जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ को व्यवस्था गर्नुपर्छ

नेसपाको घोषणापत्र सार्वजनिक

0
Shares

काठमाडौं । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आइतबार राजधानीमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले ‘राइट टु रिकल’को व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिम्मेवार हुँदै गएका छौं कि ढाँट, छल र पैसाले किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल, षड्यन्त्र र पैसाले किनबेच गरेर सत्तामा जाने प्रवृत्ति छ ।’

जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत (२५ प्रतिशत वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘जनताको सेवामा लाग्छु भनेर चुनाव जितेकाहरूले नै त्यस क्षेत्र र नागरिकको समस्या नबुझ्ने अवस्था अहिले कायम छ । राइट टु रिकलको व्यवस्था गर्नुपर्छ, यो सम्भव छ ।’

नेपाल समाजवादी पार्टीले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगारलगायतका विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । संविधान संशोधनलगायतका माध्यमबाट मुलुकको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ ।

माओवादी केन्द्रको चुनाव चिह्न ‘हँसिया हथौडा’ लिएर चुनावी मैदानमा उत्रिएको नेसपाले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गर्दै घोषणापत्रमा त्यसका लागि संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपिल गरेको छ । राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था, राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनःसंरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने पनि नेसपाको घोषणापत्रमा उल्लेख छ ।

यसैबीच नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । आइतबार सार्वजनिक गर्ने तयारी गरिए पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा प्रदेश स्तरीय प्रशिक्षणमा व्यस्त भएपछि सोमबारका लागि सारिएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ– ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९’ नेपाली कांग्रेसको संकल्पपत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम भोलि २०७९ कात्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’