लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा



धनगढी । 

सरकारद्वारा आगामी मङ्सिर ४ मा संसदीय निर्वाचन घोषणा गरिएको छ । निर्वाचन नजिकिएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले चुनावी दौडधुप बढाएका छन् ।

शुक्रबारबाट गठबन्धनका ठूला नेताहरू संसदीय निर्वाचनलक्षित संयुक्त प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै देश दौडाहमा निस्किएका छन् । गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू चुनावी माहोल बनाउन देश दौडाहमा निस्किनुभएको हो ।

शुक्रबारदेखि गठबन्धनले प्रदेशस्तरीय संयुक्त भेला शुरू गरेको थियो । गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा भेला गरिसकेको छ । आइतबार मात्रै गठबन्धनका शीर्ष नेताहरूले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढी पुगेर सुदूरपश्चिमस्तरीय भेला सम्पन्न गरेका हुन् । उक्त भेलालाई गठबन्धनका शीर्ष नेताहरू देउवा, प्रचण्ड, र नेपालले सम्बोधन गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि सत्ता गठबन्धन आवश्यक रहेको बताउनुभएको थियो । त्यसकारण चुनावमा गठबन्धन दलका सबै उम्मेदवारले चुनाव जित्नु आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले देशमा दुईवटा गठबन्धन रहेको र आन्दोलनका उपलब्धि जोगाउन परिवर्तनकारी शक्तिहरूले चुनाव जित्नुपर्नेमा जोड दिनुभयो । एमाले–राप्रपा गठबन्धन पश्चगामी भएकाले उनीहरूले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने उहाँले दाबी गर्नुभयो । संविधान मिच्ने प्रवृत्ति अहिले पनि सक्रिय रहेको उल्लेख गर्दै उहाँले त्यो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभयो । गठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दाबी छ ।

भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले शान्ति प्रक्रियाको १२ बुँदे सहमतिमा आफूसहित प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको बताउनुभएको थियो । ‘जनयुद्धका क्रममा मैले माओवादीलाई भेटेर कुरा गरेको थिएँ । १२ बुँदे सहमतिमा मैले प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं । कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिले मात्रै होइन । पुरानो हो’ –उहाँले भन्नुभएको थियो ।

यस्तै उहाँले सबै कार्यकर्तालाई गठबन्धन दलको औचित्यमा प्रस्ट पारेर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै अझै पनि लोकतन्त्रमाथि खतरा रहेको उहाँको दाबी थियो । उहाँले भन्नुभयो– ‘हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । अहिले पनि लोकतन्त्र जोखिममा छ ।’ एमाले प्रगति र परिवर्तनको बाधक भएको भन्दै गठबन्धन दलका उम्मेदवारलाई जिताउनुपर्ने उहाँको जिकिर थियो ।

यस्तै, गठबन्धनका अर्का नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गठबन्धनलाई विजयी बनाउन आग्रह गर्नुभएको छ । उहाँले नेपालको संविधान जोगाउन र प्रतिगमनलाई सच्याउन गठबन्धनलाई भोट हाल्नुपर्ने बताउनुभएको हो । ‘वामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूलाठूला परिवर्तन भएका छन्, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो, गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला’ –उहाँले भेलालाई सम्बोधन गर्ने क्रममा भन्नुभएको थियो । यस्तै फरक सन्दर्भमा उहाँले जति बेला कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफ्नो बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यति बेला नै आफूले रूखमा भोट हालिसकेको बताउनुभयो ।

‘जति बेला शान्ति सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर ग¥यौं, त्यति बेला मैले रूखमा भोट हाली सकेँ । अनि गरिजाबाबुले पनि हँसिया हतौडामा भोट हालिसके’ –प्रचण्डले भन्नुभयो । उहाँले चुनाव चिह्न देख्दा भोट हालौं कि नहालौं भन्ने कुरा त्यागिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय चुनावमा हँसिया हतौडामा भोट हालेकाले रूखमा भोट हालौं कि नहालौं, रूखमा भोट हालेकाले हँसिया हतौडामा भोट हालौं कि नहालौं भन्ने कुरा देखियो । तर, मङ्सिर ४ को चुनाव प्रतिगमनकारी र संविधानको रक्षाका बीचको चुनाव हो, हात नकमाउन आग्रह गर्दछु ।’ ओली नेतृत्वको गठबन्धनलाई अपवित्र, अप्राकृतिक र प्रतिगमनको संज्ञा दिएका उहाँले आफूहरूको गठबन्धनलाई सफल बनाउनुपर्ने जिकिर गर्नुभयो ।

राजनीतिक नियुक्तिमा बढी भाग पाइने आश्वासन

सुदूरपश्चिमको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई धेरै मत दिलाउनुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न अपिल गर्नुभयो ।‘सुदूरपश्चिमबाट एक क्षेत्र मात्रै जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको छु,’ उहाँले भन्नुभयो– ‘भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ ।

गठबन्धनलाई जिताउन अनुरोध गर्दै छु । देश महत्वपूर्ण र गम्भीर मोडमा छ ।’ उहाँले थप्नुभयो– ‘भोलि गठबन्धनको सरकार बन्यो भने नियुक्ति हुन्छ । त्यसका लागि सुदूरपश्चिमले धेरै भाग पाउँछ । त्यसैले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुहोला ।’

सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धलाई जितको सफलता मिल्ने अपेक्षा राखेको समेत उहाँले सुनाउनुभएको थियो । चुनावी प्रशिक्षण भेलाका क्रममा गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनको आवश्यकता र औचित्यमाथि प्रष्ट पार्दै आफूहरूलाई चुनाव जिताउन नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्