सत्ता गठबन्धनका शिर्ष नेता बुटवल आउँदै

0
Shares

बुटवल।

सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गर्दैछ। संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी प्रशिक्षण सभा गर्न लागेको हो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज बुटवलमा प्रशिक्षण सभा हुने छ । दिउँसो २ बजे बुटवलमा प्रशिक्षण सभाको आयोजना गरिएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमर दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वपधानमन्त्री माधवकुमार नेपाल, जनमोर्चा तथा लोसपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षणमा सबै पार्टीका प्रदेशमा उपलब्ध नेताहरु, प्रदेशस्तरीय नेता कार्यकर्ताहरु तथा उम्मेदारहरुको सहभागीता रहने छ । आजदेखि कात्तिक ७ गतेसम्म हुने सबै प्रदेशका चुनावी सभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।

पूर्वनिधारित कार्यक्रम अनुसार आजै पोखरामा भोलि प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा राखिएको छ ।

कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा ७ गते काठमाडौंमा चुनावी सभाको आयोजना गरिएको छ ।