जितेन्द्र मलेकू : पार्टीले रोजेको, गठबन्धनले खोजेको

0
Shares

ललितपुर । चुनावमा किन उम्मेदवारी दिनुभएको हो ? यो नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठलाई भेट्ने अक्सर कार्यकताले राख्ने पहिलो जिज्ञासा हुन् ।

५७ वर्षीय श्रेष्ठ वाग्मती प्रदेशसभा सदस्यको लागि ललितपुर क्षेत्र नं ३ (ख) बाट गठबन्धनका साझा उम्मेदवार रहनुभएको छ । गत असोज २३ गते उम्मेदवार मनोनयन गरेको दिन देखि श्रेष्ठ समक्ष कयौं कार्यकर्ताको सो जिज्ञासा राखिसकेका छन् ।

एक वर्ष अघि श्रेष्ठको बोली सुन्ने जोकोहीले पनि सो प्रश्न सोध्नुलाई श्रेष्ठले स्वभाविक लिँदै आउनुभएको छ । गत मंसिर १२ गते आइतबार श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित हुने बितिक्कै कार्यकताहरुमाझ भन्नुभएको थियो ‘अब पाँच वर्षसम्म पार्टीको संगठन बलियो बनाउन दतचित्त भएर लाग्ने छु।चुनावमा उम्मेदवार हुने छैनौं । बरु पार्टीका उम्मेदवार जिताउन दत्तचित्त भएर लाग्ने छुु । यो मेरो प्रतिबद्धता हो ।’

झन्डै एक वर्षपछि आफ्नै प्रतिबद्धताबाट पछि हट्नुपर्ने कारण के हो भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो ‘ हो, मैले एक वर्षअघि पाँच वर्षसम्म कुनै चुनावमा भाग लिन्न र चुनावमा कांग्रेसलाई विजयी बनाउँछु भनेको हो । यो म स्वीकार छु ।’ श्रेष्ठकै सक्रियताले गर्दा गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेस अघिल्लो स्थानीय तहको तुलनामा बढी स्थानीय तह र वडा जितेको थियो ।

तर अहिले परिस्थितिवश चुनावमा उम्मेदवारी दिनुपरेको श्रेष्ठले बताउनुभयो ।‘ असोज २३ गते उम्मेदवारको मनोनयन दर्ता गराउनुको दुई दिन अघि अचानक एकाबिहानै मलाई बालुवाटार बोलाइयो।म गएँ । त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवादेखि अरु केन्द्रीय नेताहरुले चुनावमा भाग लिनैपर्दछ भनेर भने।’ श्रेष्ठले सुनाउनुभयो ।

पार्टी सभापतिदेखि सबैजसो केन्द्रीय नेताहरु मलाई उम्मेदवार बन्न जोड गर्नुमा दुईवटा कारणले बढी भूमिका निर्वाह गरेको श्रेष्ठको ठम्याई छ ।

पहिलो कारण, सत्तागठबन्धनले गर्दा हो । गठबन्धन गरी चुनावमा जाने निर्णय भएसंगै ललितपुर क्षेत्र नं ३ बाट सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि माओवादीका नेतृ एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल उम्मेदवार रहने सुनिश्चित नै थियो । नेतृ भुसाले २०६४ र २०७४ मा यही क्षेत्रमा विजयी हुनुभएको थियो । भुसाल तेस्रो पटक उम्मेदवारी दिने तयारीमा हुनुहुन्थ्यो । ‘यसले गर्दा गठबन्धनको सफल र प्रभावकारीता सिद्ध गर्नुपर्ने एउटा महत्वपूर्ण निर्वाचन क्षेत्र ललितपुर ३ रहन गएको छ ।’ श्रेष्ठले भन्नुभयो।यस्तो स्थितिमा जिल्ला सभापतिलाई उम्मेदवार बनाउँदा गठबन्धनको मर्म अनुसार कार्यकर्ता परिचालन, अन्य निर्णयको काम अघि बढाउन सहज हुने पार्टीका शीर्षस्थ नेताहरुको बुझाई बनेको श्रेष्ठको भनाइ रहेको छ ।

पार्टीको केन्द्रीय नेताहरुले शुरुमा श्रेष्ठको नाम प्रदेशसभा सदस्यको लागि समानुपातिकमा प्रस्तावित गरेको थियो । त्यो पनि दोस्रो नम्बरमै राखिएको थियो । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने बेलामा सबै नेताहरुले ‘जिल्ला सभापति भएको व्यक्ति प्रत्यक्षमा चुनाव लड्नु’ भनि जोड दिने थाले । त्यसपछि समानुपातिक सूचीबाट मेरो नाम हटाएर अर्कोको नाम राखिएको थियो ।  मैले त्यसलाई ठूलो रुपमा लिइ“न।म पार्टीकै काममा व्यस्त थिए । पछि शीर्षस्थ नेताहरुले मलाई चुनावमा उठ्नु भनेर जोड दिन शुरु गर्न थाले ।’ श्रेष्ठले भन्नुभयो।

श्रेष्ठले सांस्कृतिक र पर्यावरणमैत्री विकाससंगै स्वास्थ्य र शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने एजेण्डा अघि सार्नुभएको छ । ‘मेरो क्षेत्रमा खोकना, बुंङमतीदेखि पाटनका विभिन्न वडाहरुसंगै भैसैपाटी, सैबुंका नयाँ बस्तीहरु पनि छन् । यहाँको भाषा, संस्कृति, सम्पदालाई संरक्षण गरी त्यसलाई अर्थतन्त्रसंग जोड्नुपर्ने खा“चो छ । नयाँ बस्तीहरुमा आवश्यक पूर्वाधार बनाउनुपर्दछ ।’ उहाँले भन्नुभयो ।

‘हाम्रो एजेण्डा, राजनीति, गठबन्धनको सहयोग र आम मतदाताको विश्वास नै मेरो चुनाव जित्ने आधार हुन् ।’ उम्मेदवार श्रेष्ठले भन्नुभयो ‘व्यक्तिको पारिवारिक जीवन र व्यवसायमा सफल भएपछि मात्र जनहित र इमान्दारीको राजनीतिक गर्न सकिन्छ।यही मान्यताले राजनीतिक जीवनलाई डोह¥याइरहेको छु ।’