डेब्यु गरेकी जयरानीको राष्ट्रिय कीर्तिमानको ह्याट्रिक

0
Shares

पोखरा । 

बर्दिया मधुवन नगरपालिका २ सुन्दरपुरकी २१ वर्षीया जयरानी थारूले २०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाइन् । मध्यपश्चिमाञ्चल प्रदेशबाट आफूलाई राष्ट्रिय खेलमा डेब्यु गराएकी जयरानीको त्यो खेल अविस्मरणीय रह्यो ।

इट्टाको धूलो राखेर बनाइएको एथलेटिक्स ट्रयाकमा अन्य खेलाडी नयाँ जुत्ता लगाएर सहभागी हुँदा उनी भने खाली खुट्टा थिइन् । जुत्ता लगाउने बानी नपरेको उनी खाली खुट्टा नै दौडिइन् । व्यक्तिगत स्पर्धामा पदक प्राप्त गर्न नसके पनि उनले चार गुण १ सय मिटर रिलेमा रजत जितिन् । त्यतिबेलासम्म उनको खुट्टामा चोट लागेको थियो । कारण खाली खुट्टा थियो ।

विगतको दुःखले अहिले उनलाई सुख दिएको छ । सुख मात्रै होइन् अब उनी अन्तराष्ट्रिय जगतमै परिचित हुनेछिन् । कारण हो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता । आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गराएकी उनले कुनै पदक प्राप्त गर्न सकिनन् । प्रदेशबाट सहभागिता जनाउँदा आफ्नो क्षमतालाई प्रस्फुटन गर्न नसकेकी उनलाई २०७५ सालमा त्रिभुवन आर्मी क्लबले एउटा अवसर दियो । जुन अवसर उनको र उनका बुबाको सपना थियो । संयोग पनि कस्तो ? बुबालाई छोरी आर्मी भएको हेर्ने चाहना, छोरीलाई खेलाडी बन्ने । उनको खेल कौशलकै कारण बुबा र आफ्नो सपना पूरा गर्न सक्षम रहिन् । आर्मीमा आबद्ध भएको चार वर्षमा टेक्दै गर्दा उनले आर्मीका साथै आफुलाई समेत अब्बल सावित गरिन् ।

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले चार स्वर्ण हासिल गर्दै गर्दा राष्ट्रिय कीर्तिमानीको ह्याट्रिक गरिन् । उनले चार महिना अघि आफैंले बनाएको राष्ट्रिय कीर्तिमानी भंग गर्दै नयाँ कीर्तिमान कायम गरिन् ।
जयरानी एथलेटिक्सतर्फ हर्डल्स विधाकी खेलाडी हुन् । पोखरा उनलाई फलदायी रह्यो । उनले आफ्नो विधामा मात्रै होइन् कहिल्यै पनि चाख नदेखाएको लङ्जम्पमा समेत राष्ट्रिय कीर्तिमान बनाउन सफल रहिन् ।आफूले हडल्समा आफ्नो समय सुधार गरी कीर्तिमानी गर्ने लक्ष्य राखे पनि लङजम्पमा भने स्वर्णको समेत आशा गरेकी थिइनन् । ‘यस्तो हुन्छ र ३ वटामा कीर्तिमानी गर्छु भनेर त आश नै थिएन् ।

तर भाग्य भनम की के भनम् ३ वटामा कीर्तिमानी बन्यो’ मुसुक्क मुस्कुराउँदै फेरी बोल्छिन्, ‘मेरो टार्गेट ४ सय हर्डल्स र एक सय हर्डल्समा कीर्तिमानी गर्छु भन्ने थियो । मैले ती दुई वटामा कीर्तिमानी गर्छु भनेर नै ट्रेनिङ गरेको थिएँ । लङजम्पको चाहिँ कहिल्यै पनि मैलै प्रशिक्षण गरिन । यसमा पनि मेडल त लाग्छ तर फस्ट नै लाग्छ भन्ने त १ प्रतिशत पनि थिएन् ।’ आफूले कहिल्यै नसिकेको खेलमा समेत कीर्तिमानी बनाउँदा उनी फुरुङ्ग छिन् । आफूले कीर्तिमानी बनाउनुको पछाडिको श्रेय क्लबलाई(आर्मी) दिन्छिन् । प्रदेशबाट आफूलाई प्रतिनिधित्व गराएको भए आज यो अवस्थामा आइनपुग्ने भन्दै उनले प्रदेश र विभागमा धेरै फरक पाएको सुनाइन् ।

‘विभागमा र प्रदेशमा धेरै नै फरक पाउछु म । पहिला यसरी अहिलेको जस्तो ) कसैले पनि ट्रेनिङ दिएन । त्यो मात्रै कहाँ हो र ? मेरो घरदेखि गुरुहरुको घर पनि निकै टाढा भएकाले आउजाउमै समस्या थियो ।’बर्दियामा आफूलाई खेलक्षेत्रमा सुमित्रा चौधरी र विश्वराज चौधरीले ल्याएको बताइन् । उहाँहरू (विश्वराज र सुमित्रा) आफूले गरेजति र थाहा पाएजतिको प्रशिक्षण दिनुभयो तर, इक्युपमेन्ट नै नभएर होला सायद कम भएको । अहिले विभागमा जागिर खाएदेखि बाहिरको भन्दा(प्रदेश) अलिबढी नै सुविधा छ । इक्युपमेन्ट, प्रशिक्षक सबै गुणस्तरीय छन्’ उनले भनिन्,‘बाहिर भएको भए यस्तो गर्न सक्थेँ जस्तो लाग्दैन आफैँलाई । किनकि म भित्र आएर (आर्मी) धेरै सजिलो भयो । खेल प्रशिक्षणका लागि कुनै समस्या नै भएन् ।’

विगतमा आफूले निकै दुःख पाएको र आर्थिक अवस्था कमजोर भएकाले कतिपय खेलहरू गुमाउनुपरेको उनको भनाइ छ । विगतलाई सम्झदैँ उनी भन्छिन्, ‘कतिपय राम्रो गेमहरू पनि गुमाए । उतादेखि खेल्दा (प्रदेशबाट) आफ्नो आर्थिक अवस्थाले नभ्याउने । मेरो घरको अवस्था कमजोर छ भनेको समयमा पैसा ल्याउन सक्ने स्थिति नै थिएन् । मेरो मात्रै होइन प्रदेशबाट खेल्ने प्राय खेलाडीहरूको समस्या भनेकै यहि हो ।’ ‘सबै धनी त हुँदैन नी । मलाई पनि केही खेलहरू हुँदा त्यही समस्या परेको थियो । एउटा च्याम्पियनसिप नै भएको थियो । पैसा अभावका कारण म सहभागिता हुन सकिनँ । मेरा साथीहरू पनि यही कारणले आउन पाएनन् ।’

आमा बुबासहित ११ जना परिवारमा उनी मात्रै खेलाडी हुन् । उनका ३ दाई र १ दिदीको विवाह भइसकेको छ । उनीसहित ४ जना घरमै छन् । ‘खेलकै माध्यमबाट आर्मीमा जोडिए । आर्मीमा आबद्ध भएको साउनमा चार वर्षमा टेकँे । मेरो खेलमा पहिलादेखि नै राम्रो थियो । तर, फस्ट मेडल कुनैमा पनि टच भएन ।’ सातौंलाई सम्झदैँ पुनः भन्छिन्, ‘सातौंमा पर्सनल इभेन्टमा कुनैमा पनि मेडल टच भएन् । काठमाडौंमा जुनियर गेम खेल्न आउँदा आर्मी क्ल्बले आर्मीबाट खेल्न पर्छ भन्ने गथ्र्यो । मेरो बाबाको चाहना नै आर्मीमा जागिर खानु थियो । पछि आर्मीले नै खेलको कोटा पठाएर भर्ना गराइदियो’ त्यसैमा थपिन्, ‘त्यतिबेला व्यक्तिगत स्पर्धामा मेडल टच गर्न सकिनँ । किनकि, त्यतिबेला धेरै राम्रो खेलाडी थिए । आठौंमा प्रदेश नं. ५ बाट खेले त्यहाँ पनि खासै राम्रो हुन सकेन ।’

सानैदेखी एथलेटिक्समा……

‘मलाई खेल खेल्न निकै मन पथ्र्यो । हाम्रो स्कुल निमावि भएकै कारणले रनिङ शिल्डहरूमा कतै भाग लिन पाउने थिएन । म ८ मा पढ्दा बल्ल हाम्रो विधालय मावि भएको थियो । एकदिन स्कुलमा दौड रहेछ म घरमै बसेको थिए । दाइ र म एउटै कक्षामा थियौँ । अनि दाईले बेलुका घरमा आएर भन्नुभयो आज त दौड थियो नि स्कुलमा भनेर । म पनि दौडिन्थे नि म त सबलाई जित्दिन्छु भने । अर्को दिन स्कुल जाँदा कोको दौडिन्छौ भन्दा म पनि गए र सबैलाई जितेँ ।’ उनले आफ्नो चाहना ओलम्पिकको रहेको र अब साफ गेमका लागि तयारी गर्ने सुनाइन् ।

चार स्वर्ण ३ कीर्तिमान

४०० मिटर हडल्समा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितिन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । चारमहिना अघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव २ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सय मिटर हडल्स १५.६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि जयरानीले हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनले १५.१६ सेकेन्डमा दूरी पूरा गर्दै हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । महिला लङ जम्पमा ५ दशमलव ५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । गत असारमा निशा चौधरीले ५ दशमलव ४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ मा राखेको ५ दशमलव ४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् । लुम्बिनीकी निशा चौधरीले ५ दशमलव ४९ मिटर जम्प गर्दै रजत जितिन् । बुधबार चार गुणा १ सय मिटर रिलेमा उनले स्वर्ण जितेकी हुन् ।

 

स्न्याचमा विद्याको कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भारोत्तोलनको स्न्याच विधामा नेपाल पुलिस क्लबकी विद्या राईले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १ सय ६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गर्दै कीर्तिमान कायम गरेकी हुन् ।

पुलिसकै जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७४ गरी कुल १ सय ३७ केजी भार बहन गर्दै रजत जितिन् भने आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १ सय २५ केजी भार उठाएकी हुन् । एपीएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कांस्य पदक जिते । शिखाले स्न्याचतर्फ ४० र क्लिन एन्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरिन् ।
यस्तै, गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लिन एन्ड जर्कमा ५० सहित ९० केजी भार उठाइन् । महिला ८७ केजी तौल समूहमा एपीएफकी निशा बलालले स्वर्ण पदक जितिन् । उनले स्न्याचमा ६२ र क्लिन एन्ड जर्कमा ७७ गरी कुल १ सय ३९ केजी भार बहन गर्दै एपीएफलाई भारोत्तोलनतर्फ पहिलो स्वर्ण दिलाएकी हुन् ।

रिलेमा एपीएफ र आर्मीलाई स्वर्ण

एथलेटिक्सतर्फ भएको चार गुणा १०० मिटर (४सय मिटर) रिले दौडको पुरुष तर्फ एपिएफ र महिलातर्फ आर्मीले स्वर्णपदक हात पारे । महिला तर्फको रिले दौडमा आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९.६० सेकेण्डमा दूरी परा गरे । गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजिता दुलाल, स्वगता ख्वजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दूरी पूरा गर्दै कास्य पदक जितेका छन् ।

पुरुषतर्फ एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२.४४ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक जितेका हुन् । त्यसैगरी, आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेन्डमा दूरी पुरा गर्दै रजत पदक जितेको छ । लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारू र तुल्सीराम थारुले ४४.३८ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जितेका छन् ।

आर्चरीमा ७ स्वर्णसहित गण्डकी च्याम्पीयन

आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । कुल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो । दोस्रो भएको आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टिम एपीएफ तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित ८ पदक जित्यो । पुलिस १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचांै, सुदूर पश्चिमले १ रजत र २ कांस्यसहित ३ पदक तथा वागमती प्रदेशले १ कांस्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपि, सबै टिमले सबै विधामा सहभागिता भने जनाएको थिएन ।

रग्बीमा एपीएफ र आर्मीलाई स्वर्ण

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा भएको खेलमा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ गोलले हराउँदै स्वर्ण पदक जितेको हो । महिलातर्फ आर्मीले मधेस प्रदेशलाई १०–० को फराकिलो गोल अन्तरले हराउँदै स्वर्ण पदक जित्यो । पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ सुदुरपश्चिमले कास्य पदक जिते ।

महिला हक्कीमा आर्मीलाई स्वर्ण

महिला हक्कीमा विभागीय टोली आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । यस्तै, महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले कास्य पदक जितेको छ । सुदुरपश्चिमले प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराएको हो । सुदूरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् ।

ट्राइयाथलनमा आर्मी र एपीएफलाई स्वर्ण

ट्राइयाथलनमा आर्मी र एपीएफले समान १÷१ स्वर्ण जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ आर्मीका वसन्त थारू र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण जितेका हुन् । वसन्तले निर्धारित २० कि.मि. साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ कि.मि. दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए । सोनीले निर्धारित दूरी १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गरेकी थिइन् ।
पुरुषतर्फ निर्धारित दुरी १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले निर्धारित दूरी १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै काश्य पदकमा चित्त बुझाए ।
त्यस्तै, पुलिसकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् भने आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गरेकी थिइन् ।

टेनिसमा गण्डकीलाई स्वर्ण

टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण गण्डकी प्रदेशले जितेको छ । गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले आर्मीका प्रनभ खनाल र अर्की जुवेन रावतको जोडीलाई २–१ को सेटमा हराउँदै स्वर्ण जितेको हो । गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले नतिजा आफ्नो पक्षमा ल्यायो । यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ ।

साइक्लिङमा आर्मीलाई चार स्वर्ण

साइक्लिङ तर्फ आर्मीले ४ स्वर्ण ४ रजत र ३ कांस्य जितेको छ । एपिएफले २ स्वर्ण, ३ रजत र ४ कांस्य, बागमतीले १ स्वर्ण १ रजत तथा गण्डकीले १ स्वर्ण १ कास्य जितेको छ । आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको हो । त्यस्तै, एपीएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरी २ स्वर्ण पदक जितेको हो । त्यस्तै, बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन् ।

गण्डकीलाई स्वर्ण

पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ०१५ मिलिसेकेन्डमा पूरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् ।

१ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४ सय १४ मिलिसेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानामगरले रजत पदक जितेकका जित्दा १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८ सय ६१ मिलिसेकेण्डमा दूरी पूरा गर्दै आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् ।
महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेन्डमा पूरा गर्दै आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् । एपिएफकी हुमी बुढामगरले उक्त दुरी १ घण्टा २५ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन् १ घण्टा २९ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गर्दै आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितेकी छन् ।

महिला भलिबलमा एपिएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद महिला भलिबलमा एपीएफले स्वर्ण पदक जितेको छ । बेनीको खुल्ला मञ्च स्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै स्वर्ण जितेको हो । एपिएफले २५–१९, ३०–२८, २४–२६ र २५–१९ को सेटमा हराएको हो । पुलिसले रजत पदकमा चित्त बुझायो । यसैगरी घरेलु टिम गण्डकीलाई ३–१ को सेटमा हराउँदै बागमति प्रदेशले कांस्य पदक जितेको छ । बागमतीले २०–२५, २५–१२, २५–२१ र २५–१७ को सेटमा हराएको हो ।

पुरुष फुटबलमा गण्डकीलाई कास्य

पुरुष फुटबलमा गण्डकी प्रदेशले कांस्य जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कांस्य जितेको हो । गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा आर्मीले वाग्मती प्रदेशलाइ ४५–३० को अन्तरमा पराजित गरेको थियो । यो सँगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ । आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन ।