आउँदो चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ : मन्त्री चौधरी

0
Shares

दाङ ।

क्षेत्र नम्बार १, दाङका सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने बताएका छन् ।
लमही नगरपालिकाका विभिन्न वडामा बाम लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।

जनताको अभिमतको अपमान गर्दै केपी ओलीले जनताले निकै ठुलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाई थियो ।

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तव तव बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ । एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्था विरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ । ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ ।’ मन्त्री चौधरीले सुनाए ।

गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानुनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए ।

‘देश बचाउन, व्यवस्था बचाउन गठबन्धन बनेको कुरा जनताले बुझिसकेका छन् । र जसले यो व्यवस्था समाप्त पार्न खोज्यो उसलाई जनताले चुतावमा समाप्त पार्ने छन् ।’ मन्त्री चौधरीले प्रष्ट्याए ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगी, शंकर गिरी, एकीकृत समाजवादीका केपी गैरे लगायतले मन्तव्य राखेका थिए ।