खैरो हेरोईन, गाँजा र नियन्त्रित लागूऔषध एम्पुलसहित २१ जना पक्राउ

0
Shares

काठमाण्डौं । काठमाडौं उपत्यकामा लागूऔषध खैरो हेरोईन, गाँजा तथा एम्पुलको अबैध कारोबारमा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (बिहीबार) लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जारी गरेको विज्ञप्तिअनुसार देशका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा यस व्यूरोबाट खटिएको प्रहरी टोलीले २१ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूबाट अवैध लागूऔषध खैरो हेरोईन ३३.४ ग्राम, गाँजा १५ किलोग्राम ९१७ ग्राम, नियन्त्रित एम्पुल २१ सय ४० पिस, डिजिटल तराजु १ तथा लागूऔषध कारोबारबाट आर्जन गरेको ११ लाख २५ हजार ५ सय रुपियाँ बरामद गर्नुका साथै कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

काठमाण्डौं महानगरपालिका वडा नम्बर ७ चावहिलस्थित सडक किनारबाट खैरो हेरोईन ३ ग्रामसहित सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ बस्ने ३६ वर्षीय ग्याल्जेन शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई असोज २६ गते पक्राउ गरिएको हो ।

त्यस्तै असोज २७ गते काठमाण्डौं महानगरपलिका वडा नम्बर ७ चावहिलस्थित सडक किनार र डेराकोठाबाट लागूऔषध खैरो हेरोईन २७ ग्राम र डिजिटल तराजु १९ थानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम फाकफोकथुम गाउँपालिका वडा नम्बर २ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षीय दिनेश तामाङ रहेका छन् ।

ईलाम माई नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीया सिर्जना राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सोही जिल्ला फाकफोकथुम गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय कृण्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोज ३० गते काठमाडौं टोखा नगरपालिका ३ साङलेखोलास्थित सडक किनार र डेराकोठाबाट लागूऔषध खैरो हेरोईन ४.६ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ बस्ने २७ वर्षीय सरोज राई रहेको प्रहरीले जनाएको छ । राईको साथबाट ११ लाख नगद बरामद गरिएको छ ।

त्यस्तै अवैध लागूऔषध ३.६ ग्राम, नगद ११ लाख २५ हजार ५ सय नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृण्ण बहादुर राईको साथबाट ११ लाख र रन्जित गोलेको साथबाट २५ लाख ५ हजार नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा खाजा घर सञ्चालन गर्ने ३७ वर्षीया शर्मिला तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २८ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुस्थित सडक किनारबाट लागूऔषध एम्पुल १३०० पिस सन्दिप दासको साथबाट १२०० पिस र मेलिना भण्डारीको साथवाट १०० पिससहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर १ स्थायी घर भएका १९ वर्षीय सन्दिप दास रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही जिल्ला छिपहरमाई गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका २३ वर्षीय दिपु प्रसाद कुश्हवालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षका श्रीकृण्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही जिल्ला र महानगरपालिका वडा नम्बर १४ स्थायी घर भई हाल जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने २४ वर्षीया मेलिना भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका २३ वर्षीय उपेन्द्र प्रसाद कुशहवालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूस्थित सडक किनारबाट लागूऔषध एम्पुल ६ पिससहित कृसन साह तेलीलाई पक्राउ गरी थप अनुसन्धानको सिलसिलामा पर्साबाट थप २ जना गरी जम्मा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका १९ वर्षीय कृसन साह तेली रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही जिल्ला र नगरपालिका वडानम्बर १ स्थायी घर भएका १९ वर्षीय चन्दन महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी सोही जिल्ला र नगरपालिका वडा नम्बर २ स्थायी घर भएका २३ का सुवास सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यहीँ महिनाको २ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगलस्थित सडक किनारबाट लागूऔषध एम्पुल २४० पिससहित सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका २७ वर्षीय चन्दन कुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत मधुवनी जिल्ला थाना विश्रामपुर स्थायी ठेगाना भएका २५ वर्षीय शम्भु कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध १५ किलो ९१७ ग्राम गाजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत असोज १३ गते गते त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट लागूऔषध गाँजा १५ केजी ७०९ ग्राम प्रहरीले बरामद गरेको छ । कास्की, पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित गेष्ट हाउसबाट १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।भारतको मेघालय रिभ्बाय जिल्ला नङपो थाना ठेगाना भएका २३ वर्षीय सन्दिप शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक २ गते वैदेशिक हुलाक भन्सार कार्यालय डिल्ली बजारबाट लागूऔषध गाँजा २०८ ग्रामसहित २ जना सँगसाथै रिसिभ गर्न गएकाहरु पक्राउ परेका छन् ।

गोरखा, पालुङटार नगरपालिका वडा नम्बर २७ स्थायी घर भई हाल टोखा नगरपालिका वडा नम्बर ९ बस्ने २७ वर्षीय सचिन देवकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै काठमाण्डौं महानगरपालिका वडा नम्बर १६ स्थायी घर भएका ३२ वर्षीय सौरभ सान्डिललाई प्रहरीले पक्राउ गरेको छ । निजहरु उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको बताइएको छ ।