मुलुकभरका हवाई तथा स्थल नाकाहरु व्यवस्थित गर्छौं : गृहमन्त्री खाँण

0
Shares

बुटवल।

गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागिपरेको बताउनु भयो । सुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका ब्यबस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेकोे उहाँले बताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबनधनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई बोल्दै हवाई तथा स्थल नाका ब्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुकहरुबिरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिबिधि रोक्न पनि नाका ब्यबस्थित गर्नु पर्ने जरुरी रहेको औल्याउनु भयो ।

उहाँले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकबिरुद्ध हुनसक्ने गतिबिधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाउनु भयो । ‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुकबिरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिबिधि रोक्न पनि नाकाहरु सुब्यवस्थित गर्नु पर्ने छ । यसतर्फ सरकार लागिरहेको छ’, उहाँले भन्नु भयो, ‘निर्वाचन लगत्तै सबै सिमा नाका ब्यबस्थित गर्ने काम सुुरु हुन्छ ।’

स्थल नाका सुब्यबस्थित गर्ने कामको सुरुवात निर्वाचन पछि सरकारले रुपन्देहीको बेलहिया नाकाबाट गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो । उहाँले नाका सुब्यबस्थित गराउन निमार्ण गर्नुु पर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याइँ नगर्ने समेत प्रष्ट पार्नु भयो । त्यस्तै उहाँले बेलहियामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कुटनीतिक र राजनीतिक रुपममा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विश्वस्त रहेको बताउनु भयो ।
‘नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा आईसीपी निमार्ण हुने हो’, गृहमन्त्री खाँणले भन्नु भयो,, ‘आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौं । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निमार्णमा ढिलाई भएको हो । जग्गा अधिग्रहण गरी निमार्ण प्रक्रिया अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसंग कुटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढाएको छ ।

अधुरो रहेको बेलहिया–बुुटवल ब्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको सडक निमार्ण तीनचार महिना भित्रै सम्पन्न हुुने पनि उहाँले बताउनु भयो । विशेष आर्थिक क्षेत्र ‘सेज’मा नियमित विद्युत आपूर्ति र संचालन कार्यबिधिमा उद्योगी ब्यसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उहाँले बताउनु भयो । क्षेत्र नम्बर ३ (क)का गठबन्धनका उम्मेदवार तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले रुपन्देही र सिंगो मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि गठबन्धनले जित्नु जरुरी रहेको बताउनु भयो । उहाँले गृहमन्त्री खाँण गठबन्धनका मात्रै उम्मेदवार नभएर क्षेत्रबासीका साझा उम्मेदवारभएको बताउनु भयो ।