लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

0
Shares

काठमाडौं । 

मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु-याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पु-याउन नसकेका हुन् ।

ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका हुन् । स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरूका बारेमा जनतालाई मौखिक रूपमा बुझाउने गरे पनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेन्डाहरू प्रभावकारी हुन सकेका छैनन् । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूले नै चुनावी अभियानमा जनतालाई देखाउने लिखित प्रतिबद्धतापत्र तयार पार्न भ्याएका छैनन् ।

नेपाली कांग्रेसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र लेखनको कार्य अन्तिम चरणमा पु-याएको बताए पनि सार्वजनिक गरेका छैन् । घोषणापत्र लेखनका लागि गठित समितिले तयार पारेको ड्राफ्ट केन्द्रीय कार्यसम्पादन समितिमा पेस भएको थियो । समितिको शुक्रबारको बैठकले केन्द्रीय सदस्यहरूको सुझावसमेत समेट्दै ड्राफ्ट पारित गरेको थियो । समितिले शनिबार साँझसम्म केन्द्रीय सदस्यहरूलाई घोषणापत्रका लागि सुझाव दिने समय पनि तोकेको थियो । कांग्रेसको घोषणापत्र समितिका प्रवक्ता तथा सहमहामन्त्री जीवन परियारले अबको १÷२ दिनमा घोषणापत्र लेख्ने काम सकिने बताउनुभयो । ‘हामीले ड्राफ्टहरूलाई अन्तिमरूप दिदै छौं’, परियारले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एक दुई दिनसम्ममा घोषणापत्र लेख्ने काम सकिएपछि हामी सार्वजनिक गर्ने मिति तय गर्छौं ।’

पार्टी सभापतिको समय मिलाएर सम्भवतः आइतबार डिजिटल रूपमा सार्वजनिक गर्ने सल्लाहा हँुदै छ ।’ मतदाताका हातहातमा पु-याउनका लागि गाउँ पठाउने प्रतिबद्धतापत्रको लिखित दस्तावेजका तिहारलगत्तै पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गत भदौ २२ गते घोषणापत्र निर्माण समिति गठन गरेको थियो ।

महामन्त्री शर्माको नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिअन्तर्गत विभिन्न उपसमितिहरू गठन गरेर मस्यौदाको काम अर्थविद् डा. स्वर्णिम वाग्लेको नेतृत्वको उपसमितिले गरिरहेको प्रवक्ता परियारको भनाइ छ । विगतका ५ वर्षको सम्पूर्ण समीक्षासहित ०४८ सालदेखि कांग्रेस नेतृत्वको सरकारले गरेका मुख्य काम र निर्वाचनपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारको रोडम्यापसहितको घोषणापत्र तयार भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो लिखित दस्तावेजबिना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा पठाएको छ । घोषणापत्र लेखन समितिका सदस्य तथा उपमहासचिव प्रदीप ज्ञवालीले प्रारम्भिक मस्यौदामाथि छलफल भइरहेकाले अन्तिम रूप दिने तयारीमा रहेको बताउनुभयो । छपाइलगायतका केही प्राविधिक काम सक्दा घोषणापत्र सार्वजनिक गर्न एक हप्ता लाग्ने उहाँले जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले ०७४ सालको चुनावी घोषणापत्रको समीक्षात्मक अध्ययन गरेर चार महले प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनलाई अहिले प्रारम्भिक आधार बनाइएको बनाएर घोषणापत्र ल्याउने तयारी गरिएको उहाँको भनाइ छ ।

लिखित रूपमा घोषणपत्र नभए पनि जनतामाझ जाँदा आफ्ना एजेन्डाहरू लिएर चुनावी अभियानमा लागिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराई बताउनुभयो । स्थानीय तहको घोषणापत्रलाई विश्लेषण गरेर जिल्लाको आवश्यक्ता र अवस्था हेरेर आफंैले एजेन्डा बनाउने र जनतामाझ प्रतिबद्धताका साथ जाने काम भइरहेको उहाँले बताउनुभयो । हामीलाई घोषणा पत्रमा के आउँछ भन्ने थाहा छँदै छ’, भट्टराइले भन्नुभयो– ‘पार्टीका मूलभूत एजेन्डा, स्थानीय स्तरमा उठाउनुपर्ने मुद्दा र जनताका आवश्यकताका बारेमा थाहा भएकाले लिखित दस्तावेज नै अपरिहार्य भइहालेको छैन । घोषणापत्र समितिले तयार पारिरहेको छ लिखित प्रतिबद्धता केही दिनमा आउँछ ।’

त्यस्तै, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाएको प्रतिनिधि र प्रदेशसभा चुनावको घोषणापत्र समितिले पनि आफ्नो प्रतिबद्धतापत्र बजारमा ल्याएको छैन । समितिका जिम्मेवार व्यक्तिहरूले धमाधम काम गरिरहेकाले अन्तिम ड्राफ्ट तयार भइरहेको बताइएको छ । घोषणापत्रका काम करिब अन्तिम चरणमा पुगेकाले नेताहरू व्यस्तलाई हेरेर एक दुई दिनभित्रै सार्वजनिक नेकपा माओवादीले जनाएको छ । माओवादीको घोषणापत्र तयारी समितिमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, सचिव गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापामगर, हरि रोका, परशुराम तामाङ, कृष्ण चौधरी, भीमा ढुंगाना र जगत सिंखडा रहेका छन् ।

उता जनता समाजवादी पार्टी (जसपा) को घोषणापत्र प्रेसमा पुगेको नेताहरूले बताएका छन् । अब एक दुई दिनभित्रै घोषणपत्र सार्वजनिक गर्ने र जनतामाझ लिएर उम्मेदवारलाई पठाउने जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र लेखनको काम अन्तिम चरणमा पु-याएको नेताहरू बताउँछन् । राप्रपाले प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा ५ सदस्यीय ‘घोषणापत्र तयारी संयोजन समिति’ गठन गरेको छ ।

दल तथा उम्मेदवारको घोषणपत्र हेरेर कसलाई मत दिने भन्ने आम मतदाताले धारणा बनाउने हो । तर, चुनावी अभियानका क्रममा एकपटक आफ्नो क्षेत्रका मतदातासँग छलफल गरिसक्न लागेका उम्मेदवारहरूले खाली हात जाँदा उनीहरूको एजेन्डासहितको लिखित प्रतिबद्धता जनताले सुन्न र देख्न पाएका छैनन् । चुनावी घोषणापत्र हेरेर धेरेजसो नागरिकले आफ्नो धारणा बनाउने र मतदान गर्ने अभ्यास कम भए पनि जनतामाझ नेताले आफ्नो प्रतिबद्धतालाई लिखित रूपमा प्रस्तुत गरेपछि मात्रै जनताले चुनावपछि पनि आफूले मतदान गरेका नेतालाई भनेका काम किन गर्नुभएन भनेर प्रश्न गर्न सक्ने अवस्था रहने राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले बताउनुभयो ।

‘दलका घोषणापत्रमा लेखेका अधिकांश कुराहरू पूरा गरेको इतिहास नभएको र आगामी दिनमा पनि त्यही दोहोरिने कुराको दुइमत छैन’, उहाँले भन्नुभयो– ‘तर, जनतालाई झुक्याउनकै लागि भए पनि समयमै आफ्ना प्रतिबद्धताहरू लिखितरूपमा लाने दल तथा उम्मेदवारहरूको चलन छ ।’ निर्वाचन आयोगले ठूला आम सभासहित प्रचारप्रसारका लागि कात्तिक १७ गतेदेखि १५ दिनको समयअवधि तोकेको पनि उम्मेदवारहरू अहिले जनतासँग भेटघाटमा गाउँ केन्द्रित छन् । उनीहरू आफ्ना एजेन्डा र प्रतिबद्धताहरूलाई मौखिक रूपमा पेस गरेर जनतालाई भरोसा दिलाउने कोसिसमा छन् ।