लिखित प्रतिवद्धताविना मतदाता फकाउँदै उम्मेदवारहरु

0
Shares

मंसिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरुले आफ्ना एजेण्डा सहितका लिखित प्रतिवद्धता जनतामाझ पुर्याउन सकेका छैनन् । दुबै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरुले अझै आफ्ना एजेण्डा सहितको घोषणापत्र मतदातामाझ पुर्याउन नसकेका हुन् ।

ठूला राजनीतिक दलहरुले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरु मतदातामाझ एजेण्डा बिहिन बनेका हुन् । स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरुका बारेमा जनतालाई मौखिक रुपमा बुझाउने गरेपनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेण्डाहरु प्रभावकारी हुन सकेका छैनन् । अहिले समम नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपा लगायत दलहरुले नै चुनावी अभियानमा जनतालाई देखाउँने लिखित प्रतिवद्धतापत्र तयार पार्न भ्याएका छैनन् ।

नेपाली कांग्रेसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र लेखनको कार्य अन्तिम चरणमा पुर्‍याएको बताएपनि सार्वजनीक गरेको छैन् । घोषणापत्र लेखनका लागि गठित समितिले तयार पारेको ड्राफ्ट केन्द्रीय कार्यसम्पादन समितिमा पेस भएको थियो। समितिको शुक्रबारको बैठकले केन्द्रीय सदस्यहरुको सुझाव समेत समेट्दै ड्राफ्ट पारित गरेको थियो ।

समितिले शनिबार साँझसम्म केन्द्रीय सदस्यहरुलाई घोषणापत्रका लागि सुझाव दिने समय पनि तोकेको थियो । कांग्रेसको घोषणापत्र समितिका प्रवक्ता तथा सहमहामन्त्री जीवन परियारले अबको १/२ दिनमा घोषणापत्र लेख्ने काम सकिने बताउनुभयो । ‘हामीले ड्राफ्टहरुलाई अन्तिमरुप दिदै छौं’, परियारले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘एक दुई दिन सम्ममा घोषणापत्र लेख्ने काम सकिएपछि हामी सार्वजनिक गर्ने मिति तय गर्छौं ।’ पार्टी सभापतिको समय मिलाएर सम्भवत: आइतबार डिजिटल रुपमा सार्वजनिक गर्ने सल्लाहा हुदैछ ।’ मतदाताका हातहातमा पुर्याउनका लागि गाउँ पठाउने प्रतिबद्धतापत्रको लिखित दस्तावेजका तिहार लगतै पठाउने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गत भदौ २२ गते घोषणापत्र निर्माण समिति गठन गरेको थियो । महामन्त्री शर्माको नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिअन्तर्गत विभिन्न उपसमितिहरु ग्ठन गरेर मस्यौदाको काम अर्थविद् डा स्वर्णिम वाग्लेको नेतृत्वको उपसमितिले गरिरहेको प्रवक्ता परियारको भनाइ छ । विगतका ५ वर्षको सम्पूर्ण समीक्षासहित ०४८ सालदेखि कांग्रेस नेतृत्वको सरकारले गरेका मुख्य काम र निर्वाचनपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारको रोडम्याप सहितको घोषणापत्र तयार भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै प्रतिपक्षदल नेकपा एमालेलले पनि आफ्नो लिखित दस्तावेज विना उम्मेदवारलाई निर्वाचन क्षेत्र पठाएको छ । घोषणापत्र लेखन समितिका सदस्य तथा उपमहासचिव प्रदीप ज्ञवालीले प्रारम्भिक मस्यौदामाथि छलफल भैरहेकाले अन्तिम रुप दिने तयारीमा रहेको बताउनुभयो । छपाई लगायतका केही प्राविधिक काम सक्दा घोषणापत्र सार्वजनिक गर्न एकहप्ता लाग्ने उहाँले जानकारी दिनुभयो । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले ०७४ सालको चुनाबी घोषणापत्रको समीक्षात्मक अध्ययन गरेर चार महले प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनलाई अहिले प्रारम्भिक
आधार बनाइएको बनाएर घोषणा पत्र ल्याउने तयारी गरिएको उहाँको भनाइ छ । लिखित रुपमा घोषण पत्र नभएपनि जनतामाझ जाँदा आफ्ना एजेण्डाहरु लिएर चुनावी अभियानमा लागिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराई बताउनुभयो । स्थानीय तहको घोषणा पत्रलाई विश्लेषण गरेर जिल्लाको आवश्यक्ता र अवस्था हेरेर आफैले एजेण्डा बनाउने र जनतामाझ प्रतिवद्धताका साथ जाने काम भैरहेको उहाँले बताउनुभयो । हामीलाई घोषणा पत्रमा के आउछ भन्ने थाहा छदैछ’, भट्टराइले भन्नुभयो,‘ पार्टीका मूलभुत एजेण्डा, स्थानीय स्तरमा उठाउनुपर्ने मुद्धा र जनताका आवश्यक्ताका बारेमा थाहाभएकाले लिखित दस्तावेज नै अपरिहार्य भैहालेको छैन् ।’ घोषणा पत्र समितिले तयार पारिरहेको छ लिखिद प्रतिवद्धता केही दिनमा आउँछ ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाएको प्रतिनिधि र प्रदेश सभा चुनावको घोषणापत्र समितिले पनि आफ्नो प्रतिवद्धता पत्र बजारमा ल्याएको छैन् । समितिका जिम्मेवार व्यक्तिहरुले धमाधम काम गरिरहेकाले अन्तिम ड्राफ्ट तयार भैरहेको बताइएको छ । घोषणा पत्रका काम करिव अन्तिम चरणमा पुगेकाले नेताहरु व्यस्तलाई हेरेर एकदुई दिनभित्रै सार्वजनिक नेकपा माओवादीले जनाएको छ । माओवाददीको घोषणापत्र तयारी समितिमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, सचिव गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, परशुराम तामाङ, कृष्ण चौधरी, भीमा ढुंगाना र जगत सिंखडा रहेकाछन् ।

उता जनता समाजवादी पार्टी (जसपा)को घोषणा पत्र प्रेसमा पुगेको नेताहरुले बताएका छन् । अव एक दुइ दिन भित्रै घोषण पत्र सार्वजनिक गर्ने र जनतामाझ लिएर उम्मेदवारलाई पठाउने जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र लेखनको काम अन्तिम चरणमा पुर्याएको नेताहरु बताउँछन् । राप्रपाले प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा ५ सदस्यीय ‘घोषणापत्र तयारी संयोजन समिति’ गठन गरेको छ ।
दल तथा उम्मेदवारको घोषणपत्र हेरेर कसलाई मत दिने भन्ने आम मतदाताले धारण बनाउँने हो । तर चुनावी अभियानका क्रममा एक पटक आफ्नो क्षेत्रका मतदाताहरुसँग छलफल गरिसक्न लागेका उम्मेदवारहरुले खाली हात जाँदा उनीहरुको एजेण्डा सहितको लिखित प्रतिवद्धता जनताले सुन्न र देख्न पाएका छैनन् ।
चुनावी घोषणापत्र हेरेर धेरेजसो नागरिकहरुले आफ्नो धारणा बनाउँने र मतदान गर्ने अभ्यास कम भएपनि जनतामाझ नेताले आफ्नो प्रतिवद्धतालाई लिखित रुपमा प्रस्तुत गरेपछि मात्रै जनताले चुनावपछि पनि आफुले मतदान गरेका नेतालाई भनेका काम किन गर्नुभएन भनेर प्रश्न गर्न सक्ने अवस्था रहने राजनीतिक विश्लेषक जैनेन्द्र जिवनले बताउनुभयो । ‘दलका घोषण पत्रमा लेखेका अधिकांश कुराहरु पुरा गरेको इतिहास नभएको र आगामी दिनमा पनि त्यही दोहोरिने कुराको दुइमत छैन’, उहाँले भन्नुभयो, ‘तर, जनतालाई झुक्याउनकै लागि भएपनि समयमै आफ्ना प्रतिवद्धताहरु लिखितरुपमा लाने दल तथा उम्मेदवारहरुको चलन छ ।’ निर्वाचन आयोगले ठूला आम सभा सहित प्रचार प्रसारका लागि कार्तिक १७ गते देखि १५ दिनको समअवधि तोको पनि उम्मेदवारहरु अहिले जनतासँग भेटघाटमा गाउँ केन्द्रित छन् । उनीहरु आफ्ना एजेण्डा र प्रतिवद्धताहरुलाई मैखिक रुपमा पेश गरेर जनतालाई भरोशा दिलाउने कोशीशमा छन् ।