२० जिल्लाको मतपत्र छापियो

0
Shares

काठमाडौं । 

यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै प्रत्यक्षतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार हालसम्म १ करोड २८ लाख ४९ हजार ५ सय मतपत्र छपाइ भइसकेको छ । जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ । हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको प्रत्यक्ष निर्वाचन निर्वाचनतर्फ करिब ४ करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ ।

सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रूकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

आयोगका अनुसार बिहीबारदेखि सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालनी भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्जुलालगायतका जिल्लाहरूमा मतपत्र ढुवानी भएको छ । वागमती, मधेस र प्रदेश नं. १ का जिल्लामा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।