इन्टरनेटको प्रयोग र बालबालिकामाथि बढ्दो जोखिम



घटना १: काठमाडौंको अनामनगर बस्ने वर्ष १५ कि क नाम गरेकी (नाम परिवर्तन) एक किशोरी सामाजिक सञ्जालबाट आफू दुव्र्यवहारमा परेको एक कार्यक्रममा सार्वजनिक गरिन् । फेसबुक आईडी बनाएपछि अपरिचतहरुको फ्रेन्ड रिक्वेस्ट आउने, रिक्वेस्ट अस्वीकार गर्दा पनि म्यासेन्जरमा म्यासेज धेरै आउँथ्यो ।

बारम्बार तिमी राम्री छेऊ, तिमी संसारकै सुन्दर व्यक्ति हौ भन्ने जस्ता शब्द प्रयोग गरेर म्यासेज आइरह्यो । उमेरको जोश र नयाँ साथी बनाउने लहडमा उनीले त्यसमध्ये जसले धेरै म्यासेज पठाएको थियो त्यस व्यक्तिलाई साथी स्वीकार गर्छिन् । पछि निरन्तर कुरा हुन थालेपछि उनका अभिभावकलाई शंका हुन थाल्छ । छोरीको हातबाट मोबाइल खोसेर म्यासेज हेर्दा अश्लील चित्रहरु र धेरै म्यासेज गरेको देखे ।

त्यो देखेपछि छोरीसँग सोधपुछ गर्दै जाँदा आफूले नचिनेको र केही दिनपछि भेट्न पनि बोलाएको बताइन् । त्यस व्यक्तिसँग निरन्तर कुरा हुन थालेपछि एकोहोरो हुने, झोक्राउने जस्ता क्रियाकलाप छोरीले गर्न थालेको अभिभावकले बताए । बच्चामा अचानक आएको परिवर्तनले अभिभावक डराए । आफ्नो बच्चाको थप जानकारीको लागि भोलिपल्ट स्कुलमा कुरा गरे । तर स्कुलबाट हामीले स्कुलको जिम्मा लिने हो घरको होइन भन्ने जवाफ ती अभिभावकले पाए । त्यसपछि अभिभावकहरु त्यो अपरिचत व्यक्तिविरुद्ध सबै म्यासेजहरुको प्रमाण लिएर साइबर ब्युरो गए ।

साइबर ब्युरोमा निवेदन दिएको १५ दिनपछि ४५ वर्षीय उक्त व्यक्ति पक्राउ प¥यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा फेक आईडीहरु बनाउँदै गलत हर्कत गर्न खोज्ने र बालबालिकाहरुलाई पोर्न साइट देखाउँदै, ब्ल्याक मेल गर्दै आइरहेको प्रहरीको अनुसन्धानले देखायो ।
घटना २: कक्षा ८ मा पढ्ने आफ्नी छोरीलाई सोही कक्षामा पढ्ने एक बालिकाले कुनै खुला स्थानमा लगेर जबरजस्ती कपडा खोल्न लगाई नग्न फोटो तयार पारेको भन्दै पीडित बालिकाकी बुबा प्रहरीमा उजुरी दिन आउँछन् । जबरजस्ती गर्ने बालिकाको पूरा ठेगाना थाहा नभए पनि स्कुलका शिक्षकहरुलाई प्रहरीले सोधपुछ गर्छन् । सो दिन स्कुल बन्द भएकोले प्रधानाध्यापकले भोलि–भोलि भन्दै टार्छन् तर प्रहरीले अहिले नै जानकारी दिनु भनेपछि उनी ती बालिकाको आमाबुबाको नम्बर प्रहरीलाई दिन्छन् । प्रहरीले तुरुन्तै अभिभावकलाई सम्पर्क गरेर प्रहरी कार्यालय आउन अनुरोध गर्छ । करिब एक घण्टापछि अभिभावकहरु आउँछन् । घटनाको बारेमा पीडित पक्षले कुरा सुनाउँछन् । नग्न भिडियो सार्वजनिक गरेपछि हामी मरे हुन्छ भन्दै पीडित बालिकाको बुबा रुन थाल्छन् । प्रहरीले यो सम्बन्धी उजुरी गर्न साइबर क्राइम ब्युरो जान सुझाउँछन् । साइबर ब्युरोमा निवेदनपश्चात् भिडियो खिच्ने बालिका फेला परेको तर भिडियो डिलेट भैसकेको थियो । सम्बन्धित विषयमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
माथि प्रस्तुत दुई घटना समाजिक सञ्जालबाट प्रभावित भएको एक अंश हो । समाजिक सञ्जाल आफंैमा खराब होइन तर बालबालिकामा इन्टरनेट प्रयोग कसरी गर्ने, किन गर्ने ? भन्ने कुराको जानकारी नहुँदा दिनहुँजसो बालबालिकाहरु जोखिममा परिरहेका छन् ।

बालबालिकाको मनोविज्ञान

बालबालिकाको मनोविज्ञान एकदम कलिलो हुन्छ । मैले के गर्दै छु, यो काम गर्दा कस्तो परिणाम आउँछ भन्ने कुराको सोचविचार बालबालिकाले पु¥याउन सक्दैनन् । यदि कोहीले उनीहरुमाथि दुव्र्यवहार नै गरेको छ भने यो के गरेको भनेर पनि बुझ्न सक्ने क्षमता बालबालिकाको हुँदैन । उनीहरुको दिमाग कलिलो हुन्छ । हरेक कुराबाट अन्जान हुन्छन् । के गलत, के सही, त्यो कुराको जानकारी बालबालिकामा नहुँदा अपराध मनसायका व्यक्तिहरुले बालबालिकालाई प्रयोग गरिरहेको एक तथ्यांकले देखाउँछ । सानो उमेरमा बच्चाको मानसपटलमा परेको नराम्रो छापले उसको भविष्य कस्तो हुन्छ त ? भन्ने कुराको निर्धारण गर्दछ ।

यस्तो अवस्थामा अभिभावकहरुको संरक्षण धेरै चाहिन्छ । अभिभावकहरुको संरक्षणको अभावमा अधिकांश बालबालिका दुव्र्यवहारको सिकार भैरहेका छन् । चाहे त्यो भौतिक रुपमा होस् या प्रविधिको माध्यमबाट होस् । बालबालिका जोखिममा पर्न सक्ने सम्भावना धेरै छ । बालबालिकाको इन्टरनेटमा पहुँच धेरै बढेको छ । कोभिड–१९ पछि स्कुल, कलेजलगायत कार्यालयहरुको सबै काम इन्टरनेटबाट हुने भएपछि झनै यसको प्रयोग बढेको प्रहरीको अध्ययनले देखाउँछ । खुम्चिँदै गइरहेको पारिवारिक वातावरण या शहरका भूगोलहरु पनि यसको दोषी देखिन्छन् ।

किनकि अभिभावकको बदलिँदो समय र आवश्यकतालाई हेर्दा बालबालिकाहरु प्रविधिको प्रयोगमा धेरै अगाडि आएको पाइन्छ । अहिले प्रविधि सबैको आवश्यकता नै भैसकेको छ । अफिसदेखि घरसम्म प्रविधिको प्रयोगले नै हाम्रा सबै काम चल्ने गरेको छ । यसै गरी कोभिडको महामारीसँगै एक्कासी प्रविधिको प्रयोग झनै बढ्न गयो । बालबालिकाको अनलाइन शिक्षादेखि लिएर कामकाजी व्यक्तिहरुको सबै काम प्रविधिबाट नै भयो । तर प्रयोगकर्ता कस्तो छ भन्ने कुरामा धेरै भर पर्छ । बालबालिकाको नै कुरा गर्नुपर्दा उनीहरुमा नयाँ कुरा सिक्न खोज्ने अझै जान्न पाए हुन्थ्योजस्ता कुराहरुको मनोविज्ञान भैरहेको हुन्छ । यसले गर्दा अधिकांश बालबालिका प्रविधिको माध्यमबाट कुलततर्फ अग्रसर भैरहेको पनि प्रहरीको अध्ययनले देखाउँछ ।

अनलाइन संसारमा सुरक्षित कसरी रहने ?

अहिले धेरै व्यक्तिहरुको समस्या नै यही छ । अनलाइन संसारमा सबै रमाइरहेका छन् । सामाजिक सञ्जालबाहेक मेरो अर्को पनि संसार छ है भन्ने कुरा मानिसले बिर्सन लागेका छन् । कोही कसैसँग बोल्ने, नजिक बस्ने, एक–अर्काको गुनासो सुन्ने कसैलाई फुर्सद छैन । सबै आ–आफ्नो संसारमा रमाएका छन् । अनि व्यक्तिलाई आफूले गरेको काम या अरु चिजहरुको देखासिकी वा अलि ठूलो बनाउने पनि होडबाजी छ ।

यसको लागि सबै कुरा सामाजिक सञ्जलमा प्रस्तुत गर्छन् । तर साइबर चेतना नै कम भएको कारणले गर्दा राम्रो नियतले पोस्ट गरेका सामग्रीहरुले पनि नराम्रो परिणाम ल्याउन सक्छ । यस्तो प्रकारको कार्य बालबालिकाले धेरै गर्छन् । कोही पनि व्यक्ति अब प्रविधिबाट टाढा हुन सक्दैन । बरु यसको रोकथाम गर्न सकिन्छ ।

त्यसै गरी बालबालिकालाई प्रविधिबाट वञ्चित गर्न सकिँदैन । त्यही इन्टरनेटको प्रयोगमार्फत उनीहरुले नयाँ–नयाँ जानकारी लिइरहेका छन् । वर्तमान समय प्रविधिको समय हो । प्रविधिमा यति धेरै विकास भैसक्यो कि अब मानिसहरु घरमै बसेर किनमेल गर्न सक्छन् । तर यसको विकाससँगै जोखिम आउनु चिन्ताको विषय भने पक्कै हो । कोभिड–१९ ले विश्व आक्रान्त भैरहेको समयमा नेपाल पनि अछुतो रहेन र सरकारले लकडाउन ग¥यो ।

त्यसपछि हाम्रो दिनचर्यामै परिवर्तन आयो । कार्यालयका सबै काम प्रविधिको माध्यमद्वारा घरबाटै हुन थाल्यो । १० देखि ५ बजेसम्म कार्यालयमा गर्ने काम त कम्प्युटर, ल्यापटपको माध्यमले घरबाट नै ग¥यौं । यो अभिन्न अंग भइसकेको छ वर्तमान समयमा । वयष्कको हकमा इन्टरनेट थोरै मात्रामा सुरक्षित भए पनि बालबालिकाको हकमा यो सुरक्षित हुन सकेको छैन । तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बालबालिकालाई लक्षित गर्दै नेपालमा पोर्न साइटहरु बन्द गर्न नेपाल टेलिकमलाई निर्देशन दिए ।

निर्देशनपश्चात् पोर्न साइटहरु बन्द भए भने कति सुचारु पनि भए । साइटहरु बन्द गरेर जोखिम न्यूनीकरण हुँदैन । यसको लागि साइबर सुरक्षाको अवधारणा ल्याउनु आवश्यक छ । साथै सामाजिक सञ्जालमा सावधानी अपनाउनुपर्ने हुन्छ ।
सावधानीका लागि अज्ञात नम्बर वा इमेलहरूबाट आउने लिंकहरूमा क्लिक नगर्नुहोस् । आफ्नो पासवर्ड, स्थान, दैनिकी, फोन नं. जस्ता व्यक्तिगत विवरणहरू गोप्य राख्नुहोस् । आ–आफ्नो परिवार वा घरको भिडियो वा तस्वीरहरू अपलोड÷शेयर गर्नुअघि सोच्नुहोस् । त्यस्तै तपाईंले नचिनेकाहरूलाई फेसबुकजस्ता सामाजिक सञ्जालमा साथी नबनाउनुहोस् वा तपाईंले नचिनेकाहरूको फ्रेन्ड रिक्वेस्टहरू स्वीकार नगर्नुहोस् ।

अभिभावकको भूमिका

हरेक बालबालिकाका लागि घर–परिवार पहिलो पाठशाला हो । व्यक्तिले पहिलो पाठशालाबाट जे सिक्छ त्यही उसले बाहिर प्रदर्शन गर्छ । अभिभावक शिक्षा आजको महत्वपूर्ण आवश्यकता हो । सामाजिक क्षेत्रमा काम गर्दै जाने क्रममा हामीले सरकारलाई जिम्मेवार बनाउने कार्यक्रमहरु थुप्रै ग¥यौं र गर्दै पनि छौं तर बालबालिकाको उज्ज्वल भविष्यको लागि अभिभावकको रेखदेख आवश्यक पर्छ है भनेर त्यो जिम्मेवारी वा शिक्षा अभिभावकलाई दिएका छैनौं ।

वर्तमान समयमा सबै मानिस व्यस्त छन् । आफ्ना बच्चाहरुसँग बोल्न पनि धेरैलाई फुर्सद हँुदैन । यस अवस्थामा एकले अर्कोलाई समय दिनु, उनीहरुको ख्याल राख्नु समय नै छैन । यदि बुबा–आमा घरमा छन् भने पनि बुबा–आमा आ–आफ्नो ल्यापटप या मोबाइलमा व्यस्त हुन्छन् । कहीँ खेल्न बाहिर जान नपाएपछि बालबालिका मोबाइलमा व्यस्त हुनु स्वाभाविक नै हो । यसले गर्दा जोखिमको सिकार हुन सक्ने सम्भावना प्रबल हुन्छ । त्यसैले अभिभावकले आफ्ना बच्चाहरुमा साइबर सुरक्षाको बारेमा जानकारी दिई निगरानी बढाउनु आवश्यक छ ।

के भन्छ त प्रहरीको तथ्यांकले ?

साइबर ब्युरोमा मात्रै झन्डै दिनको ३ वटा निवेदन पर्ने गरेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक पशुपति राय बताउनुहुन्छ । वि.सं. २०७५ मा साइबर ब्युरो स्थापना भएपछि सामाजिक सञ्जालको दुरुपयोगको घटना दर्ता गर्नेको संख्या ह्वात्तै बढेको र त्यसमाथि बालबालिकालाई लक्षित गरेर आएको डरलाग्दो आँकडा साइबर ब्युरोसँग छ । आर्थिक वर्ष २०७५-७६ देखि आर्थिक वर्ष २०७९-८० असोज २५ गतेसम्मको आँकडा अनुसार बालबालिकालाई लक्षित गर्दै विभिन्न प्रकारका घटना भएको आँकडाले देखाउँछ ।

साइबर ब्युरोबाट प्राप्त जानकारी अनुसार २०७५-७६ देखि २०७९-८० असोज २५ गतेसम्म ह्यारेसमेन्टको ९३ वटा, अश्लील फोटो देखाएको १०४ वटा, चरित्र हत्याको १३५ वटा घटना दर्ता भएको साइबर ब्युरोले जानकारी दिएको छ । बालबालिका दुवैको पहुँच इन्टरनेटमा भए पनि पनि बालिकाहरु धेरै जोखिममा परेको ब्युरोले जानकारी दिएको छ ।

रोकथाम तथा घटना उजुरी प्रक्रिया

हरेक अपराधको न्यूनीकरण भनेको जनचेतना नै हो । जनचेतना जति दिन सक्छौं त्यति नै जोखिम कम हुँदै जान्छ । साइबर सुरक्षाको आवश्यकता एकदमै बढेको छ । बालबालिकालाई सामाजिक सञ्जाल चलाउँदा ध्यान दिनुपर्ने कुराहरु र आइपर्ने जोखिमको बारेमा राम्ररी बुझाउनुपर्ने देखिन्छ ।

स्कुल, कलेजलगायत हरेक सार्वजनिक स्थानमा सामाजिक सञ्जाल चलाउँदा ध्यान दिनुपर्ने उपायहरुको साथै होस पु-याएर काम नगर्दा कस्तो हानि बेहोर्नुपर्छ भन्ने बारेमा जानकारी दिनुपर्ने हुन्छ । त्यसै गरी समुदायमा बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कार, यौन दुव्र्यवहारलगायतका घटनालाई रोकथाम गर्न समुदायको नागरिकको पनि आवश्यकता पर्छ भन्दै नेपाल प्रहरीभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम आयो । सोही कार्यक्रममार्फत स्कुल, कलेजलगायत अरु निकायहरुमा साइबर सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम हुँदै आइरहेको छ । यसलाई अझै व्यापक बनाउँदै समुदायभित्र जान अभैm आवश्यक रहेको छ ।

साइबर क्राइम विद्युतीय सञ्चारमाध्यमबाट गरिने विद्युतीय अपराध हो । यसमा कम्प्युटर, मोबाइल, ल्यापटपजस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसबाट फेसबुक, म्यासेन्जर, टिकटक, इमो, भाइबर, युटुबलगायतका सामाजिक सञ्जालमा कसैले इच्छाविपरीतको कार्यकहरु जस्तै– भिडियो, फोटो, व्यक्तिको मानमर्यादामा आँच पु¥याउने, चरित्र हत्या गर्ने, बालबालिकालाई अश्लील फोटो पठाएर ह्यारेस गर्ने कार्य हुने गरेको छ ।

यस प्रकारका अपराधहरु साइबर अपराध हुन् । यदि यसो भएको खण्डमा नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीमा उजुरी दिन सकिने र उजुरीपश्चात् अपराधको प्रकृति अनुसार रु. ५० हजारदेखि २ लाखसम्मको जरिबाना वा ६ महिनादेखि ५ वर्षसम्म कैद हुने विद्युतीय कारोबार ऐन २०६३ ले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्