएर ऋणमुक्त पारिदिएछन् ।यस्तो अतुलनीय र प्रशंसनीय काम गर्ने शंखधर साख्वालाई देखेर खुशी भएका राजाले के माग्छौ भन्दा शंखधरले राष्ट्रका नाममा नेपाल संवत् बनाउन स्वीकृति मागेकाले राजाले स्वीकृति दिएर राष्ट्रिय मान्यता दिएका थिए । चान्द्रमान अनुसार प्रयोग गरिने नेपाल संवत्को पहिलो दिन नेवार समुदायले आफ्नो देह आफैंले पूजा गर्ने म्हपूजा (देहपूजा) मनाउने गरेको हो ।

देशका सम्पूर्ण जातजातिका कर्मकाण्ड, पूजा, चाडबाड सबै यही नेपाल संवत्को तिथिअनुसार नै मनाउँदै आइरहेको हो । नेपाल संवत् त्यही समयदेखि नै राष्ट्रिय संवत्का रुपमा स्थापित भइसकेको थियो । यही एउटै संवत् चलिरहेको थियो ।नेपाल संवत् ८८८ मा गोरखाका शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल जितिसकेपछि नेपाल संवत्लाई राष्ट्रिय संवत्बाट हटाएर गोरखाको शक संवत् चलाएका हुन् । पछि नेपाल संवत् १०४२ मा प्रधानमन्त्री चन्द्रशमशेर राणाले त विदेशबाट आयातीत विक्रम संवत्लाई नेपाल राज्यको सरकारी कामकाजमा प्रयोग गाराएका हुन् । त्यस बेलादेखि त झन् नेपालको मौलिक संवत् नेपाल संवत्को अस्तित्व नै मेटाइदिएका थिए ।

यसरी तत्कालीन शासकहरुले नेपाल संवत्लाई दबाइराखेका थिए । तर जतिसुकै दबाउन खोजे तापनि नेपालका जनताले नेपाल संवत् प्रयोग गरेर आफ्नो विभिन्न कर्मकाण्ड, चाडपर्व, जात्रा सबै मनाउँदै आए । नेपाल संवत् १०७१ मा नेपालमा राणा शासन पतन हुन लागेको समयमा भाषाप्रेमी प्रेमबहादुर कसाः र मदनलोचन सिंहले हिन्दुस्थामा गठन गरेको च्वसापासा माध्यमबाट नेपाल संवत्को नयाँ वर्ष मनाउने अभियान शुरु गरेका हुन् ।

सरकारी दबाब जति बढ्दै गयो त्यति नै भाषाप्रेमी र जनताको संयुक्त अभियान बढ्दै गयो । नेपाल संवत् ११०० मा नेपाल भाषा मंकाः खलःले नेपाल संवत्को संरक्षण र स.वद्र्धनका लागि क्रान्तिकारी भिंतुना-याली आन्दोलनको रुपमा चलाएको हो । नेपाल संवत् नेवारहरुको मात्र होइन सम्पूर्ण नेपालीहरुको हो भन्दै आए तापनि तत्कालीन पञ्चायती शासकहरुले न्हूदँया भिंतुना -यालीलाई तितरवितर पार्ने गरी लाठी चार्ज पनि गराए । नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउन भाषा आन्दोलनका अग्रज पद्मरत्न तुलाधरको नेतृत्वमा वर्ष–वर्षमा निरन्तर आन्दोलन चली नै रह्यो ।

प्रत्येक वर्षमा नेपाल संवत्को नयाँ वर्ष मनाउने सन्दर्भमा न्हूदँया भिंतुना भनेर व्यापकरुपमा सांस्कृतिक क्रान्तिकारी आन्दोलनको रुपमा अगाडि आयो । देशमा विभिन्न समयमा हुँदै आएको राजनीतिक आन्दोलनका साथसाथै नेपाल संवत्को आन्दोलन पनि बढ्दै आयो । विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलहरुबाट पनि नेपाल संवत् न्हूदँया मूल समारोह समितिमा भाग लिएर भिंतुना आन्दोलनलाई साथ दिने काम भयो । नेपाल संवत् १११९ देखि नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले नेपाल संवत् न्हूदँया भिंतुना चियापानको आयोजना पनि ग¥यो । पछि अन्य पार्टीहरुले पनि न्हूदँया भिंतुना चियापानको आयोजना गर्न थाले ।

नेपाल संवत् ११२० मा नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्री परिषद्ले नेपाल संवत्का प्रवर्तक साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग-यो । यो एउटा भिंतुना आन्दोलनको ठूलो उपलब्धि हो । यसरी नै राष्ट्रिय विभूति शंखधर साख्वाः अंकित हुलाक टिकटको प्रकाशन पनि सरकारले गरेको र राष्ट्रिय सञ्चारमाध्यममा नेपाल संवत्लाई उल्लेख गर्ने काम भिंतुना आन्दोलनकै उपलब्धि हो ।

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति मान्ने तर नेपाल संवत्लाई भने राष्ट्रिय संवत्को मान्यता नदिने एउटा विडम्बना नै भइरहेको थियो । भिंतुना आन्दोलनकारी सम्पूर्ण नेवारहरुको संघर्ष अझ दबाबमूलक बन्दै गयो । अन्ततः नेपाल संवत् ११२८ कौलागाः दशमीका दिन नेकपा माओवादीका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्री परिषद्ले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा ग-यो ।

हाम्रो देश नेपालको मौलिक संवत् अनुरुप राष्ट्रिय संवत्को रुपमा मनाउँदै आएको संवत्को विभिन्न समयमा शाह शासन र राणा शासनको दबाबले अस्तित्व नै लोप पार्न खोजे तापनि समयान्तरले र भिंतुना आन्दोलनको संघर्षले गर्दा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गराउन सकेको हो । तर नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको यतिका वर्ष भइसके तापनि सरकारी कामकाजमा प्रयोग भएको छैन । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल संवत् ११३२ न्हूदँया मनाउने सन्दर्भमा नेपाल संवत्लाई आफ्नो लेटर प्याडमा पनि प्रयोग गर्ने र सरकारी कामकाजमा पनि प्रयोग गर्ने भनी नेपाल भाषामै खुल्ला मञ्चबाट घोषणा गरेका हुन् ।

तर त्यो घोषणा घोषणामै सीमित भइरहेको छ । मुखले बोलेजस्तै व्यवहारमा प्रयोग गर्ने काम गरेकै छैन । यो एउटा ठूलो विडम्बना नै हो । जहिले पनि जनतालाई झुटो आश्वासन दिने र आफू चर्चित हुने नेताहरुको चरित्रले गर्दा भिंतुना आन्दोलनकारी नेवारहरुलाई झन् आक्रोशित पारेको छ । यसमा सरकारले अविलम्ब ध्यान देओस् ।स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भइरहेको बेलामा पनि आफ्नो लेटर प्याडमा नेपाल संवत् राख्ने बचन दिएका थिए तर व्यवहारमा लागू गरेनन् । माधवकुमार नेपाल प्रधानमन्त्री भइरहेको बेलामा पनि केही पनि उपलब्धि भएन । नेपाल संवत्को न्हूदँया भिंतुना कार्यक्रममा प्रमुख अतिथि भएर आउने प्रधानमन्त्रीहरुले नेपाली जनतालाई खुशी पार्न मात्र मीठा–मीठा कुरा गर्ने तर व्यवहारमा भने केही पनि नगरी नेपालीहरुलाई झुक्याउँदै आइरहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले नेपाल संवत् ११३४ मा दशैंको अवसरमा पहिलोपटक नोटमा उल्लेख गरिएको विक्रम संवत् र इस्वी संवत् मात्र राखेको देखियो तर राष्ट्रिय मान्यता प्राप्त नेपाल संवत् उल्लेख नगरिनु अफसोसको कुरा भएको छ । यसमा पनि सम्बन्धित निकायको अविलम्ब ध्यान जाओस् । यो हाम्रो माग हो ।नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११३४ को प्रतिनिधि मण्डलले तत्कालीन मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर नेपाल संवत्सम्बन्धी नौ बुँदाका मागहरु राखेको थियो ।

उक्त नौवटा मागहरुमा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिसकेपछि यसलाई सम्मान गर्नुपर्ने, नेपाल संवत्लाई व्यवहारमा प्रयोग गर्नुपर्ने, नेपाल संवत्लाई तत्काल राष्ट्र प्रमुख र सरकारी निकायहरुले प्रयोग गरिने लिखित दस्तावेजमा प्रयोग गर्नुपर्ने, सिक्का र नोटमा नेपाल संवत् प्रयोग गर्नुपर्ने, शंखधर प्रतिष्ठान गठन गर्ने काम तत्काल सरकारी स्तरबाट गर्नुपर्ने, नेपाल संवत् न्हूदँको नामले नै बिदाको घोषणा गर्नुपर्ने, नेपाल संवत् राष्ट्रिय संवत् भएकोले उक्त संवत्को न्हूदँ नयाँ वर्ष नेपाल सरकारकै नेतृत्वमा मूल समारोह समिति गठन गरेर आयोजना गर्नुपर्ने, नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः र नेपाल संवत्सम्बन्धी पाठ्य सामग्री पाठ्यक्रममा व्यवस्था गर्नुपर्ने र नेपाल संवत् राष्ट्रिय रुपमा मनाउन राज्यले आर्थिक कोषको व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

यसका लागि अझै भिंतुना आन्दोलनकारीहरुले अझ सशक्तरुपमा आन्दोलन गर्नुपर्ने भएको छ । भिंतुना आन्दोलनको सफलताको कामना गर्दै यस वर्ष नेपाल संवत् ११४३ को उपलक्ष्यमा सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना चढाउँछु । जय भिंतुना आन्दोलन, जय नेपाल भाषा, जय मांभाय् ।

प्रतिक्रिया दिनुहोस्