प्रचण्डलाई मत नहाल्ने मुडमा काँग्रेसका शुभचिन्तक

0
Shares

गोरखा।

नेपाली काँग्रेसको समेत समर्थनमा गोरखा २ बाट प्रतिनिधि सभा सदस्य बनेका नेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई मंसिर ४ गते मतदान गर्ने सवालमा नेपाली काँग्रेसका सामान्य कार्यकर्ता भने हच्किएका छन् । सशस्त्र संघर्षको नेतृत्वकर्ता भएका नाताले र प्रचण्डकै कारण गोरखा २ मा समेत जनयुद्धका क्रममा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै उनीहरुले प्रतिनिधि सभा सदस्यमा भने मत दिन आनाकानी गरिरहेका हुन् ।

नेताहरुले त प्रचण्डलाई भोट दिनुपर्छ भनिरहेका छन् तर उनीहरुको सबै कुरा मान्न सकिन्न एक मतादताले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनका भनाइ अनुसार कांग्रेसका प्रदेश सभाका सदस्य तथा समानुपातिकमा मत आफ्नो पार्टीलाइ दिएपनि हसिया हतौडामा भने मत दिने संभावना नरहेको बताएका छन् ।
पार्टीले निर्देशन दिएपनि प्रचण्डलाई मत दिने बिषयमा स्वविवेक प्रयोग गरिने काँग्रेसका तल्ला तहका कार्यकर्ताहरुको भनाइ छ ।

गोरखा २ मा प्रचण्डले आजसम्म केही पनि काम नगरेको र अब पनि केही गर्ने संभावना नभएका कारण प्रचण्डलाई मत दिने बिषयमा ब्यापक छलफल भइरहेको उनीहरुको भनाइ छ। तर, माओवादीका स्थानीय नेताहरुले भने काँग्रेसको सबै मत आउने जिकिर गरेका छन् । अजिरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका माओवादीका नेता दीपक देवकोटाले तिहारपछि माओवादी र काँग्रेसको संयुक्त चुनावी कार्यक्रम हुने भएकाले प्रचण्डको बिषयमा देखिएको भ्रमहरु हटेर जाने र सबैले मत दिने आफूहरुले बिश्वास लिएको बताउनुभयो ।

पाँण्डेलाई कति सहज

प्रदेश सभा सदस्यमा उठेका नेपाली काँग्रेसका नेता सुरेन्द्र पाँण्डेलाई पनि माओवादी शुभचिन्तकहरुले मत दिनेमा आशंका छ । माओवादीका तल्ला तहका कार्यकर्ताहरुले काँग्रेस नेता पाण्डेलाई आँखा चिम्लिएर मत दिने संभावना नभएको माओवादीका शुभचिन्तकहरुले बताएका छन् । माओवादीका तल्ला तहका नेता कार्यकर्ता पनि काँग्रेसको ब्यवहारमा केन्द्रित भएकाले माओवादी सबैले पाँण्डेलाई मत दिने संभावना कम भएपनि जीत भने निश्चित नै रहेको काँग्रेसका कार्यकर्ताहरुले बताएका छन् ।

सशस्त्र संघर्षका क्रममा काँग्रेसको आवरणमा यस क्षेत्रमा ब्यापक अपराध भएकाले हिजोका पीडितले सहज रुपमा रुखमा मत दिने संभावना कम रहेको माओवादीको बुझाइ छ । यद्यपी यी मतहरु अन्य पार्टीमा जाने संभावना भने निकै कम रहेको बुझिएको छ । नेकपा एमाले यहाँ कमजोर रहेकाले जित्ने संभावना नहुदा मत कतै नदिने मुडमा काँग्रेस र माओवादीका तल्ला तहका कार्यकर्ताहरु रहेका छन् ।