पम्पा भुसालविरुद्ध निर्वाचन आयोगमा उजुरी

0
Shares

ललितपुर । प्रतिनिधिसभामा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेद्वार रहेकी नेकपा (माओवादी केन्दै)की नेत्री पम्फा भुसालको प्रचारप्रसारमा आचारसंहिता उल्लंघन गरेको पाइएपछि कारबाहीको माग राखेर निर्वाचन आयोगमा उजुरी परेको छ ।

आदिवासी जनजाति स्वतन्त्र महिला समूहको नाममा ललितपुर महानगरपालिका वडा नं १४ स्थित थसीखेल, नखिपोट र विशाल चोक आसपासका क्षेत्रमा पर्खाल, बिजुलीका पोलमा माओवादी केन्द्रका उम्मेद्वार पम्फा भुसाललाई अत्यधिक मतले विजयी गराउ भनि पोष्टर टाँसिएको पाइएपछि नेकपा (एमाले) ललितपुर क्षेत्र नं. ३ निर्वाचन परिचालन कमिटिले उजुरी दिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा दिइएको उजुरीमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा १, २ र ३ विपरित कार्य गरेको हुँदा कारबाहीको माग गरिएको छ । उक्त पोष्टरमा माओवादी केन्द्रको छाप समेत देखिएको भन्दै उजुरीमा तत्काल पोष्टर जफत गर्न र हटाउन माग गरिएको छ ।

यस्तै, निर्वाचन आचारसंहिता विपरित कार्य गर्नेहरुलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ (७) अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।