संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा नेपाली सेनाकाे विशेष कार्यक्रम (तस्बिरसहित)

0
Shares

काठमाडौँ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयवस्तुमा आधारित विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सेनाले सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत गर्‍यो ।सोही अवसरमा काठमाडौं उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय-विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो । साथै ,सोही अवसरमा पाँच किमी वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।

कार्यक्रमा पूर्वप्रधानसेनापति, रक्षा सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

 

उक्त कार्यक्रम पश्चात प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

‘युएन डे’ का अवसरमा सेनाले आइतवार सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ । उक्त कार्यक्रमले विश्वशान्ति स्थापना कार्यमा सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्‌मा उजागर हुने सेनाले विश्वास लिएको छ ।