प्रत्यारोपण गर्न निकालिएको मिर्गौला डाक्टरले छाडेर हिँडेपछि वीरअस्पतालमा तनाव

0
Shares

काठमाडौं ।

बिरामीलाई प्रत्यारोपण गर्न निकालिएको मिर्गौला प्रत्यारोपण नगरी सर्जन अस्पतालबाट डाक्टर बाहिरिएपछि वीर अस्पताल तनावग्रस्त बनेको छ । डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठ बिरामीका आफन्त र अस्पतालमा समेत जानकारी नगराई हिँडेपछि तनाव उत्पन्न भएको हो ।

गत मंगलबार धादिङको गल्छी गाउँपालिका–२, कल्लेरीकी ३५ वर्षीया चमेली गैरेलाई उनकै ५८ वर्षीया सासूले मिर्गौला दिने तय भएपछि प्रत्यारोपण गर्न खटिएका डाक्टरद्वय सो मिर्गौला प्रत्यारोपण गर्न नसकिने भन्दै अस्पतालबाट बाहिरिएपछि बिरामीका आफन्तहरू आन्दोलित भएका हुन् । ।

तीन महिनायता विभिन्न परीक्षण गरी मंगलबार प्रत्यारोपणको ‘डेट फिक्स’ गरिएको थियो ।बिरामीलाई मंगलबार बिहान १० बजेबाट प्रत्यारोपण सुरु गर्ने भनेर लगिएको थियो । तर, दिउँसो २ बजे एक्कासि चमेलीको नसामा समस्या छ भन्दै प्रत्यारोपण हुन नसक्ने खबर पाएको बिरामीका आफन्तले बताएका छन्।उनका अनुसार सबै परीक्षण गराइसकेका र रिपोर्टमा पनि कुनै खराबी देखाइएको थिएन।

तनाव उत्पन्न भएपछि अस्पतालले यस विषयमा छानबिन गर्न सिनियर सर्जन डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत बिरामीका आफन्तलाई ‘कन्भिन्स’ गरेर पठाइएको र थप कुरा समितिको प्रतिवेदनानुसार गरिने बताउँछन् ।

अहिले दुवै बिरामीको अवस्था ठिक रहेको अस्पतालले जनाएको छ ।