मल उत्पादनमा ग्यासको प्रयोग गर्न लगानी बोर्डले दिएको सुझावको सीनद्वारा विरोध

0
Shares

काठमाडौं । सरकारले जलविद्युतको प्रयोगबाट हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादन गर्ने बताइरहेकै बेलामा लगानी बोर्डले भने हाललाई विद्युतबाट युरिया मल उत्पादन गर्न लागत बढी पर्ने भएको भन्दै आयातित ग्यासको प्रयोगमा जोड दिएपछि सोसाइटी अफ इलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन)ले त्यसको विरोध गरेको छ ।

तिहार, छठ र नेपाल सम्वत् ११४३ को उपलक्ष्यमा शुक्रबार सीनले राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले युरिया मल उत्पादनमा आयातित ग्यासको प्रयोग गर्न लगानी बोर्डले दिएको सुझावको विरोध गर्नुभएको हो । उहाँले भन्नुभयो– ‘स्वदेशकै विद्युत उपभोग गर्न छाडेर आयातित ग्यासको प्रयोग गरी मल कारखाना बनाउने कार्य अघि बढेमा सीनले त्यसको प्रतिकार गर्नेछ । मल कारखानाको लागि विद्युतको उत्पादन अहिले नै पर्याप्त रहेको र उत्पादन अझै बढ्ने क्रममा छ । त्यसमाथि नेपाल विद्युत प्राधिकरणले पनि अति सस्तो दरमा विद्युत् दिन्छु भनिरहेको छ । तर फेरि पनि ग्यासमै जोड दिनुको अर्थ के हो ? आयातित ग्यासको प्रयोग देशको हितमा कदापी छैन । त्यसैले मल कारखानाको लागी इलेक्ट्रोलाईसिस प्रविधिमै जानुपर्छ भन्ने हाम्रो माग हो ।’

उहाँले मल कारखाना सरकारी स्वामित्वको सिमेन्ट कारखाना परिसरमै स्थापना गर्नुपर्नेमा जोड दिंदै भन्नुभयो–‘मल उत्पादनका लागि चाहिने कार्बन सिमेन्ट कारखानाबाटै प्राप्त हुन्छ । यदि लगानीको समस्या हो भने पनि विश्व बैंक, एसियाली विकास बैंकसँग माग्नु पर्दैन, जापानसँग सफ्ट लोनलिन सकिन्छ । जाईका यसमा सहयोग गर्न तयार छ ।’

असोज २५ गते काठमाडौंमा सम्पन्न ग्रीन हाइड्रोजन सम्मेलनमा लगानी बोर्डले कार्बन क्याप्चर प्रविधि अझै अनुसन्धानकै क्रममा रहेको, विद्युतको महशुल महंगो हुनुका साथै विद्युत आपूर्ति भरपर्दो नभएको भन्दै हाललाई युरिया मलको उत्पादन इलेक्ट्रोलाईसिस प्रविधिभन्दा ग्यासको प्रयोगबाट गर्नुपर्नेमा जोड दिएको थियो ।

कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक ई. कुलमान घिसिङले युरिया मल उत्पादनका लागि सस्तो दरमा पर्याप्त विद्युत उपलब्ध गराउन प्राधिकरण सक्षम रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा विद्युत् उत्पादन अझै बढ्दो क्रममा रहेको जानकारी दिँदै मल कारखानाका लागि विद्युत् आपूर्तिको छुट्टै व्यवस्था गर्न पनि सकिने बताउनुभयो ।