पाँचखालका कृषकहरुले गरे मल माग्दै राजमार्गमा प्रर्दशन, उपलब्ध नभए अनिश्चितकालिन बन्द गर्ने चेतावनी

मत माग्न आउँदा मल लिएर आउन उम्मेदवारहरुलाई अनुरोध

0
Shares

काभ्रे।

पाँचखाल नगरपालिकाका कृषकहरुले सरकारसँग रासायनिक मल माग्दै प्रर्दशन गरेका छन् । आलु तथा अन्य तरकारी बाली लगाउने समयमा मल अभाव भएको भन्दै कृषकहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनका लागि कृषकहरुले संर्घष समिति गठन गरेका छन् । कृषकहरुले राजनीतिक दलका उम्मेदवारहरुलाई मत माग्न मल लिएर आउन अनुरोध गरेका छन् ।

‘एक वर्ष देखि लगातार कृषकहरुले मल पाउन सकेका छैनन्’–अगुवा कृषक एवं संर्घष समितिका सयोजक ज्ञानबहादुर थापाले भन्नुभयो–‘पाँचखालको कृषि योग्य नगरमा आलु तथा अन्य तरकारी खेति लगाउने मुख्य समयमा मलको अभाव छ ।’ मलको अभाव हुँदा स्थानीय सरकारले पनि चासो नदिएको कृषकहरुको गुनासो छ ।

कृषकहरुले नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कृषि सामाग्री संस्थान लगायतका स्थानमा ज्ञापनपत्र बुझाउँदै संर्घषका कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यक्रम अन्तर्गत कार्तिक ३ गते जिल्ला प्रशासन कार्यालय र पाँचखाल नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् भने कार्तिक ४ गते ३० मिनेट अरनिको राजमार्ग बन्द गरिएको छ । कार्तिक ५ गते नारा जुलुस सहित १ घन्टा नगरपालिका परिसरमा जम्मा भई नगरपालिकाहरुमा धर्ना दिने, कार्तिक ६ गते कृषि शाखामा धर्ना दिने र कार्तिक १३ गते देखि आनिश्चतकालिन अरनिको राजमार्ग बन्द गर्दै पाँचखाल नगरपालिका कार्यालय र १३ वटै वडा कार्यलयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । ‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रमसँगै कृषकहरुका समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएका छौं’–संयोजक ज्ञानबहादुर थापाले भन्नुभयो–‘समयावधी भित्रै मल उपलब्ध गराउन नसके आन्दोलनका कार्यक्रम शशक्त पार्नेछौं ।’

कृषकहरुले काठमाडौँमा ३५ प्रतिशत तरकारी उपभोगको बजार रहेको पाँचखालमा रहेको ताजा तरकारी, आलु, प्याज लगायतका बालीहरु उत्पादन मलकै कारण हुन नसकेको बताएका छन् । पाँचखालमा भूमिहिन र गरिब कृषकहरुले साहुसँग बार्षिक १२ देखि २० हजार प्रति रोपनी भाडामा लिएर खेती गरिरहेका छन् । बिउका लागि ३ हजार प्रति बोरा भाडा तिरेर कोल्ड स्टोरमा राखेको आलु खेर जाने स्थिति भएको कृषकहरुले बताएका छन् ।

प्रति बोरा १०५० रुपियाँ तिरेर पाउने युरिया मल कृषकले ३ हजार सम्म तिरेर किनिरहेको र २३७५ रुपियाँको डिएपी मल ४५ सय रुपियाँ तिरेर किनिरहेको अवस्थामा सरकार मुकदर्शक भएको कृषकहरुको आरोप छ ।

जिल्लाका विभिन्न स्थानमा अहिले आलु लगाउने मौसम हो । आलु लगाउने समयमा मल उपलब्ध नभए पछि कृषकहरुले खेती गर्न पाएका छैनन् । सहज रुपमा नपाएको मल कालो बजारीमा पाउने गरेको भन्दै सरकारले नै कालोबजारी गर्न प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

अहिले गठबन्धन नेतृत्वको सरकार छ । काभ्रेपलाञ्चोक जिल्लाबाटै प्रतिनिधित्व गरेका कृषि मन्त्री बागमती प्रदेश सरकारमा मन्त्री छन् । पटक पटक मल ल्याउने आश्वासन दिएर पनि चुपाचाप बसिरहेको सरकार र मन्त्रीलाई नागरिकहरुले आगामी निर्वाचनमा मत माग्न मल ल्याउन खवरदारी गरेका छन् ।